विद्युतीय सवारीसाधन बढेपनि चार्जिङ स्टेसन बढेन

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १४:१५
  • सज्जन उत्सुक सापकोटा

विदुर, नुवाकोटमा पछिल्लो समय वातावरणमैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढे पनि विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन भने बढ्न सकेको छैन । पर्याप्त चार्जिङ स्टेसन नहुँदा सवारीचालकले विद्युत् रिचार्ज गर्न घण्टौँ कुर्नुपर्ने अवस्था रहेको छ ।

काठमाडौं–त्रिशूली विद्युतीय माइक्रो बस गत कात्तिकदेखि सञ्चालन हुन थालेपछि चार्जिङ स्टेसनको माग बढेको हो । छहरे–टोखा हुँदै काठमाडौं–त्रिशूली चालकसहित ११ सिट क्षमताको विद्युतीय माइक्रो भ्यान (माइक्रो बस) सञ्चालन हुन थालेपछि काठमाडौं–त्रिशूलीको समय र दूरी छोटिएको छ । पासाङल्हामु राजमार्गको बालाजु–ककनी–पिपलटार सडकखण्ड निर्माण गर्ने भनेर विगत चार वर्षअघि भत्काएर छाडेपछि त्यहाँ सार्वजनिक सवारीसाधन गुड्न छाडेका छन् । नुवाकोटको त्रिशूलीबाट गल्छी हुँदै काठमाडौं–बालाजु पुग्ने तीन घण्टाभन्दा बढी लाग्ने गरेकाले पछिल्लो समय छहरे–टोखा सडक साना सवारीसाधनका चालकको रोजाइमा परेको छ । टिमुरे यातायात प्रालिले छहरे–टोखा सडक हुँदै बालाजुसम्म विद्युतीय माइक्रो भ्यान गत दसैँदेखि सञ्चालनमा ल्याएको छ । टिमुरेले बिजुली माइक्रो भ्यान सञ्चालनमा ल्याएपछि पासाङल्हामु र नेपाल माइक्रोले संयुक्त रूपमा बिजुली माइक्रो भ्यान सञ्चालन गर्न थालेको छ । अहिले दुवै समितिको २५ वटाजति माइक्रो भ्यान काठमाडौं–त्रिशूली रुटमा छहरे–टोखा भएर सञ्चालनमा रहेका छन् । प्राइभेट विद्युतीय कार नुवाकोटमा १० वटाजति रहेको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । टिमुरेले त्रिशूली बसपार्कमा विद्युतीय भ्यान चार्ज गर्ने दुईवटा चार्जिङ प्वाइन्ट क्षमताको विद्युतीय चार्जिङ स्टेसन तिहारपछि सञ्चालन गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले विदुर नगरपालिकासँग समन्वय गरेर बट्टार बसपार्कमा विद्युतीय कार चार्ज गर्ने स्टेसन र हावाघरमा विद्युतीय भ्यान चार्ज गर्ने दुई प्वाइन्ट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । यी तीनवटा स्टेसनमा सवारीसाधनको लाम बेलुका लामै देखिन्छ । तीनवटा मात्र चार्जिङ स्टेसन रहेको नुवाकोटमा गुड्ने भ्यान र कारले रिचार्ज गर्न घण्टौँसम्म कुर्नुपर्ने अवस्था रहेको माइक्रो भ्यान व्यवसायी ओमराज श्रेष्ठले बताए । नुवाकोटमा मात्र गुड्ने सवारीसाधनलाई चार्जिङ गर्न सक्ने क्षमता भए पनि चीनबाट आयातित रसुवागढी नाका हुँदै काठमाडौं लैजाने साना–ठूला विद्युतीय सवारीसाधनसमेत नुवाकोटमै चार्ज नगरी काठमाडौं जान पुग्ने ब्याट्रीको क्षमता नहुँदा चार्जिङ स्टेसनमा घण्टौँ लाम लाग्नुपर्ने अवस्था आएको हो । विद्युतीय सवारीसाधनको सङ्ख्या बढिरहेको छ, तर सम्बन्धित निकायले चार्जिङ स्टेसनमा चासो नदिँदा घण्टौँ पर्खेर चार्जिङ गर्नुपर्ने बाध्यतामा सवारीसाधनका चालक रहेका छन् । निजी क्षेत्रबाट चार्जिङ स्टेसन राख्न २० देखि २५ लाख खर्च जग्गाबाहेक लाग्ने, तर नाफा अत्यन्त कम हुने भएकाले निजी क्षेत्रका व्यवसायीले चार्जिङ स्टेसन राख्न चासो दिएका छैनन् । पासाङल्हामु यातायात प्रालिले बट्टार बसपार्कमा चार्जिङ स्टेसन निर्माण गरिरहेको जानकारी आएको छ । यो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि केही सहज हुने विद्युतीय भ्यानचालक वेगबहादुर घलेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको चार्जिङ स्टेसनमा परप्रतिशत चार रुपैयाँ ५० पैसा रहेको छ । निजी क्षेत्रले सञ्चालनमा ल्याएको स्टेसनमा चार्ज गर्दै परप्रतिशत सात रुपैयाँ लिने गरेका छन् । नुवाकोटमा भने टिमुरे यातायातले सञ्चालन गरेको चार्जिङ स्टेसनले परप्रतिशत ६ रुपैयाँ लिइरहेको छ । देशभरि चौधरी ग्रुप र विशाल ग्रुपले सञ्चालन गरेको चार्जिङ स्टेसनले परप्रतिशत सात रुपैयाँ लिने गरेको व्यवसायी बताउँछन् ।