गँगटे-बट्टार-विदुर-ढुङ्गे सडक जीर्ण

खाल्टाखुल्टी र धुलोले सडक प्रयोगकर्तालाई सास्ती

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०८०, शुक्रबार ११:३६

विदुर, नुवाकोट जिल्ला सदरमुकाम क्षेत्रका बासिन्दा र सडक प्रयोगकर्ताले अहिले जीर्ण सडकको कारण सास्ती पाइरहेका छन् । विदुर नगरपालिकाको गँगटे चोकदेखि ढुङ्गे चोकसम्मको सडक जीर्ण भएर बनेको खाल्टाखुुल्टी र उडेको धुलोको जोखिम र सास्ती व्यहोरिरहेका छन् ।

विदुर नगरपालिका– ५ को गँगटे चोकदेखि बट्टार, विदुर, ढुङ्गे चोकसम्मको सडक जीर्ण हुँदा जोखिम र सास्ती व्यहोर्नुपरेको हो । राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको निर्माण निर्धारित समयमा हुन नसक्दा स्थानीयवासी र सडक प्रयोगकर्ताले जोखिमसहित सास्ती व्यहोर्दै सरकार र सरोकारवाला निकायलाई धिक्कारिरहेका छन् । सदरमुकाम क्षेत्रमा पर्ने विदुर नगरपालिका– ५ को गँगटेदेखि बट्टार–विदुर हुँदै ढुङ्गेसम्मको सडकखण्डमा पछिल्लो समय जीर्ण भएर खाल्टाखुल्टी हुँदा सवारी दुर्घटनाको जोखिम बढेको स्थानीय व्यवसायी भानु पाण्डेले बताए । गँगटे–ढुङ्गे सडकखण्डमा योजना कार्यालयले क्षतिपूर्ति वितरण सुरु गरेर सडक विस्तारको काम सुरु गर्ने भने पनि सबै घर–टहराको क्षतिपूर्ति दिन समय लाग्ने भएकाले नगरपालिका र सडक कार्यालयले समन्वय गरेर अस्थायी मर्मत गर्नुपर्ने माग स्थानीयले गरेका छन् । ढुङ्गे क्षेत्रको घर–टहराको नापजाँच सुरु गरेर नेपाल बैंक चोकसम्मको २२ र गँगटेदेखि बट्टार राम मन्दिर चोकसम्मको ११ जनाको घर–टहराको मूल्याङ्कन सकेर कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति रकम निर्धारण भई पत्रिकामा सूचना प्रकाशित भइसकेको छ । सूचनाअनुसार प्रक्रिया पूरा भएका एक दर्जनजतिले मूल्याङ्कन भएको रकमको आधा भुक्तानीसमेत लगिसकेको योजना कार्यालयले जानकारी दिएको छ । बट्टार राम मन्दिरदेखि विदुरको नेपाल बैंक चोकसम्म पर्ने विदुर नगरपालिका २ र ४ ले सहयोग नगर्दा हटाउनुपर्ने घर–टहराको नापजाँच कार्य अगाडि बढ्न सकेको छैन । सडक स्तरोन्नतिको टेन्डर भइसकेकाले उक्त खण्डको मर्मत गर्ने बजेट नभएकोले छिट्टै प्रक्रिया पु¥याएर ठेकेदारले काम थालनी गर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए । उनले भने, ‘सडकमा भएका स–साना खाल्टाखुल्टी सडक ठेक्का लिनेले पुर्नुपर्ने हो, तर लगत्तै सडक विस्तारको काम निर्माण कम्पनीले गर्ने भएकाले अहिले पुरिएको छैन, जसले गर्दा केही ठाउँमा खाल्टाखुल्टी भएको र धुलो उड्ने समस्या भएको छ । खाल्टाखुल्टी पुर्दा सडक विस्तारमा समस्या हुने, मर्मतको पनि बजेट नभएकोले त्यसै छाडिएको हो ।’ योजना प्रमुख श्रेष्ठका अनुसार चालू आर्थिक वर्षभित्रै सडक विस्तारको काम सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।

गल्छीदेखि मैलुङसम्म ४६ किलोमिटर सडक निर्माणको जिम्मा निर्माण कम्पनी कोभेक–तुन्दी र रसुवा ज्वाइन्ट भेन्चरले पाएको छ । नौ वर्षअघि सरकारले राष्ट्रिय गौरवको योजनामा राखेर भारतीय नाकाबन्दीको विकल्पमा उत्तरी नाका जोड्ने यो सडक निर्माण सुरु गरेको थियो । सडक योजनाले काम सुरुदेखि नै मुआब्जा विवादको कारण निर्माण अवरोध हुँदै आएको थियो । सदरमुकाम क्षेत्रका बासिन्दाले सडक विस्तार हुँदा भत्किने घर–टहरा र जग्गाको उचित क्षतिपूर्ति माग गर्दै काम गर्न अवरोध गरेको कारण समयमै निर्माण कार्य सुरु हुन सकेन । मुआब्जा र क्षतिपूर्तिको टुङ्गो नलागेको कारण सडक प्रभावित अदालतसम्म पुगेका थिए । अदालतले यो खण्डको फैसला गर्न ढिला गरिदिएको कारणले पनि सडक विस्तारको काम रोकिएको हो । प्रभावितले क्षतिपूर्तिका लागि दिएको मुद्दा सर्वोच्च अदालतले गत वर्ष फैसला गरेर जग्गाको मुआब्जा दिनु नपर्ने घर–टहराको उचित मुआब्जा दिनुपर्ने आदेश गरेको थियो । उक्त आदेश कार्यान्वयन गराउन सडक योजना कार्यालय एक वर्षदेखि नगरपालिका, प्रहरी प्रशासन, स्थानीय, प्रदेश र सङ्घको जनप्रतिनिधिसँग हारगुहार गररहे पनि प्रक्रिया अघि बढ्न सकिरहेको छैन । विदुर नगरपालिका क्षेत्रभित्र पर्ने सदरमुकाम क्षेत्रको सडकको बिजोग देख्दादेख्दै पनि नगरपालिकाले टालटुल गर्न बजेटको अभाव भन्दै पन्छिरहेको छ । विगत तीन वर्षदेखि नगरपालिकाले समन्वय गरेर सडकको खाल्टाखुल्टी पुर्ने र धुलो उड्ने क्षेत्रमा पानीसमेत छर्कने गरेको थियो । तर, यस वर्ष नगरपालिकाले जीर्ण सडक मर्मतमा ध्यान नदिएको गँगटे चोकका ओमप्रकाश श्रेष्ठले बताए । सडकमा भएका खाल्टाखुल्टी र धुलोको कारण पछिल्लो सडक क्षेत्र अस्त–व्यस्त बन्दै गएको छ । गँगटेदेखि ढुङ्गेसम्म सडकका ठाउँ–ठाउँमा भएका खाल्टाखुल्टीका कारण सडक अस्तव्यस्तसँगै धुलोले गर्दा दुर्घटनाको जोखिम बढाएको छ । गाडीचालक वेगबहादुर घले सडकमा भएको खाडल र धुलोको कारण साना सवारीसाधनलाई हैरानीसँगै दुर्घटनाको जोखिम बढाएको बताउँछन् । बिग्रिएको सडक समयमै मर्मत नहुँदा ठाउँठाउँमा कालोपत्रे उप्किएर उकालो र घुम्तीमा खाडल छल्दा दुर्घटना हुन सक्नेसमेत उनले बताए । सडक जीर्ण बन्दा ठूला सवारीसाधनभन्दा साना, दुईपाङ्ग्रे सवारीसाधनलाई थप समस्या हुने गरेको छ । सडकमा परेको खाल्टाखुल्टी र धुलोको कारण मोटरसाइकल र स्कुटी चलाउन समस्या हुने गरेको स्थानीय युवा सुदीप श्रेष्ठले बताए । उनले भने, ‘सडकको अवस्था सम्झिँदा मोटरसाइकल चलाउन दिक्क लाग्छ, बिग्रिएको सडक समयमै मर्मत भइदिए सहज हुने थियो ।’