+
Search

ताजा अपडेट +

पपुलर +

दयनीय अवस्थामा काङ्ग्रेस

दयनीय अवस्थामा काङ्ग्रेस
त्रिशूली प्रवाह
२ साल अगाडी

नेपालको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले आफ्नो ७८औँ स्थापना दिवस गत महिना औपचारिकतामै मनायो । एक सय चार वर्ष एकतन्त्रीय राणाशासन फाल्न गठित पहिलो राजनीतिक दल काङ्ग्रेसले महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमिति बैठक अर्को हप्ता गर्दै छ । मुलुकमा प्रजातन्त्र स्थापना र एकतन्त्रीय राणाशासनबाट उन्मुक्तिका लागि गठित नेपाली काङ्ग्रेसले मुलुकका सबै परिवर्तनकारी आन्दोलनको नेतृत्व गरे पनि विधि र पद्धतिमा पार्टी सञ्चालन गर्न सकेको छैन । २००७, २०४६, २०६२÷२०६३ को आन्दोलनको नेतृत्व गरेको काङ्ग्रेस आज गठबन्धनमा चुनाव लड्नुपर्ने र नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेको छ । यही फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकमा महासमितिका सदस्यले पार्टीको आगामी नीति, कार्यक्रम र यो अवस्था कसरी आइपुग्यो भन्नेबारेमा घनीभूत छलफल गरेर काङ्ग्रेसको गम्भीर रूपले विश्लेषण गर्नुपर्ने अवस्था छ । वर्तमान नेतृत्वको कारण नेपालको राजनीतिको मियो नेपाली काङ्ग्रेस अहिले संसद्मा ठूलो दल भएर पनि नेतृत्व गर्नबाट चुकेको छ । वर्तमान नेतृत्वले दललाई आत्मसात् गर्न नसक्दा काङ्ग्रेसजनमा अहिले निराशा पैदा भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

राणातन्त्रको अन्त्य, प्रजातन्त्रको स्थापना, प्रजातन्त्रको पुनस्र्थापना, लोकतन्त्र बहाली, गणतन्त्रको स्थापना तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको काङ्ग्रेस अहिले अरूको दया, मायामा चल्नुपर्ने अवस्थामा छ । नेताहरूको प्राथमिकता केमा छ ? यी कुरा त छर्लङ्गै छँदै छ, योसँगै यसबीचमा व्यक्तिगत लाभकै कारण पार्टीले कति क्षति भोग्नुपर्यो, त्यसको त लेखाजोखा नै छैन । त्यसो त काङ्ग्रेसमा व्यक्तिगत टकराव नयाँ होइन, तत्कालीन नेपाली राष्ट्रिय काङ्ग्रेस र प्रजातन्त्र काङ्ग्रेस स्थापना हुँदा नै काङ्ग्रेसमा व्यक्तिगत टकराव नभएको भने होइन । तत्कालीन नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनाका क्रममा टंकप्रसाद आचार्य र स्वयम् बिपी कोइरालाको व्यक्तित्वबीच टकराव भएपछि २००३ सालमा नै आचार्यलाई सभापति र कोइरालालाई कार्यवाहक सभापति बनाउने निर्णय भएको थियो । २००६ सालमा राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर नेपाली काङ्ग्रेस बन्दा सभापतिमा मातृकाप्रसाद कोइराला, महेन्द्रविक्रम शाह महामन्त्री र विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, महावीरशमशेर, रुद्रप्रसाद गिरी, कुँवर कल्लु सिंह र राजेश्वरीप्रसाद उपाध्याय सदस्य भए । तर, त्यसपछि बिपी र मातृकाबीच टकराव देखियो । यो विवाद हटाउन ०१२ सालमा भएको महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापति चुनिए । तर, त्यसपछि फेरि सुवर्ण र बिपीबीच विवाद बढेपछि ०१४ साल जेठमा काङ्ग्रेसको विशेष महाधिवेशन हुँदा बिपी कोइराला सभापति छानिए । नेताहरूबीच टकराव रहे पनि राष्ट्रिय राजनीतिमा भने उनीहरूबीच मतभेद थिएन । लक्ष्यमा पार्टी अगाडि बढी नै रहेको थियो । त्यसैले त बिपीले पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । त्यसपछि बिपीले लामो समय पार्टीको नेतृत्व लिए । बिपीपछि सभापति बनेका कृष्णप्रसाद भट्टराईको सभापतिका रूपमा दुई कार्यकाल पनि टकरावमै बित्यो । कहिले कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीचमा त कहिले गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहका बीचमा विवाद बल्झिरह्यो । यो विवादले पार्टी सङ्गठनलाई खासै असर परेको थिएन, नेताहरू पार्टीको नीति र सिद्धान्तमा प्रतिबद्ध थिए । पार्टी आफ्नो लक्ष्यमा अडिग थियो, उपलब्धि हासिल भइरहेको थियो । तर, २०५६ सालको आमनिर्वाचनपछि काङ्ग्रेसमा व्यक्तिवादी निहित स्वार्थ हाबी भयो, त्यसको असर अहिलेसम्म काङ्ग्रेस पार्टीमा परिरहेको छ । गिरिजाप्रसाद कोइरालासँगको टकरावका कारण शेरबहादुरले त पार्टी नै विभाजन गरेर नेपाली काङ्ग्रेस प्रजातान्त्रिक गठन गरे । त्यसबीचमा चुनाव नभएकाले संसदीय गणितमा खासै फरक त परेन, तर कार्यकर्ता दुई खेमामा विभाजित हुन पुगे ।

Suzuki New Bike & Scooter

काङ्ग्रेसमा पछिल्ला दुई कार्यकाल देउवाले पार्टीको नेतृत्व गरिरहेका छन् । उनले काङ्ग्रेसको नेतृत्व गरिरहँदा सबैभन्दा बढी गुटबन्दी मौलाएको छ । देउवाले आफ्नो गुटबाहेकलाई अवसर दिनै नचाहेको इतर पक्षको गुनासो छ । त्यसकारण अहिले काङ्ग्रेसमा गुटगत किचलो पेचिलो बन्दै गएको छ । विचार, कार्यक्रम र सिद्धान्तका आधारमा नभई व्यक्तिगत आग्रह, पूर्वाग्रह र स्वार्थलाई केन्द्रमा राखेर गुट बन्ने र भत्कने क्रमले देउवा र इतर पक्षका दुई मुख्य गुट मात्र होइन, एक दर्जनजति उपगुट सक्रिय छन् । गुट र उपगुटले पार्टीका निकायमा मात्र होइन, सरकार र संसद्मा पनि भाग खोज्ने गरेका छन् । काङ्ग्रेसको सीमित गुटगत किचलो अहिले झाँगिँदै वडा तहसम्म पुगेको छ । नेतृत्व समयमै सच्चिन तयार भएन भने काङ्ग्रेसलाई बढार्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह