प्रधानमन्त्रीको घट्दो विश्वास

  • त्रिशूली प्रवाह
  • ८ चैत्र २०८०, बिहीबार ११:५१

संसद्को तेस्रो दल भएर पनि सत्ताको स्वाद चाख्दै पहिलो र दोस्रो दललाई आलो–पालो प्रयोग गर्न सक्ने नेता हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनले दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेसँग आलोपालो सत्तागठबन्धन गरेर सत्ताको वागडोर सम्हालिरहेका छन् ।

गत आम निर्वाचन, २०७९ सम्पन्न भएपछि गठबन्धन गरेर निर्वाचन लडेका मुख्य साझेदार काङ्ग्रेसलगायत अन्य चार दलसँग गठबन्धन तोड्दै पुस १० गते एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले सत्ता सम्हालेको १४ महिनाको यो अवधिमा तेस्रोपटक विश्वासको मत गत हप्ता लिएका छन् । उनले सुरुमा प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पुस २६ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने परिस्थिति आफैँ सिर्जना गर्दै आइरहेका छन् । उनलाई प्रधानमन्त्री बनाउने दल एमालेसँगको सहमति तोड्दै प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा काङ्ग्रेसलाई साथ दिएका थिए । माओवादीले भोट नदिएको कारण राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवार पराजित भएपछि एमालेले समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरियो । यो परिस्थितिमा प्रधानमन्त्री प्रचण्डले गत ०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिए । यसपटक प्रचण्डले सत्तासाझेदार नेपाली काङ्ग्रेसलाई एकाएक सरकारबाट हटाइदिए । सरकारबाट निष्कासित काङ्ग्रेसले समर्थन फिर्ता लिएपछि उनले तेस्रोपटक विश्वासको मत लिनुपर्ने संवैधानिक परिस्थिति सिर्जना भयो । एउटै प्रधानमन्त्रीले १४ महिनाको अवधिमा तीनपटक विश्वासको मत लिएको नेपालको इतिहासमा यो पहिलो घटना हो ।

प्रधानमन्त्रीले संसद्बाट पटक–पटक विश्वासको मत लिनु भनेको नराम्रो होइन । विश्वासको मत लिने प्रक्रिया त्यति खर्चिलो पनि छैन । सरकार र संसद्को एक दिन मात्रै खर्च हुन्छ । तर, पटक–पटक विश्वासको मत लिने परिस्थिति उत्पन्न हुनु भनेको संस्थागत हुन बाँकी रहेको मुलुकको कलिलो लोकतान्त्रिक व्यवस्थाका लागि भने राम्रो होइन । प्रधानमन्त्री प्रचण्डलाई पटक–पटक विश्वासको मत लिनुपर्ने परिस्थिति अन्य पार्टीले सिर्जना गरेका भने होइनन् । उनी आफैँले यो परिस्थिति सिर्जना गरेका हुन् । काङ्ग्रेस, एमालेलगायत केही पार्टीका नेताको पदलोलुपतामा खेलेर आनन्द लिने प्रधानमन्त्री प्रचण्डले परिस्थिति सिर्जना गरेका हुन् । तर, यो खेलमा रमाएका प्रचण्डको छवि जनताको नजरमा भने गिर्दै गएको छ । हरेकपटकका विश्वासको मतको नतिजाले पनि उनी कमजोर हुँदै गएको पुष्टि हुन्छ । उनले पहिलोपटक विश्वासको मत लिँदा संसद्मा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ जनाको साथ पाएका थिए । उनको विपक्षमा मत हाल्ने दुईजना मात्र संसद् सदस्य थिए । त्यसैगरी, दोस्रोपटक प्रधानमन्त्री प्रचण्डले एक सय ७२ जनाको साथ पाए । त्यतिबेला सदनमा दुई सय ६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको विपक्षमा ८९ मत परेको थियो । यसपटक प्रचण्डले एक सय ५७ मत पाए । विपक्षमा एक सय १० मत प¥यो ।
प्रधानमन्त्री प्रचण्ड आफ्नै कारण लगातार कमजोर हुँदै छन् भन्ने कुरा उनले प्रतिनिधिसभामा हासिल गरेको विश्वासको मतले पुष्टि गरिसकेको छ । अब चौथोपटक विश्वासको मत लिनुपर्ने परिस्थिति बन्छ वा बन्दैन त्यो समयले पुष्टि गर्ला । अहिले नै अनुमान लगाउन चाँडो हुनेछ ।

प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालमध्ये भर्खर १५ महिना बितेको छ । काङ्ग्रेस वा एमालेमध्ये एउटा दलको साथबिना प्रधानमन्त्री प्रचण्डले आफ्नो पद थाम्न सक्ने अवस्था अहिले छैन । तर, यो १५ महिनाको अवधिमै प्रचण्डले काङ्ग्रेस र एमालेलाई पटक–पटक प्रयोग गर्दै मिल्काउँदै गरे । एमाले त फेरि प्रयोग हुन राजी भयो । भोलिका दिनमा काङ्ग्रेस फेरि प्रयोग हुन राजी होला कि नहोला ? भन्ने प्रश्न राजनीतिक वृत्तमा चलिरहेको छ । सत्ताबिना काङ्ग्रेस बस्न सक्दैन भन्ने उसको स्वभाव अबको दिनमा के होला ? अहिले भन्न सकिँदैन । किनकि प्रचण्ड अझै ढुक्क छन् । उनले गत बुधबार विश्वासको मत लिनुअघि संसद्मा सम्बोधनको क्रममा विपक्षी सांसदलाई प्रतिप्रश्न गर्दै भने, ‘ठूला दल हामी मिल्यौँ भने तिम्रो हालत के हुन्छ ? यसो पहिला पनि भनियो । आज पनि भनियो । मेरो कामना छ तपाईंहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ ।’ यो भनाइले पनि प्रचण्ड सत्ता छोड्नुपर्ने अवस्था आए काङ्ग्रेससँग मिल्न पछि पर्दैनन् भन्ने कुरालाई सङ्केत गरेको छ ।