विवाहलाई वैभव प्रदर्शनको माध्यम नबनाऊँ

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १४:२५

माघ लागेसँगै विवाहको लगन सुरु भएको छ । विवाहको लगन सुरु भएसँगै सबै व्यस्त देखिन्छन् । पछिल्लो समय विवाह हुनेखानेका लागि वैभव प्रदर्शनको माध्यम बनेको छ भने नहुनेका लागि ऋण बोकाउने र हरिकङ्गाल बनाउने माध्यम भएको छ । विवाहजस्तो पवित्र संस्कार आजभोलि भड्किलो र उत्ताउलो बनिरहेको छ ।

विवाह सामाजिक मर्यादा कायम गर्दै सृष्टि संरचनाको निरन्तरता दिने वैधानिक पद्धति हो । मानव समाजलाई अनुशासनहीन हुनबाट बचाउनकै लागि विवाह पद्धति आरम्भ गरिएको मानिन्छ । सृष्टि संरचनाको अनुशासित र व्यवस्थित निरन्तरताका लागि मैथुन–सृष्टिको आरम्भ आवश्यक ठानेर विवाह पद्धतिको सुरुवात गरिएको मानिन्छ । पुराणमा प्रथम मनु दक्ष प्रजापति र विरणीबीच भएको विवाह नै मैथुनमार्फत सन्तान जन्माउन गरिएको पहिलो विवाह शास्त्रले मानेको छ । यस अर्थमा विवाह प्राकृतिक संरचना र सृष्टिको निरन्तरताको अपरिहार्य पाटो हो । यसलाई पूर्वीय दर्शनले महिला र पुरुषबीचको आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ । यसविपरीत आजभोलि विवाहको अर्थ, परिभाषा र यसको विधि भने शास्त्रअनुरूप नभएर वैभव प्रदर्शनको होडबाजी गर्ने कुप्रथाका रूपमा स्थापित हुन पुगेको छ । आधुनिक समाजले विवाह यौनसुखको अनुमतिपत्र वा जीवन बिताउने सम्झौता मात्र मान्न थालेको छ । विवाह सृष्टिको निरन्तरताका लागि गरिने एउटा पवित्र कर्म नभएर सुखभोग, धन–सम्पत्तिको प्रदर्शनजस्ता विकृतिमा सीमित हुन पुगेको छ । आजभोलि विधिपूर्वक विवाह संस्कार गर्ने व्यक्तिको सङ्ख्यामा ह्रास हुँदै गएको छ । हुँदै नभएको संस्कार भित्र्याउन थालिएको छ । अरूको देखासिकीमा धनराशि खर्च गरेर पवित्र विवाह समारोहलाई निर्धक्क मांस–मदिरा सेवन गर्ने अवसरका रूपमा लिन थालिएको छ । विवाहको साइतअघि नै कतै ‘मेहेन्दी’को नाममा भोज–भतेर त कतै ‘हल्दी’को नाममा भोज–भतेर गरेर शास्त्रीय अभ्यासलाई विकृत बनाउँदै आयातित संस्कृतिमा रमाउने प्रचलन नेपाली समाजमा बढ्दो छ । नेपाली समाजमा विवाह पद्धतिमा विशेषतः मूल विवाहको अघि नै पूर्वाङ्ग विधिका रूपमा दीप, कलश र गणेशको पूजा गरौँ मातृकाको पूजा र आभ्युदयिक (नान्दी) श्राद्ध गर्नुपर्छ । यो विवाह अर्थात् कन्यादानअघि घरमा गर्नुपर्ने विधि हो । यो विधि दुलही र दुलाहा दुवैको घरमा गरिन्छ । प्रायजसो वैदिक सनातन धर्म मान्ने र शास्त्रीय कर्मकाण्ड अपनाउनेले विवाहको यो पद्धतिलाई पालना गरेका हुन्छन् तापनि आयातित प्रचलनका रूपमा हल्दी र मेहेन्दीलाई पनि सँगसँगै लिएर गएका छन् । यसले एकातिर मौलिक संस्कृति छायामा पर्दै छ भने अर्कातिर आर्थिक बोझ बढ्दै छ । संस्कारको नाममा अपसंस्कृति भित्रिएको छ । यो प्रवृत्तिले नेपालीको पहिचान र संस्कृति लोप हुँदै छ ।

विवाह एउटा सामाजिक बन्धन हो, समाज सञ्चालनको सूत्र हो । यसलाई शास्त्रले सोहीअनुसार व्यवस्थित गरेर यसका विधि लिपिबद्ध गरिदिएको छ । विवाहलाई सम्झौता मान्ने वा विवाह यौनसुखका लागि मात्र हो भन्नेहरूले विवाह नगरी पनि सन्तान जन्माउन पाउनुपर्छ भन्ने अधिकार खोज्न थालेका छन् । तर, यो विधानविपरीतको तर्क हो । त्यस्तै, विवाहमा गरिने कन्यादान सबैभन्दा महत्वपूर्ण छ । तर, त्यो अबुझको कुतर्क मात्र हो । विवाहमा जसरी कन्यादान गरिन्छ, त्यसैगरी कुमारदान पनि हुन्छ । जहाँ कन्या र कुमार अर्थात् दुलाहा÷दुलही दुवैले एक–अर्काको साथ–समर्थन दिने शपथ खान्छन् । श्रद्धा र विश्वास राखेर पति र पत्नीले धर्मको पालना गर्ने कसम विवाहमण्डपमा ब्राह्मणसहित इष्टमित्रको साथ खान्छन् । विवाहको यो पद्धतिको अर्थ, महत्व र यसको सार वैदिक सभ्यतासम्म जोडिएको छ । नारी र पुरुष दुवैको समान दायित्व छ, दुवैले सृष्टि संरचनाको निरन्तरताका लागि बराबर योगदान दिनुपर्छ, परिवार र समाजलाई व्यवस्थित बनाउन एकले अर्काको साथ दिनुपर्छ र अनुशासन, मर्यादित भएर जीवनरूपी रथ हाँक्नुपर्छ भन्ने अर्थबोध हुन्छ । पवित्र विवाहमा आजभोलि धन–सम्पत्तिको प्रदर्शनी, औकात र हैसियतसँग दाँजिन थालेको छ । यसले समाजलाई विकृत बनाइरहेको छ । यसलाई राज्यले मर्यादित रूपमा नियन्त्रण गर्न आवश्यक छ ।