त्रिशूली प्रवाहसँगको अन्तर्मन्थन

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १४:५८
  • रेशमबहादुर पाण्डे

ओहो २५ वर्ष भइसकेछ…
विद्युतीय माध्मबाट ‘त्रिशूली प्रवाह साप्ताहिक’बारे एउटा लेख लेखिदिने मलाई आएको सन्देशले मेरो मनमा अनायास एउटा तरङ्ग आयो । ओहो २५ वर्ष भइसकेछ…! कति छिट्टै समयले फड्को मारिसकेछ । म एकछिन आफैँमा घोत्लिन थालेँ, अन्तरविमर्शमा रङमगिन थालेँ र मैले त्रिशूली प्रवाहप्रति केही अन्तर्मन्थन गर्नुपर्छ भन्ने निक्र्योल गरेँ । यद्यपि, त्यस पत्रिकामा म आफैँ प्रत्यक्षतः संलग्न भने थिइनँ ।

काठमाडौंमा रहँदा/बस्दा मेरो अस्थायी वासस्थान नजिकको पत्रिका पसल गोंगबु चोकतिर स्थान्तरण भइसकेछ । कुनै समय आफैँ पत्रकारितामा संलग्न भएको र पत्रिका तथा पुस्तक पढ्न चासो राख्ने भएको कारणबाट म पढ्नमा अभिशप्त थिएँ, त्यसमाथि पत्रिका पसलका सञ्चालक नुवाकोटकै र परिचित व्यक्ति थिए । तत्कालीन समयमा नुवाकोटबाट प्रकाशन हुने पत्रपत्रिका एकाध भए पनि मेरो पहँुचमा थिएन र नुवाकोटबाट एउटा साप्ताहिक पत्रिका प्रकाशन गर्न लागेको कुरा सुनेँ । आधुनिक संसारमा सबै खालका गतिविधिमा सुसूचित गराउने र विचार–विमर्श तथा सामाजिक पक्षको विश्लेषण गर्ने एउटा सशक्त माध्यमको सुरुवात हुन लागेकोमा मेरो ध्यान आकर्षित भयो । नुवाकोटका जागरुक र परिश्रमी साथीको हौसला बढाउन मैले अप्रत्यक्ष रूपमा सल्लाह–सुझाव दिने काम गरेँ । मेरो जागिरको कार्यक्षेत्र र सीमाले गर्दा मैले त्योभन्दा बढी सहयोग गर्न सकिने स्थिति पनि थिएन ।

पत्रिका प्रकाशन भएर बजारमा आयो, व्यवस्थापनमा कति गाह्रो–साह्रो बाटोबाट मित्र गुज्रिनुभयो, म त्यति जानकार त थिइनँ । तैपनि म बिहीबारको बेलुकीतिर गोंगबुचोकको पत्रिका पसलमा पुगेर हालचाल बुझ्ने र पत्रिका किनेर पढ्ने गर्दथेँ । नुवाकोट जिल्लामा तथा आफ्नै गाउँठाउँमा भएका गतिविधिलाई समेटेर समाचार प्रकाशन हुने भएकाले मेरो चासो र अन्तर्मन त्रिशूली प्रवाहप्रति प्रगाढ रूपमा बढ्न थाल्यो । बिहीबारको बेलुकी कहिले राष्ट्रिय नाचघरको सडकपेटी तथा नयाँ सडकको पिपलबोटनजिकबाट पनि मैले पत्रिका किनेर पढ्न सुरु गरेँ । काठमाडौंमा नै रहँदा मैले त्यो क्रमलाई विशृङ्खलित हुन दिइनँ । पत्रिका प्रकाशन निरन्तर भइरहेको देख्दा मेरो मनमा खुसीको सञ्चार हुन्थ्योँ, तर प्रकाशनका व्यवधानबारे म अनभिज्ञ नै थिएँ ।

पत्रिका अद्योपान्त पढ्ने मेरो पुरानो बानी हो, त्यो मेरो अन्तर्मनमा रहेको जुगुप्सा पनि हो । त्यस समयमा राजनीतिक ध्रुवीकरण चरत्मोकर्षमा थियो । त्रिशूली पत्रिका पनि कतै त्यस्तै ढल्कुवा आवरणमा लहसिएको त होइन भन्ने मलाई आभाष भयो । समाजमा नागरिक चेतना जागृत गर्न र वैचारिक पक्षको पृष्ठपोषण गर्न त्यसमा विचार गर्नु आवश्यक पनि थियो । पत्रिका सञ्चालक समूह र राजनीतिक–वैचारिक समूहले पत्रिकालाई फरक धारमा लैजान लागेको बुझियो, त्यो भावना अन्यथा भने अवश्य होइन । म प्रशासनसँग सम्बन्धित व्यक्ति भएको कारण जनतालाई सुसूचित गराउने सञ्चारमाध्यम र जनतालाई न्याय दिन बसेको प्रशासनले पक्ष लिन उचित हँुदैन कि जस्तो मलाई लाग्थ्यो, तैपनि जो–जो व्यक्तिले पत्रिका प्रकाशन गर्न विभिन्न अवरोधको सामना गर्नुभयो उहाँहरूको भावना सञ्चारमाध्यममा मुखरित हुनु त स्वाभाविक थियो । यसरी नै अविचलित रूपमा निरन्तर २५ वर्षसम्म पत्रिकालाई आजको रूपमा देख्न पाउँदा अथाह खुसी अनुभव भएको छ ।

त्रिशूली प्रवाह साप्ताहिकमा मेरो विचार अन्तर्वार्ताको माध्यमबाट प्रकाशन भएपछि झन् मेरो मनमा सो पत्रिकाप्रति अनुराग बढ्न थाल्यो । सम्पादक तथा प्रकाशकले मेरो वासस्थानमा नै आएर अन्तर्वार्ता रेकर्ड गरेर प्रकाशित गरेपछि मलाई गौरव अनुभूति भयो । प्रथम नुवाकोट महोत्सव सफल बनाउन काठमाडौंमा बसोवस गर्नेलाई संलग्न गराउने उद्देश्यले मलाई नुवाकोट महोत्सव काठमाडौं समितिको संयोजक बनाइयो । तत्पश्चात् मेला आयोजक (पत्रिकाका प्रकाशक÷सम्पादक)ले मेरो विषयलाई पनि समाचारको पात्र बनाएकोमा म झन् अभिभूत भएँ र पत्रिकाप्रतिको मेरो अवधारणा सकारात्मक रह्यो । यसरी नै दुई–तीनपटक मेरो अन्तर्वार्ता प्रकाशित गरिदिएकोमा म त्रिशूली प्रवाह पत्रिकाप्रति आभार व्यक्त गर्दछु । समय–समयमा मेरा लेख, ऐतिहासिक खोजका अनुसन्धानात्मक विषय प्रकाशन गरेर जनमानसमा उजागार गरिएको विषय पनि मेरो मानसपटमा अविष्मरणीय रूपमा रहेको छ ।

समयक्रममा प्रविधिको विकास भएपछि मैले त्रिशूली प्रवाह पत्रिका पढ्न बजारका पत्रिका पसलमा धाउनुपर्ने कुराको अन्त्य भएको छ । विदेशतिर घुम्न जाँदा होस् कि स्वदेशमा नै टाढा रहँदा होस्, पत्रिकाका सम्पादकज्यूले मेरो विद्युतीय साधनमा नै सो पत्रिका सम्प्रेषण गरिदिएपछि यथास्थानमा नै प्रत्यक्ष पढ्न पाउने भएको छु । समाजका गतिविधिप्रति चासो दिने, विचार विश्लेषणलाई मनन गर्ने र आफ्नो परिवेशका समाचारबारे सुसूचित हुने पाठकका लागि पत्रिकाको महत्व गहनतम हुन्छ । मानिसको सिर्जन शक्ति र विश्लेषणात्मक क्षमताको अभिवृद्धिमा पुस्तक तथा पत्रपत्रिकाको योगदान सबैका लागि महत्वको विषय हो भन्ने तथ्यमा कसैको पनि दुईमत हुनै सक्दैन । त्यो आवश्यकताको परिपूर्ति गर्न त्रिशूली प्रवाह साप्ताहिकले महत्वपूर्ण भूमिका खेलेको विषय महत्वपूर्ण छ । त्रिशूली प्रवाह पत्रिकाको निरन्तरता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

(पाण्डे पूर्व प्रशासक हुन् ।)