ऊर्जा र कनेक्टिभिटीको केन्द्र बन्दै छ नुवाकोट

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८१, शुक्रबार ११:०६
  • दामोदर भण्डारी

नुवाकोट धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी जिल्ला हो । अर्को नुवाकोटमा पर्यटनको पनि प्रचुर सम्भावना छ । पर्यटनको सन्दर्भमा लाङटाङ, गोसाइँकुण्डलगायतको अन्य ठाउँहरूको पर्यटनद्वारको रूपमा रहेको हुनाले नुवाकोटले धेरै नै लाभ लिने ठाउँ देखिन्छ ।

पछिल्लो समय स्थानीय तहहरूले पनि आ–आफ्नो ठाउँमा भएका पर्यटकीय सम्पदाहरूको संरक्षण गर्ने अभियान चलाएका छन् । यो निकै उत्कृष्ट कुरो हो । पर्यटन क्षेत्रका व्यक्तिहरूले यस क्षेत्रमा लगानी गर्ने हो भने नुवाकोटमा धेरै सम्भावना छ । अर्को लाङटाङ राष्ट्रिय निकुञ्जलाई पनि प्रवद्र्धन गर्न सकिन्छ ।

नुवाकोटमा ऊर्जाको असाध्यै सम्भावना छ । अहिले नदी प्रवाह (रन अफ रिभर)को रूपमा मात्रै आयोजनाहरू बनेका छन् । भविष्यमा बन्ने आयोजनाहरूलाई जलाशययुक्त बनाउन सकिन्छ । वर्षौँ पहिले नै चिलिमे जलविद्युत् आयोजनाले ‘जल पुनर्भरण’ योजना अघि सारेको भए पनि त्यसको कार्यान्वयन भएको छैन ।

यस्ता आधुनिक प्रविधि र तौरतरिकाले जलविद्युत्मा नुवाकोटले ठूलो फड्को मार्न सक्छ । अहिले देशकै प्रसारण प्रणालीको केन्द्र नुवाकोटको रातमाटेमा निर्माण गरिँदै छ । त्यही केन्द्रले अन्तर्राष्ट्रिय व्यापार पनि गर्नेछ । चीनसँग केरुङको बाटो विद्युत् व्यापार गर्ने प्रसारणलाइन निर्माण गर्ने योजना अघि बढेको छ । भारत र बंगलादेशसँगको विद्युत् व्यापारमा पनि यो जिल्लाको योगदान हुन सक्छ । त्यसैले नुवाकोटलाई ऊर्जा प्रणालीको केन्द्र मान्न सकिन्छ ।

सौर्य ऊर्जाका लागि पनि नुवाकोट ज्यादै सम्भावना भएको जिल्ला हो । वायु ऊर्जाको सम्भावना पनि उस्तै छ । जैविक इन्धनमा पनि नुवाकोटले ठूलो उपलब्धि हासिल गर्न सक्ने सम्भावना छ ।

कृषिमा पहाडी जिल्लामध्ये १२ महिना कृषि उपज उत्पादन हुने र निर्यात गर्न सफल हुने हो भने आर्थिक रूपले नुवाकोट धेरै समृद्ध बन्न सक्छ । सबैभन्दा मिठो चाम उत्पादन हुने शिखरबेँसीको आफ्नै महत्व छ । त्यसलाई राष्ट्रिय रूपमा ब्रान्डिङ गरेर कृषि उपजको उत्पादन गरेर व्यापार बढाउन सके नुवाकोटले धेरै नै लाभ लिन सक्नेछ ।

नुवाकोट यातायातको हिसाबले अर्को महत्वपूर्ण जिल्ला हो । चीनबाट नेपाल हुँदै भारत जोड्ने असाध्यै महत्वपूर्ण केरुङ–त्रिशूली–ठोरी मार्ग तयार पार्न सके नुवाकोटका सुन्दर बस्तीहरूको जीवनस्तर व्यापक परिवर्तन गर्न सकिन्छ ।

चर्चामा रहेको केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रूपले अर्को महत्वपूर्ण परियोजना हो । सो रेलमार्ग मात्र नभई टोखा–छहरे ४.५ किलोमिटर सुरुङमार्गले जिल्लालाई भौगोलिक रूपमा दूरी घटाउने मात्र नभई नुवाकोटका उत्पादनको बजारीकरणमा थप सकारात्मक प्रभाव पार्नेछ ।
काठमाडौंमा भएको अव्यवस्थित सहरी बस्तीलाई उत्तरतर्फ विस्तार गर्न सहजता प्रदान गर्नेछ ।

नुवाकोटमा सुरुङमार्ग मात्र खुल्यो भने आर्थिक रूपले महत्वपूर्ण योगदान दिन्छ । अर्को पुष्पलाल मध्यपहाडी लोकमार्गले छोएका ग्रामीण बस्तीका मानिसको मुहारमा चमक छर्ने काम गरेको छ । अहिले भएका राजमार्गलाई नुवाकोटका मार्गहरूले सहयोग गरेका छन् । नेपाल–भारत व्यापारिक सम्बन्ध र नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने काम पनि सडकमार्गले गरेको छ ।

नुवाकोटमा कृषि, ऊर्जा, सहरी विकासलगायतमा असाध्यै धेरै विकास गर्न सक्ने सम्भावना छ । विगतमा सम्भावनाको चर्चा मात्रै हुने गरेकोमा अब त्यसले मूर्तरूप लिने अवस्था बनेको छ । यसलाई अझ सशक्त बनाउँदै लाने हो र समष्टिगत विकासको खाकामा लगानी केन्द्रित गर्ने हो भने छिट्टै नै नुवाकोटको स्वरूप फेरिनेछ ।

(लेखक नुवाकोटको साबिक सुन्दरादेवी गाविस, हालको तादी गाउँपालिका–४ निवासी हुन् ।)