ग्रामीण पाठकको हृदयमा त्रिशूली प्रवाह साप्ताहिक

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १४:३५
  • फुर्पा तामाङ

१. दुई जिल्लाका प्रमुख खबरपत्रिका : समय पत्तै नपाई छिटो बित्दो रहेछ । भर्खरैजस्तो लाग्छ त्रिशूली प्रवाह साप्ताहिक पत्रिका प्रकाशित गरेको । तर, साल गन्दै जाँदा २५औँ वर्ष पूरा भइसकेछ । यो रजत वर्ष प्रवेशको अवसरमा म त्रिशूली प्रवाह साप्ताहिकका सम्पूर्ण परिवारलाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छु । सुरुवातीका दिनदेखि आजसम्म यो साप्ताहिक पत्रिकाले रसुवा जिल्ला र नुवाकोटका कुना–काप्चासम्मका समाचारलाई प्रमुख प्राथमिकताका साथ प्रकाशित गर्दै आएको छ । गाउँघरका जनजनमा त्रिशूली प्रवाह पुगेको छ । धेरैको पर्खाइ कहिले बिहीबार आउला ? भन्ने हुन्छ । समाचारमा लेखिएका लेख, खबरलगायतका सामग्री पठनीय, मननीय र खबरमूलक भएको कारण यो पत्रिकाको ओझ बढ्न गएको हो । यसैगरी, राजनीतिक विषयवस्तुलाई समेत असाध्यै सन्तुलित तरिकाले प्रकाशित गर्न सक्नुले नै यो पत्रिका स्थानीयस्तरका सबै राजनीतिक दलका निमित्त साझा पत्रिका बन्न पुगेको अनुभूति हुन्छ । पत्रिकाको स्थापनादेखि हालसम्म निरन्तर प्रकाशित हुनुले यो पत्रिकाले जीवन्त रूप लिन सकेको प्रस्टिन्छ । मूलतः रसुवा जिल्लाबाट प्रकाशित भएका पत्रिकाहरू विविध कारणले होला निरन्तरता पाउन नसकिरहेको अवस्थामा दुई जिल्लाको साझा पत्रिकाझैँ यसले निरन्तरता पाउनुले म÷हामी रसुवावासी आभारी पनि छौँ । एक वाक्यमा भन्ने हो भने यो पत्रिकाले यी दुई जिल्लाको खबरलाई मियोको रूपमा आफूलाई उभ्याउँदै आएको छ । यो मियो अझ मजबुत भएर अघि बढोस् । यही शुभकामना दिन चाहन्छु ।

. गाउँघरले चिनेको पत्रिका : गाउँघरका धेरै मानिसलाई पत्रिका भन्ने थाहै थिएन । जतिलाई थाहा थियो उनीहरूले गोरखापत्रलाई पत्रिका भन्थे । मानिस सरकारी कामका लागि सदरमुकाम धुन्चेमा आउँदा पत्रिका पसलमा गोरखापत्र खोजेको देखिन्थ्यो । पछि कान्तिपुर पत्रिका प्रकाशित भयो र गोरखापत्रसँगै कान्तिपुर पनि पसलमा पुग्न थाले । धुन्चेमा खनाल स्टेसनरी पसल स्थापना भएपछि गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्ट र त्रिशूली प्रवाह साप्ताहिक पत्रिका उपलब्ध हुन थालेको हो । त्रिशूली प्रवाहमा स्थानीय समाचार र लेख छापिन थाल्यो । त्यसले यो पत्रिकामा स्थानीयको आँखा पुग्न थालेका हुन् । यो पङ्क्तिकारको अगुवाइमा स्थानीयवासीका लागि सेयर खरिदको लागि विशेष व्यवस्था हुनुपर्छ भनी गरिएको सङ्घर्ष, सेयरसम्बन्धी लेख, स्थानीय संस्कृति, संस्कार, जैविक विविधता, पर्यटनलगायतका विविध विषयमा लेखिएको लेख, रचना, अन्य लेखकका लेखहरू र समाचारलाई विशेष प्रमुखताका साथ प्रकाशित गर्दै आएको स्मरण मानसपटलमा छँदै छ । गाउँघरको विषयवस्तुलाई महत्व दिएर छापिने हुनाले ग्रामीण पाठकको हृदयमा पत्रिकाले प्रवेश पाएको भन्नेमा दुईमत हुनै सक्दैन । बिहीबार कहिले आउला ? भन्ने खुल्दुली ग्रामीण पाठकमा हुनुले यो पत्रिका बजारदेखि गाउँलेसम्मले चिनेको प्रिय पत्रिका नै हो ।

३. पत्रकारहरूको इन्टर्न थलो/स्कुल : सुरुका दिनमा यो पत्रिकामा समाचार सङ्कलन गर्ने र लेख्ने संवाददाता अहिले कहाँ छन् ? भनेर हेर्नु जरुरी हुन्छ । गाउँघरमा गएर समाचर सङ्कलन गरेर लेख्ने ती संवाददाता देशका नाम चलेका र स्थापित ठूला पत्रिका प्रकाशन गृहमा काम गरिरहेका देखिन्छन् । यसबाट पनि यो पत्रिका नवपत्रकारका लागि सिक्ने स्कुल वा इन्टर्न थलो भन्न सकिन्छ । अन्त्यमा, पत्रिका प्रकाशन गर्ने काम सजिलो छैन । त्यो पनि गाउँघरको समाचार सङ्कलन गरेर प्रकाशन गर्नु कठिन कार्य नै हो । यस्तो चुनौतीबीच प्रकाशक/प्रमुख कार्यकारी सम्पादक शरण उत्सुक सापकोटाले आजको यो दिनसम्म निरन्तरता दिन सक्नुलाई सामान्य ठान्न मिल्दैन । अब डिजिटल युगले गर्दा छापा पत्रिकाका लागि अर्को चुनौतीको पहाड प्रकाशकसामु खडा भइसकेको अवस्था छ । त्यो चुनौतीको पहाडलाई सामना गर्दै फेरि पनि ग्रामीण पाठकको हृदयमा बस्न सकेको होस् । यही शुभकामना ।

ठूलो भार्खु, रसुवा

phurpatamang10@gmail.com