काङ्ग्रेस-माओवादी गठबन्धन भत्कियो प्रचण्ड-ओली आलो-पालो प्रधानमन्त्री

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार ११:५४

सत्तासाझेदार राजनीतिक दलको समीकरण सोमबार परिवर्तन भएको छ । समीकरण भएपछि पुरानै गठबन्धनमा काङ्ग्रेसलगायत दल बाहिरका छन् भने एमाले, रास्वपा र जसपा जोडिएका छन् । गत २०७९ पुस १० गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको सहमतिबाट बनेको गठबन्धन सरकार दुई महिनामै टुटेर माओवादी केन्द्र र नेपाली काङ्ग्रेस समीकरणबाट बनेको सरकार ११ महिनापछि सोमबार भत्किएको छ ।

माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच समझदारी भएपछि सोमबार पुरानो गठबन्धन भत्किएको हो । नयाँ दलसहित पुरानै गठबन्धनले निरन्तरता पाएको छ । सरकारको बाँकी समय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छ । ०७९ फागुन १५ गते सरकारबाट बाहिरिएको एमाले र ०७९ माघ २२ गते सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि सत्तारोहण गर्ने अवसर पाएका हुन् । नयाँ सत्तागठबन्धनको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने गरी सहमति भएपछि सोमबार नै माओवादी केन्द्रका नेता नुवाकोटको सङ्घीय प्रतिनिधिसभाको क्षेत्र नं. १ बाट निर्वाचित हितबहादुर तामाङ, एमालेका नेता पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्याल मन्त्री नियुक्त भएका छन् । उनीहरूको जिम्मेवारी तोकिएको छैन । बिनाविभागीय मन्त्रीको हैसियतमा सोमबार तीनजनाले शपथ लिएका थिए । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनपछि मन्त्रालय गठबन्धन दलबीच भाग लगाउने गरी प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालय आफैँसँग राखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ०७९ पुस १० गते एमालेको डिजाइनमा राप्रपा, रास्वपालगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । ०७९ पुस २६ गते संसद्बाट काङ्ग्रेससहित सत्तागठबन्धनमा रहेका दलले मत दिँदा दुई सय ७५ मध्ये दुई सय ६८ मत प्राप्त गरेका प्रचण्डको राष्ट्रपतिको निर्वाचनमा एमालेसँग अविश्वास बढेपछि काङ्ग्रेस–माओवादी गठबन्धन यात्रा सुरु भएको थियो । उक्त यात्रा सोमबारदेखि टुटेको छ । ०७९ मङ्सिरमा सम्पन्न सङ्घ र प्रदेशको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका ४४औँ प्रधानमन्त्री बनेका प्रचण्डले ०७९ पुस १० गतेदेखि १३औँ पटक मन्त्रिपरिषद् हेरफेर र पुनर्गठन गरेर नेपालको मन्त्रिपरिषद् पुनर्गठनमा रेकर्ड नै कायम गर्न सफल भएका छन् । नयाँ बनेको सत्तागठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड थप दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् । त्यसपछिको बाँकी दुई वर्ष एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्ने प्रारम्भिक सहमति भएको चर्चा चलेको छ ।

यद्यपि, यो विषय सोमबार साँझ चार दलबीच भएको लिखित सहमतिमा भने समेटिएको छैन । यसलाई दलहरूले ‘भद्र सहमति’ भनेका छन् । तर, नयाँ गठबन्धनले नेकपा एसलाई भने घाटा भएको देखिन्छ । प्रचण्ड र ओलीबीच नयाँ सहमति भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने च्याप्टर भने अब बन्द भएको छ । नेकपा एस सरकारमा जाने भए पनि अघिल्लो गठबन्धनमा माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे भएको सहमति भङ्ग भएको हो । ०७९ को चुनावी तालमेल हुँदा नै पुरानो गठबन्धनबीच क्रमशः प्रचण्डले दुई, माधवकुमार नेपालले एक वर्ष र शेरबहादुर देउवाले दुई वर्ष सरकार चलाउने सहमति भएको थियो । पुस १० मा माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओली र प्रचण्डबीच अढाई–अढाई वर्ष प्रधानमन्त्री हुने सहमति थियो । तर, गठबन्धन गरेको दुई महिनामै राष्ट्रपति बनाउने विषयमा एकमत नहुँदा प्रचण्ड गठबन्धन फेरेर काङ्ग्रेसको साथ लिन पुगेका थिए । त्यसपछि एमालेले सरकार छोडेको थियो ।