सम्भावनाको खानी : नुवाकोट

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १६:२६
  • ईश्वरी रिमाल

नुवाकोट जिल्ला भनेको पौराणिक तथा ऐतिहासिक जिल्ला हो । पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गरेपछि मात्रै नेपाल एकीकरण ‘सम्भव छ’ भनेर एकीकरण थालनी गरेका थिए । नुवाकोट आर्थिक एवम् सामाजिक रूपले पनि महत्वपूर्ण स्थल हो । यद्यपि, नुवाकोट जिल्ला अझै पनि सोचेजस्तो विकासमा अगाडि बढ्न सकिरहेको छैन । यसो हुनुमा एउटा मुख्य कारण नुवाकोटबाट काठमाडौं आएका मानिस यतै हराउनु पनि हो ।

नुवाकोटबाट बाहिर आएर उन्नति–प्रगति गरेका व्यवसायी, उच्चपदस्थ कर्मचारी एवम् राजनीतिक नेताहरूले जिल्लाको विकासमा पर्याप्त ध्यान दिन सकेनन् । पछिल्ला दिनमा नुवाकोटमा जे–जति आर्थिक गतिविधि भए, ती जनस्तरको प्रयासबाट सम्भव भएको हो ।

राज्यको तर्फबाट जति सुविधा जानुपथ्र्यो, त्यति जान सकेको छैन । नुवाकोटको प्रबुद्ध वर्ग सधैँभरि राज्यसत्ताको केन्द्रमा रहँदै आएको भए पनि यसको लाभ नुवाकोटले पाएको छैन । केन्द्र सरकारमा हरेकपटक मन्त्री र प्रतिनिधित्व नछुट्ने जिल्लामा विकासको गति द्रुत भएको छैन ।

आर्थिक दृष्टिले नुवाकोटमा ठूलो सम्भावना बोकेको क्षेत्र पर्यटन हो । गणेश हिमालजस्तो महत्वपूर्ण ‘ट्रेकिङ रुट’ नुवाकोटकै बाटो भएर जाने हुनाले पनि यसको विशिष्टता छ । राष्ट्र एकीकरणको प्रस्थानविन्दु भएको यो जिल्लामा कैयौँ पर्यटकीय स्थलहरू छन् । प्रसिद्ध ककनी, चिम्टेश्वर, चिसापानीजस्ता स्थल नुवाकोटमा छन् ।

तारुकाको गोरुजुधाइ अहिले अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । बेलकोटगढीजस्ता ऐतिहासिक धरोहर त्यहाँ छ । यस्ता कैयौँ सांस्कृतिक धरोहर नुवाकोटमा छन् । यसको अर्को सम्भावना धार्मिक पर्यटन हो । दुप्चेश्वर, नुवाकोट भैरवी, त्रिशूलीको राम मन्दिर, देवीघाट र बेत्रावती, कविलासजस्ता कैयौँ धार्मिक तीर्थ नुवाकोटमा छन् । तीमध्ये अधिकतर मठमन्दिर र बौद्ध धर्मसम्बद्ध क्षेत्रहरू अहिले संरक्षणको अभाव खेपिरहेका छन् ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर नुवाकोटलाई केन्द्रीय राजधानी बनाएर शासन गरेको ठाउँ अहिले पनि सुरक्षित छ । नुवाकोट दरबारको उचित जीर्णोद्धार हुन सकेको छैन । भूकम्प गएको आठ वर्ष पूरा भइसक्दासमेत दरबारको हालत जस्ताको तस्तै छ ।

नुवाकोटमा अर्को सम्भावनाको क्षेत्र जलविद्युत् हो । नुवाकोटकै पहिलो जलविद्युत् गृह त्रिशूली र देवीघाट आयोजना बनेको ६० वर्ष नाघिसकेको छ । अहिले सरकारी र निजी तवरबाट थुप्रै आयोजना अघि बढेका छन् । तर, पर्याप्त सम्भावन भएर पनि ज्यादै न्यून उत्पादन भएको देखिन्छ । ‘त्रिशूली गल्छी’जस्ता प्रस्तावित ठूला हाइड्रोपावर परियोजनाहरू अझै पनि अड्किरहेको छ । आर्थिक गतिविधिको हिसाबले सचेतना भएको जिल्ला हो नुवाकोट । तर, यसको विकास भने अपेक्षित छैन । हामीले पुँजी बजारलाई पनि नुवाकोटेहरूको घरघरसँग जोड्नु आवश्यक छ । सानो पुँजी र कम बचत हुनेहरूले पनि लगानी गरेर अर्थोपार्जन गरौँ भन्ने ध्येय जनमानसमा देखिन्छ । त्यहाँको पुँजीलाई सही तरिकाले मार्गदर्शन गर्न सकिएको छैन । त्यता पनि प्रयास खण्डित भएको छ ।

भौगोलिक हिसाबले राजधानी काठमाडौंबाट एकदमै नजिक भएको जिल्ला हो । यस निकटतालाई बजारीकरणमा ढाल्न सकिएको छैन । मूल्य शृङ्खलामा जोड्न सरकार र निजी क्षेत्रले पनि समुचित प्रयास गर्नुपर्ने आवश्यकता बाँकी छ । अहिले पनि बाहिरका मान्छेले नुवाकोट जिल्लालाई हेर्ने नजर फरक छ । नुवाकोट बाहिरबाट हेर्दा धेरै विकास भएको होला भन्ने अनुमान लगाउँछन् । तर, वास्तविकता त्यस्तो देखिँदैन ।
कृषिमा नुवाकोटका विशाल फाँट र टारहरू नगदेबालीको रूपमा एकदमै प्रख्यात ठाउँ हुन् । अहिले हिउँदको बेलामा नुवाकोटमा आलुको खेती धेरै हुन्छ । तर, हाम्रो उत्पादनले उचित बजार र उचित मूल्य पाउन सकेको छैन । आजभन्दा एक दशकअघि नुवाकोटको चामल भनेपछि कति प्रसिद्ध थियो । त्रिशूलीको चामल भनेपछि काठमाडौंको बजारमा प्रसिद्धि पाएको थियो । शिखरबेँसीको चामलको महत्व बेग्लै थियो । अहिले देशले नै चामल निकासीको ठाउँमा आयात गरेर खान थालेको छ । नुवाकोट कृषिका लागि अति नै सम्भावना बोकेको जिल्ला हो ।

नुवाकोटसँग अत्यधिक सम्भावना पनि छन् र अवसर पनि छन् । तर, यसको समुचित उपयोग हुन सकेको छैन । सही ढङ्गको व्यवस्थापन र स्रोतको दिगो प्रयोग हुन सकेको छैन । हरेक किसिमका सम्भावनाहरूको उजागर गर्ने, त्यसको बजारीकरण गर्ने, ब्रान्डिङ गर्ने र सहभागितामूलक आर्थिक विकासमा टेवा पु¥याउने काममा स्थानीय सरकारहरू, प्रदेश र सङ्घीय सरकार एवम् सम्बद्ध सबैले हातेमालो गर्नु आवश्यक छ । त्यसो भयो भने छोटो समयमै नुवाकोटको विकासलाई नयाँ स्तरमा पु¥याउन सकिन्छ । अब हामी सबैको हातेमालो त्यसतर्फ केन्द्रित हुनुपर्छ ।

(तारकेश्वर–६, नुवाकोट निबासी सेयरविज्ञ रिमासँग त्रिशूली प्रवाहका कार्यकारी सम्पादक विष्णु तारूकेले गरेको कुराकानीमा आधारित)