रसुवा बन्दरगाहको निर्माण साठी प्रतिशत

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार ११:४५
  • सरस्वती न्यौपाने

टिमुरे, चीन सरकारको सहयोगमा रसुवागढी भन्सारसँगै निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६० प्रतिशत पूरा भएको छ । निर्धारित समयमै निर्माण सम्पन्न हुनेगरी उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको ब्यवस्थापनमा बन्दरगाह निर्माणको काम अहिले तिव्रता पाएको छ ।

शुरुदेखि नै विवाद र अवरोध पार गर्दै निर्माणाधीन सुक्खा बन्दरगाह रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भईरहेको हो । यो बन्दरगाह निर्माणले अहिले भने गति लिएको छ । २ अर्ब १६ करोड ६० लाख रूपैयाँमा नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माणको काम थालनी गरेको हो । सन् २०२५ सम्ममा निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले यस अगावै निर्माण सम्पन्न गर्ने गरी काम भई हाल ६० प्रतिशत काम सकिएको समितिका प्रतिनिधी आशिष गजुरेलले जानकारी दिए । हाल भोटेकोशी किनारामा लगाइएको प्रोटेक्सन वालको काम सकिएको र वालमा माटो भर्ने, बाटो निर्माण गर्ने तथा भवन निर्माण गर्ने कार्य तिव्रगतिमा भईरहेको छ । बन्दरगाहभित्र ३ सय १३ साना र २३ वटा ठूला कन्टेनर रहनेछन् भने त्यसभित्र इमिग्रेसन र पार्किङको ब्यवस्था रहने छ । त्यस्तै, कार्गो गोदाम दुईवटा भवन निर्माण गर्ने योजना रहेको समितिका प्रतिनिधी गजुरेल बताउँछन् । नेपाल र चीनबिच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सुक्खा बन्दरगाह सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दूरीमा र राजधानी काठमाडौंबाट १ सय ५० किलोमिटर दूरीमा छ ।

दुई देश (चिन–नेपाल) को आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको बिसाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने ब्यवसायीको भनाई छ । अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको ब्यवसायी बताउँछन् । रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने ब्यवसायीको भनाई छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने ब्यवसायीको अनुमान छ । चीनमा नेपालको ब्यापार १३ प्रतिशत रहेको छ । रसुवागढीसँगै तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ । चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको ब्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ । चिनियाँ पक्षले रसुवामा अनुदानमै ठुला संरचना निर्माण केन्द्रित गरेको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबिच समझदारी भएको आठ वर्षपछि चिनियाँ पक्षले गत वर्षदेखि निर्माणलाई बल्ल तीव्रता दिएको छ । सुक्खा बन्दरगाह २ हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइनअनुसार पाँचसय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७ सय ५० वर्गमिटरमा गोदाम बन्ने छ । उक्त बन्दरगाहमा ३ सय ५० वटा कन्टेनर अट्ने छन् । जाँचपास बिन्दु दुईवटा हुनेछन् । यसैबिच रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारी साधन आयात हुने गरेका छन् ।