राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १५:३४

काठमाडौं, राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल मंगलबार निर्वाचित भएका छन् । पछिल्लो सत्तागठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका दाहाल राष्ट्रिय सभा बैठकमा भएको मत विभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खस्यो । मत विभाजन प्रक्रियामा ५६ सदस्य उपस्थित थिए । राष्ट्रिय सभाको नयाँ अध्यक्षमा निर्वाचित दाहाल माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत भएका उनको कार्यकाल चार वर्ष बाँकी रहेकाले उनले आगामी चार वर्ष राष्ट्रिय सभाको नेतृत्व गर्नेछन् । माओवादी स्थायी समिति सदस्यसमेत रहेका दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएसँगै माओवादीबाटै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिँदै छिन् । नयाँ सत्तागठबन्धनमा भएको सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउनेछ ।
राष्ट्रिय सभा अध्यक्षका नवनिर्वाचित अध्यक्ष दाहाल प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डका (नाता पर्ने) भाइ हुन् । उनी अहिले माओवादी केन्द्रको स्थायी समिति सदस्य छन् । प्रचण्डका भाइ भएकैले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार बनाइएको भन्दै पार्टीमा उनको आलोचना पनि भएको छ भने पार्टीका कतिपय पदाधिकारी नै असन्तुष्ट छन् । दाहालको लामो राजनीतिक इतिहास छ । उनले वि.सं.२०२७ देखि विद्यार्थी राजनीतिक आन्दोलनमा सक्रिय रहेका भएर राजनीति सुरु गरेका थिए । ०३१ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दाहाल १० वर्षे जनयुद्धको क्रममा सक्रिय रूपमा भूमिका पूरा गर्दै जनआन्दोलनपछि ब्यवस्थापिका सांसद, २०६४ मा संविधानसभा सदस्य बनिसकेका छन् । अहिले राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्यका रूपमा भूमिका निर्वाह गर्दै आएका उनी मंगलबार अध्यक्ष चुनिएका हुन् । दाहाललाई इमानदार, कर्मशील र शालीन व्यक्तित्वका रूपमा पार्टीका नेताहरूले चिन्छन् । उनको संसदीय यात्रा ०६३ अन्तरिम व्यवस्थापिका संसद् सदस्य, ०६४/६९ संविधानसभा सदस्य चितवन क्षेत्र नं. ३ बाट निर्वाचित, ०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य (राष्ट्रपतिबाट मनोनीत) र ०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रचण्डले १४ महिनामा तेस्रोपटक विश्वासको मत प्राप्त गरे

काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाभित्रै तेस्रोपटक बुधबार विश्वासको मत लिएका छन् । यसका लागि फागुन ३० गते बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ । कङ्ग्रेसले २२ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एक वर्षअघि काङ्ग्रेससहितको गठबन्धन भत्काउँदै गत वर्षकै पुस १० को गठबन्धन ब्युँताएर २१ फागुनमा नयाँ मन्त्रिपरिषद् बनाएका दाहालले हिजो विश्वासको मत लिएका हुन् । १४ महिनायता तेस्रोपटक उनले विश्वासको मत लिएका छन् । यसअघि गत वर्षको पुस २६ मा पहिलोपटक र चैत ६ मा दोस्रोपटक विश्वासको मत लिएका थिए । प्रचण्डको पक्षमा नेकपा (एमाले) का ७६, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा) का १२ र नेकपा (एकीकृत समाजवादी) का १० गरी एक सय ५१ सांसद हुने देखिएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न एक सय ३८ जना सांसदको समर्थन आवश्यक पर्छ । विश्वासको मतको विपक्षमा मतदान गर्नेमा यसअघिको गठबन्धनबाट बाहिरिएको नेपाली काङ्ग्रेसका ८७, जनमतका सात र लोसपाका चार सांसद छन । १४ सिट भएको राप्रपा अहिलेसम्म खुलेको छैन भने चार सिट भएको नागरिक उन्मुक्ति पार्टीमा भने दुई धार देखिएको छ ।