नौ वर्षदेखि अलपत्र तिनपिप्ले-रानीपौवा सडक निर्माण शुभारम्भ

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार १२:२८

रानीपौवा, राजनीतिक पहुँच र शक्तिको आडमा ठेकेदारले नौ वर्षदेखि सञ्चालनमा रहेको सडक भत्काएर अलपत्र पारेको पासाङल्हामु राजमार्गको बालाजु–तिनपिप्ले–रानीपौवा सडकको निर्माणकार्य शुक्रबारदेखि शुभारम्भ भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङको उपस्थितिमा शुक्रबार निर्माणकार्यको शुभारम्भ भएको छ ।

अध्यक्ष तामाङकै नेतृत्वमा सडक प्रभावितले तिनपिप्ले–रानीपौवा सडकको निर्माणकार्य सुरु गर्न विभिन्न निकायमा पुगेर दबाब दिएको थियो । निर्माणकार्यको शुभारम्भ सवारी उपकरण पूजा गरेर सुरु भएको कार्यक्रममा अध्यक्ष तामाङले मानव जीवनस्तरसँग जोडिएको सडकमार्ग नौ वर्षदेखि लथालिङ्ग अवस्थामा रहँदा नागरिकले निकै नै सास्ती खेप्नुपरेको बताए । निर्माणकार्य समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दै यस क्षेत्रका बासिन्दालाई निर्माणकार्यमा सहयोग गर्दै अनुगमनसहित गुणस्तरीय निर्माण गराउन लागिपर्नका लागि आग्रहसमेत गरे । समय र गुणस्तरलाई ख्यालमा राख्दै काम गर्न उनले निर्माण व्यवसायीलाई अनुरोध गरेका छन् । सडक निर्माणकार्य सुरु भएपछि वर्षौँदेखि सडकबाट प्रभावित हुँदै आएका स्थानीय हर्षित भएका छन् । सडक निर्माण भएसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र पर्यटकको आगमनसँगै स्थानीयको जीवनस्तर सुधारिने स्थानीय समाजसेवी अशोक लामाले बताए । लामो अवधिसम्म पनि निर्माण हुन नसकेको तिनपिप्ले–पिपलटार सडकखण्डमध्ये पहिलो चरणमा तिनपिप्लेदेखि रानीपौवासम्मको सडक निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सन सेवाले ८३ करोड ३१ लाख रुपैयाँमा पाएको छ । निर्माण ठेक्का अवधि दुई वर्ष रहेको छ । ०८० फागुन ३० गते सम्झौता भएको र ०८२ फागुन २९ सम्म निर्माणकार्य सम्पन्न गरिसक्नुपर्नेछ । पहिलो चरणमा १४.५ किलोमिटर सडक कालोपत्रेसहित निर्माण हुने भएको छ । रानीपौवा बजारबाट दुई किलोमिटर तलसम्म सडक कालोपत्रे गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।

बालाजु–रानीपौवा–पिपलटार सडकको कुल दूरी भने ५५.५ किलोमिटर हो । उक्त दूरीमध्ये केही खण्डमा काम भइसकेको छ । उक्त सडकको सुरुको ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का लगाइएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर, सातपटक म्याद थप्दा गर्दा पनि काम भएको थिएन । काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआइपिएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा सम्झौता तोडिएको थियो । ठेक्का तोडेसँगै ती कम्पनीलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । जसअनुसार उक्त कम्पनीलाई ०७९ भदौ ८ देखि ०८२ भदौ ७ सम्म कालोसूचीमा राखिएको छ । शैलुङ कन्स्ट्रक्सन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका बागेश्वरीका शारदा अधिकारीको कम्पनी हो ।

रानीपौवा–पिपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम हुँदै छ । त्यसका लागि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) गरेपछि ठेक्का लगाइने सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख सुवोधकुमार देवकोटाले बताए । उक्त खण्ड निर्माणका लागि दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रानीपौवा–पिपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ । नौ वर्षदेखि सडक स्तरोन्नति गर्ने भन्दै सडक भत्काएर अलपत्र पार्दा स्थानीय समस्या छन् । सडककै कारण व्यापार–व्यवसाय चौपट बनेको उनीहरूको गुनासो छ । सडक भत्काएर वर्षौँसम्म नबनाउँदा स्थानीयको दैनिक जीवनयापन नै प्रभावित बनेको छ ।