+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारिता र त्रिशूली प्रवाहका कुरा

पत्रकारिता र त्रिशूली प्रवाहका कुरा
त्रिशूली प्रवाह
२ साल अगाडी
  • रामशरण प्याकुरेल

पत्रकारिता सिर्जनाको प्राज्ञिक पेसा हो । मानिसको यसप्रतिको रहरले यसको प्राज्ञिकता र गरिमालाई बुझाउँछ । पत्रकारितालाई देश तथा समाजको ‘वाचडग’ वा ‘चौथो अङ्ग’ पनि भनिन्छ । आजका दिनमा यो संवैधानिक कानुनी रूपमा भन्दा पनि स्वतस्फुर्त रूपमा प्राप्त उपाधि हो । पत्रकारिताको ऐनामा समाजको सभ्यता, शिक्षा, चेतना आदि–आदि हेरिन्छ । त्यसकारण पत्रकारिताको विकाससँग समाजको सबैखाले विकासले गति लिएको हुन्छ । हतारिएको साहित्य पनि भनिने यो सजिलो पेसाचाहिँ होइन । यो असजिलो पेसामा डुब्दै, पौडँदै, उत्रँदै गरे पनि निरन्तर बगिरहेको अविरल एउटा नदी हो त्रिशूली प्रवाह । यसको जन्मदेखि किशोरवय र अहिले २५ वर्षको वयस्क भइरहँदासमेत यसलाई नजिकबाट नियालिरहेको एकजना शुभचिन्तकका हैसियतमा ०५७ सालदेखि अहिलेसम्मको यसको निरन्तर र नियमित यात्राका लागि साधुवाद व्यक्त गर्न चाहन्छु ।

Utsuk Books & Stationery
Satkar Machinery Center

मलाई जानकारी भएसम्म यसका प्रकाशक शरण उत्सुक सापकोटाले पत्रकारितासम्बन्धी आफ्नो सीमित अनुभवलाई सङ्गालेर केही राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा काम गरेर आत्मविश्वास बढाइरहेका रामचन्द्र भट्टलाई समेत साथमा लिएर ०५७ सालमा यो पत्रिका साप्ताहिक रूपमा प्रकाशन आरम्भ गरे । त्यसभन्दा अगाडि स्व. रामकृष्ण प्रधानको देउराली साप्ताहिक र माधवप्रसाद खनालको नयाँ रूपरेखा पत्रिका नुवाकोटका प्रतिनिधि साप्ताहिक थिए । पहिलेका दुई साप्ताहिकसँगै आफूलाई स्थापित गर्नु चुनौती त थियो । त्रिशूली प्रवाहका ती दुई भाइलाई, तर उनीहरू हौसिए, होमिए र आजको यो अवस्थासम्म आइपुगे । नुवाकोटको पत्रकारितामा उनीहरूको योगदानलाई कहिल्यै कम आँक्न सकिन्न ।

त्रिशूली प्रवाह पत्रिकाको प्रकाशन यस्तो बेलामा सुरुवात भयो, जतिखेर नेपालमा माओवादी विद्रोह उत्कर्षउन्मुख थियो । नुवाकोटमा पनि माओवादी आन्दोलनको प्रभाव विस्तार हुँदै थियो । त्रिशूली प्रवाहका ती दुई भाइले नुवाकोटमा माओवादी विद्रोहबारे रिपोर्टिङ गर्न लचिलोपन र साहस प्रदर्शन गरे, प्रायः ठूलो व्यक्तिगत जोखिम लिएर । तिनीहरूको कामले सरकारी र माओवादी पक्षका तर्फबाट भएका मानव अधिकार उल्लङ्घनको अभिलेखीकरण गर्न, भ्रष्टाचार र अन्यायको पर्दाफास गर्न र डर र अनिश्चितताको वातावरणमा जनतालाई जानकारी प्रदान गरिरहन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रकाशित समाचार, समाचार स्रोत र आफूप्रतिकूल समाचारबारे सेना र माओवादी दुवैले दिने तनाव र दबाबबीचै उनीहरूले आफूलाई क्रियाशील बनाइराखे र त्यतिखेर सबैले पढ्ने समाचार पत्रिकाका रूपमा आफूलाई स्थापित गरे । उनीहरूको त के कुरा, हामी पत्रिकाका शुभचिन्तकसमेत त्यतिखेरको कोपभाजनमा पर्नुपरेका अनगिन्ती स्मरण छन् । तत्कालीन एमालेका नेता एवम् जनप्रतिनिधि स्व. भरत ढुङ्गाना माओवादी प्रवेशपछि पार्टी कामकै सिलसिलामा नेपाली सेनाद्वारा मारिए । उनीसँगसँगै बिताइएका राजनीतिक सम्बन्ध र सहकार्यको सम्झनामा त्रिशूली प्रवाहमा शब्द श्रद्धाञ्जलीस्वरूप प्रकाशित मेरो संस्मरणात्मक लेखबारे असहिष्णु र अराजनीतिक टिप्पणी गर्दै माओवादीका तर्फबाट ३ पेजको धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । त्यस्ता धम्की दुवैतर्फबाट उनीहरूलाई दर्जनौँ आउँथे, सुनाउँथे । तर, उनीहरू विचलित बनेनन्, निरन्तर लागिरहे, पत्रकारिताको धर्म निर्वाह गरिरहे ।

त्रिशूली प्रवाह प्रकाशनको हाराहारीमा बजारमा आएका पत्रिका कतिपय बन्द भइसके भने त्यसमा संलग्न सम्पादक÷प्रकाशकको पङ्क्ति कोही विदेश पलायन भएका छन्, कोही राजधानीकेन्द्रित छन् भने कतिपयले पेसा नै परिवर्तन गरेका छन्, तर त्रिशूली प्रवाहले नियमित प्रकाशनको २५ वर्षको मानक नै बनाएको छ । यसका प्रकाशक जिल्ला सदरमुकामको सडकमै छन्, हप्तैपिच्छेको अङ्क प्रकाशन र पेज भर्न उनी भौँतारिइरहेका हुन्छन् । जिल्लाको पत्रकारिताप्रतिको उनको यो समर्पण, लगन र मिहिनेत अतुलनीय छ, प्रशंसनीय छ । कहिलेकाहीँ सोध्छु, ‘चलाउनचाहिँ कसरी चलाउँदै छौ शरण भाइ ?’ उनले उज्यालो मुखले उत्तर दिने गरेका छैनन् । उनको पीडा सहजै महसुस गर्न सकिन्छ । ‘आजसम्म सकेँ, अब थाहा छैन दाइ ।’ यति भने पनि उनी फेरि अर्को अङ्कको योजना बनाउन थालिहाल्छन् । कठिन समयमा हातसारो गरेका रामचन्द्र अहिले देशबाहिर छन्, तैपनि यो पत्रिकासँग जोडिएकै छन् ।

म पत्रकारिता पेसामा छैन, तर रुचिका विषयमध्ये एक भन्नचाहिँ उपयुक्त ठान्छु । सञ्चार क्षेत्र सूचनाको एउटा विश्वसनीय माध्यम भएको हुँदा समुदायले आमसञ्चार क्षेत्रलाई पछ्याइरहेको हुन्छ र पत्रकारिता शास्त्र–विज्ञान पनि भएकाले यो कहिल्यै नसकिने भन्ने मान्यता राख्छु । सञ्चार क्षेत्रमा भइरहेका कतिपय गतिविधि पछ्याइरहने बानी पनि छ । पत्रकार दोहोरो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसकेको, राजनीतिक दलको कार्यकर्ता बनेकाहरूले पत्रकारिताको कुरा गर्न नसकेको, पत्रकारको सङ्ख्या बढे पनि उनीहरूको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेकोमा मोफसलमा त झन् पत्रकारिताका नाममा थुप्रै विकृति हुँदै आएको पाएको छु । पत्रकारिता पेसाप्रतिको निष्ठालाई बिर्सने काम भएका उदाहरण प्रशस्त छन् ।

पत्रकार र पत्रकारिताको नाममा थुप्रै बेथिति बढ्दै जाँदा समाजमा पत्रकार र पत्रकारिताप्रतिको जनविश्वास, विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । पत्रकारिताभित्रको पनि आफ्नै नीति, परिधि र यसका केही दायरा हुने र त्यो दायरा र परिधिभित्र सूचना कमजोर गराएर व्यक्तिगत लाभ लिनलाई पनि केही व्यक्तिले मिडिया सञ्चालन गर्ने गरेका छन् । ‘पत्रकारको ढाेंग गर्ने, पत्रकारिता गरेजस्तो गर्नेलाई त्रिशूली प्रवाहको २५ वर्षको निरन्तरताले कडा जवाफ दिइरहेको छ । भनिन्छ– पत्रकारिता पैसा एउटाबाट लिने, सेवा अर्कोलाई दिने व्यवसाय पनि हो । पत्रपत्रिका मात्रै बिक्री हुन्छन्, रेडियो टेलिभिजन त श्रव्य तथा श्रव्यदृश्य माध्यम मात्र हुन् । पत्रपत्रिकाको बिक्रीबाट पनि सेवाको सानो अंश प्राप्त हुने हो, जुन नगन्य नै छ । ७० प्रतिशत त विज्ञापनबाट नै हो । मुनाफा पनि विज्ञापनबाट नै लिने हो । तर, सेवाचाहिँ पाठक, स्रोता र दर्शकलाई दिने हो । तर, हाम्रो जिल्लाको विकासको गति कमजोर बनेको फल पत्रकारिताले पनि भोग्दै छ । बढो दुःख र मिहिनेतका साथ त्रिशूली प्रवाहले आफ्नो निरन्तरता र दक्षता अभिवृद्धि औसत रूपमा गरिरहे पनि, धेरैको अवस्था भने सन्तोषजनक छैन । धैर्यताको अभावै छ । यसो हुनुको कारण एउटै व्यक्ति संवाददाता, सम्पादक, समाचार सम्पादक आदि बन्नुपर्ने बाध्यताले पनि होला ।

अर्कोतर्फ, सञ्चारमाध्यमलाई आफ्नै आँखाको नजरभित्रै राख्न चाहने प्रशासनिक नेतृत्वको पत्रकारिताप्रति सकारात्मक सोच छैन । फ्रिज भएको पैसाले बरु ‘असारे विकास’ गर्ने, तर पत्रकारिताका लागि पाँच सयभन्दा बढीको विज्ञापन छुट्याउन नसक्नुले यही कुरा बताउँछ । ‘असारे विकास’भित्रको कुरा पत्रकारिता स्वयम्ले नउठाउनु अर्को विडम्बना हो । व्यक्तिगत ‘लबिङ’ले पत्रकारिता अन्धो बनाइएको छ । पाँच सय रुपैयाँको विज्ञापन उठाउन पनि सम्पादक आफै अगाडि लाग्नुपर्छ र कार्यालयका हाकिमलाई मुसार्नुपर्छ । भरपर्दो संयन्त्र खडा गरेर जिल्ला तथा स्थानीयस्तरमा पत्रकारिताको विकासका लागि अलिकति पैसा छुट्याउन प्रशासनिक नेतृत्व तयार छैन । खासगरी जिल्लाको पत्रकारिता आफूले खामेका नेताको भाषण सार्ने र दुर्घटनामा कसैको ज्यान गयो भने लास गन्न, वनभोज, सहकारीको बैठक र भ्रमणका कुरा लेख्नभन्दा माथि उठ्न सकेको छैन । जिल्लाको पत्रकारिताप्रतिको विश्वासलाई जीवन्त राख्न पत्रकार, प्रकाशक संस्था स्वयम् पनि सच्चिन तयार हुनुपर्नेछ । जिल्लाको पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सूक्ष्म बहस र विश्लेषणसहित अघि बढ्नुपर्ने आवश्यकता छ । माथिका कुराहरूलाई केन्द्रभागमा राखेर त्रिशूली प्रवाहले आफ्नो यात्रा अगाडि बढाइरहोस्, शुभकामना ।

(प्याकुरेल त्रिशूली प्रवाहका नियमित स्तम्भकार हुन् ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह