सत्तासमीकरण फेरिए पनि नुवाकोटलाई मन्त्री टुटेन

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार ११:५१

विदुर, काठमाडौंसँग जोडिएको नुवाकोट जिल्लाका अधिकांश सांसद पटक–पटक गठन–पुनर्गठन हुने मन्त्रिपरिषद्मा पर्ने गरेका छन् । प्रायजसो मन्त्रिमण्डल गठन, पुनर्गठन हुँदा नुवाकोटबाट मन्त्री टुटेको छैन । सोमबार नयाँ समीकरण बनेर पुनर्गठित मन्त्रिपरिषद्मा समेत नुवाकोटका हितबहादुर तामाङले नेकपा माओवादी केन्द्रको कोटाबाट बिनाविभागीय मन्त्रीको शपथग्रहण गरेका छन् ।

राजाले गठन पुनर्गठन गर्ने बेला होस् कि पञ्चायती व्यवस्थाका शासकले गर्ने बेला होस् अधिकांश मन्त्रिपरिषद् पुनर्गठनमा नुवाकोटको भागमा एक–दुई मन्त्री पर्ने गरेको छ । ०४६ पछि बनेका अधिकांश सरकारमा नुवाकोटले मन्त्रीको भाग पाइरहेको छ । सरकारमा धेरैपटक धेरै समय अर्थमन्त्री पाउने जिल्लामध्ये नुवाकोट अग्रपङ्क्तिमा रहेको छ । पञ्चायत शासन व्यवस्थामा रहेका बेला डा. प्रकाशचन्द्र लोहनी, जितसिंह खड्का, अर्जुननरसिंह केसी र ०४६ को राजनीतिक व्यवस्था परिवर्तनपछि डा. प्रकाशचन्द्र लोहनी, अर्जुननरसिंह केसी, महेन्द्रबहादुर पाण्डे, डा. रामशरण महत, पोष्टबहादुर बोगटी, हितबहादुर तामाङ, डा. प्रकाशशरण महत, राधिका तामाङले पटक–पटक मन्त्रीका विभिन्न तहका जिम्मेवारी सम्हाल्ने मौका पाइसकेका छन् । ०७२ सालको जारी संविधानपछिको सङ्घीय व्यवस्थाको प्रदेश संरचना बनेपछि पनि नुवाकोटबाट बागमती सरकारमा केशव पाण्डे, बद्री मैनाली, कल्पना नेपाली, बहादुरसिंह लामा, मन्त्री भइसकेका छन् ।

सोमबारको मन्त्रिमण्डल पुनर्गठनमा नुवाकोटबाट प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित हितबहादुर तामाङ मन्त्री भएका छन् । वि.सं. २०२० जेठ १५ गते जन्मिएका तामाङ नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा. रामशरण महतलाई पहिलो संविधानसभा निर्वाचनमा करिब नौ हजार मतको फरकले हराएर निर्वाचित भएका थिए । उनी वि.सं. २०६२÷०६३ को जनआन्दोलनपछि व्यवस्थापकीयका संसद्मा विधायकमा मनोनीत भएका थिए । संविधानसभाको दोस्रो चुनावमा भने नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा. महतसँग पराजित भए । उनले संविधान जारीपछिको पहिलो सङ्घीय निर्वाचन ०७४ मा पनि नेपाली काङ्ग्रेसका नेता डा. महतलाई पराजित गर्न नेकपा एमालेसँग गठबन्धन गरेर विजय भएका थिए । नुवाकोटको क्षेत्र नं. १ को पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा जन्मिएका तामाङले सङ्घीय निर्वाचन २०८० मा पनि नेपाली काङ्ग्रेससँग गठबन्धन गरेर नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनालीलाई पराजित गरेर तेस्रोपटक निर्वाचित भएका हुन् । पञ्चकन्या गाउँपालिका–४ का सामान्य किसान परिवारमा जन्मिएका सांसद तामाङ आफ्नो राजनीतिक जीवन नेकपा (एकता केन्द्र)बाट सुरु गरी पछि नेकपा (माओवादी) मा संलग्न भई भूमिगत भएका थिए र सचिवालय सदस्यसम्म पुगेका थिए । सामान्य विद्यालय शिक्षा लिएका तामाङले यसअघि नेकपा (एमाले) का नेता झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सफलतापूर्वक बहन गरिसकेका छन् ।