मौरीपालन व्यवसाय बन्दै

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १३:३८

विदुर, नुवाकोट जिल्ला मौरीपालनका लागि उपयुक्त हुँदाहुँदै पनि उचित प्राविधिक परामर्श र सहयोग नहुँदा मौरीपालन फस्टाउन सकिरहेको छैन । पछिल्लो तीन वर्षदेखि जिल्लामा मौरीपालनमा संलग्न कृषक सङ्गठित भएर मौरीपालन व्यवसाय बन्दै छ ।

जिल्लाका १२ पालिकामध्ये शिवपुरी गाउँपालिकामा मौरीपालनलाई कृषकले व्यवसायमा रूपान्तरण गरिरहेका छन् । शिवपुरीसहित नुवाकोटका डेढ सयभन्दा बढी कृषक मौरीपालनमा संलग्न रहेको नेपाल मौरीपालक महासङ्घ नुवाकोटका अध्यक्ष भीमप्रसाद अधिकारीले जानकारी दिए । शिवपुरीपछि किस्पाङ र दुप्चेश्वर गाउँपालिकामा मौरीपालनलाई कृषकले व्यवसाय बनाएका छन् । नुवाकोटमा वार्षिक एक करोड रुपैयाँभन्दा बढी मौरीजन्य कारोबार भइरहेको महासङ्घ नुवाकोटका अध्यक्ष अधिकारीले बताए । मौरीपालन किसानले मौरीको गोलो, मौरीसहितको घार र मह बिक्रीबाट वार्षिक एक करोड आम्दानी गरिरहेको उनले दाबी गरेका छन् । खेतबारीमा प्रयोग गरिने विषादीको कारण मौरीपालन व्यवसाय फस्टाउन नसकेको शिवपुरीका कृषक रामबहादुर तामाङले बताए । शिवपुरीमा मात्रै २५ जनाभन्दा बढी कृषक मौरीलाई व्यवसायमा रूपान्तरण गर्न तल्लीन छन् । मौरीको मह बिक्री गरेरभन्दा मौरीको गोला र मौरीको घार बिक्रीबाट शिवपुरीका कृषकले लाभ लिइरहेका छन् । मौरीपालन विस्तारमा बागमती प्रदेश सरकार र स्थानीय पालिकाले तालिम र मौरीपालनको सामग्री वितरण गर्ने गरेका छन् । जङ्गली चरण क्षेत्र बढी भएको शिवपुरी, दुप्चेश्वर, किस्पाङ गाउँपालिका र बेलकोटगढी नगरपालिकामा गुणस्तरको मह उत्पादन भइरहेको र मह बिक्रीको समस्या नरहेको मौरीपालक महासङ्घ नुवाकोटले जानकारी दिएको छ ।