आफ्नै माटो चिन्न नसकेका हामी

  • त्रिशूली प्रवाह
  • ७ बैशाख २०८१, शुक्रबार १२:४८
  • दिनेश आचार्य

केही दिनअघि म थाइल्यान्डको लगानीमा काठमाडौंमा खुलेको पाँचतारे होटेल दुसित प्रिन्सेसमा एउटा मिटिङमा गएको थिएँ । त्यहाँ कफी पिउँदै गर्दा एकजना व्यवसायीले भने, ‘यो कफी त नुवाकोटको उत्पादन हो नि ।’

उनको कुरा सुन्नासाथै मलाई आश्चर्य लाग्यो । काठमाडौंका पाँचतारे होटेलहरूमा मात्रै होइन, विदेशमा पनि निकै चर्चित रहेको ‘नुवा–कफी’को ब्रान्डनेम नुवाकोटको छोटकरी नाम ‘नुवा’ पो रहेछ । नुवा–कफी नुवाकोटको कुन गाउँमा उत्पादन हुन्छ र विश्वचर्चित यो ब्रान्डबारे हामी नुवाकोटे किन बेखबर छौँ भन्ने कुराले नै हाम्रो प्राथमिकता र अवस्था झल्काउँछ ।

हाम्रो जिल्लामा नहुने केही छैन । बाँसको बेर्ना मात्रै लगेर खोल्सीमा फाल्दिने हो भने हामी त्यही बेचेर करोडपति हुन सक्छौँ । तर, हामीले गरेका छैनौँ । सोलुखुम्बुको महिलाले नुवाकोटमा जग्गा किनेर कफीखेती गरेर त्यो कफी संसारभर फिँजाइसक्दा हामीचाहिँ फलानो पार्टी जिन्दावाद भन्दै साथीभाइकै उछित्तो काढिरहेका हुन्छौँ ।

यी त केही उदाहरण मात्र हुन् । यस्ता अनेकन उदाहरण छन्, नुवाकोटमा, तर हामीले चिन्न सकेका छैनौँ । कस्तुरीले आफ्नै नाभीमा रहेको सुगन्ध खोज्दै भौँतिरिरहँदा आफैँ बाघको सिकार बन्न पुग्छ भनेझैँ हामी हाम्रो क्षमता र शक्ति नचिन्दै अर्काको पछि लागेर नै सारा जीवन सक्दै छौँ ।

हाम्रो पत्रकारिताले राजनीतिलाई मूलखाँबो ठान्छ । समाजको कुनै पनि पेसा–व्यवसायमा छिर्न र टिक्न नसकेका फेलरहरू राजनीतिमा आएपछि सर्वज्ञानी हुन्छन् भन्ने भाव पाल्छ । राजनीति गर्नेहरूलाई नै सर्वस्व मान्छ । र, अहिलेको राजनीतिमा कस्ता मान्छेहरू हाबी छन् भन्ने कुरा हाम्रो आँखाअगाडिका केही उदाहरण हेरे प्रस्ट भइहाल्छ । मिडियामा यी र यस्ता विषय नदेखिनु अनि तिनै पत्रु दलका भ्रष्ट कारिन्दाका फोटो मात्र छापिनुजस्तो लाजमर्दो के होला ?

कुवाभन्दा बाहिर पनि संसार छ भन्ने सोचेर हेर्दा धेरै कुरा छर्लङ्ग हुन्छ । हामीसँग हिराको खानी छ । अवसर त कत्ति छ कत्ति । राजधानीको नजिक हुनु वा जोडिनु मात्रै होइन, नेपाल चीनको मुख्य व्यापारिक नाका रसुवागढीको केन्द्रमा पर्नुले मात्रै पनि धेरै हुन सक्छ ।
तर, किन हामी परजीवी भइरहेछौँ ?

यसको जवाफ प्रस्ट छ – हामीले आफ्नो पाखुरामा कहिल्यै भरोसा गरेनौँ । एउटा पार्टीमा एउटा नेताको पछि लागेपछि जीवन सुखमय हुन्छ भन्ने आसमा जीवनभर उसैको दास भइरहेको र केही गर्न नसकेका हजारौँ युवाहरू यत्रतत्र भेटिन्छन् ।

अलिकति आशाका कुरा गरौँ, अहिलेका युवाहरू कुनै पनि पार्टीको दास हुन छाडेका छन् । स्वतन्त्र रूपमा सामाजिक सञ्जालमा आफ्ना विचार लेख्न थालेका छन् । राजनीतिमा सचेत युवा पुस्ताले सही र गलत छुट्याउन थालेका छन । र, सबैभन्दा राम्रो पक्ष भनेको युवाहरू उद्यममा लागिपरेका छन । तर, सानामसिना कामहरूले हाम्रो उन्नति हुँदैन । उनीहरूलाई पनि दलीय राजनीतिले भाँडिरहेको छ ।

कुनै व्यवसाय गर्नका लागि एउटा न एउटा राजनीतिक दलको फेरो नसमाउने हो भने डुबिन्छ भन्ने धारणा व्याप्त छ । जसका कारण उद्यमीहरू पनि बाध्य छन् । जसले गर्दा न उद्यम फस्टायो, न राजनीति फस्टायो ।

नुवाकोटमा उद्योग खोल्न किन मान्छेहरू चासो दिँदैनन् ? किन हामीले लगानी भित्र्याउन सकेका छैनौँ ? किन हाम्रा लगानीकर्ता नुवाकोटमा भन्दा बाहिर नै लगानी गरिरहेका छन् ।

नुवाकोटका व्यवसायीहरूले काठमाडौं मात्र होइन, चितवन, हेटौँडा र भैरहवामा थुप्रै उद्योग चलाइरहेका रहेछन् । तर, किन हामीकहाँ एउटै उद्योग छैन त ? कारण एउटै छ, अति राजनीतीकरण । राजनीतिमा नलागेको कोही व्यक्ति भेट्न मुस्किल पर्छ यहाँ । कुनै राजनीतिक दलको झोले बन्नुको अर्थ सीधै ठग्ने लाइसेन्स पाउनु हो भन्ने मान्यता रहेछ । राजनीतिमा लागेका ती हजारौँ व्यक्तिको जीवनशैली र आयस्रोत हेरौँ त । तिनको आम्दानीले हातमुख जोर्नसमेत नसक्नेहरू संभ्रान्त जीवन बाँचिरहेका छन् ।

हामीकहाँ कसैले लगानी गरेर कुनै उद्यम गर्न लाग्यो भने उसलाई प्रोत्साहन गर्नेभन्दा अप्ठ्यारो पारेर दुःख दिने र ठग्ने, लुट्ने धन्दा सुरु हुन्छ । कुनै उद्यम गर्नका लागि जग्गा नै किन्न सकिन्न । स्थानीय निकायदेखि कुनै पनि सरकारी संयन्त्रले सहयोग गर्दैन । बरु अल्झाएर पैसा झार्ने खेल सुरु हुन्छ । यहीँका मान्छेले कुनै व्यवसाय नगर्ने अनि बाहिरका मान्छे आएर गर्न खोज्दा दुःख दिएर लखेट्ने गर्दा हामी झन्झन् तन्नम हुँदै गइरहेका छौँ ।

विद्युत् र पानी कुनै पनि व्यवसायका लागि चाहिने आधारभूत कुरा हो । हामीकहाँ यो दुवै प्रशस्त छ । हरियाली, सडक र समथर भूमि मात्र होइन कि जनशक्ति पनि यहीँ छ । ठूलो जनघनत्व भएको काठमाडौंको बजार त झनै नजिक छ । अन्तर्राष्ट्रिय नाका र आयातको भूमि नै तीन घण्टाको दूरीमा छ ।

चीनको सीमा रसुवागढीवाट कुनै ट्रकले सामान बोकेर ल्यायो भने पार्किङ वा स्टोर गर्ने ठाउँ विदुरबाहेक अन्यत्र छैन । बोर्डरदेखि रसुवाको विकट हिमाली भूभाग छिचोल्दै गाडी रोक्ने ठाउँ खोज्न विदुर नआई सुखै छैन । भोलि सीमानाका चलेको बेला कम्तीमा एक–दुई सयवटा मालवाहक गाडी पार्किङ गर्नुप¥यो भने विदुरको विकल्प हुन्न । यस्ता विषय हाम्रा लागि ठूलो अवसर हो । तर, ती अवसरलाई छोप्न हामीले कुनै प्रयाससमेत गरेका छैनौँ ।

१० वर्षअघि मैले लेख्न सुरु गरेको पुस्तकमा नुवाकोटका प्रतिभाहरूको विषयमा एउटा च्याप्टर थियो । तर, कम्प्युटर क्र्यास भएर रिकभर नभएसँगै मेरो पुस्तक गर्भमै हरायो । त्यसबेला मैले नुवाकोटमा जन्मेर देश–विदेशमा ठूलो काम गरिरहेका नुवाकोटेहरूको परिचय र योगदान समेट्ने कामको थालनी गरेको थिएँ । जब कि त्यस्ता नामहरू अनेकन थिए, जो अहिलेका नुवाकोटेहरूले आजीवन सुनेका थिएनन् ।
दुई वर्षअघि सशस्त्र प्रहरीको आइजिपी पदका लागि प्रतिस्पर्धामा रहेको दुईजना एआइजिपीहरू दुवैजना नुवाकोटका थिए । तीमध्ये शिवपुरीका पुष्पराम केसी आइजिपी नियुक्त भए भने विदुरकै रामशरण पौडेल एआइजीवाटै रिटायर्ड भए ।

यी दुईजनाको नाम मैले किन उल्लेख गरेको भने अहिले इन्टरनेट र सामाजिक सञ्जालले जोडेको युगमा पनि यी दुई नाम आमनुवाकोटवासीले चिन्न सकेका छैनन् । आइजिपी पदमा छोटो समय रहँदा निकै राम्रो काम गरेका पुष्पराम केसी पछिल्लो समय कृषिको बजारीकरणका व्यावसायिक काम गरिरहेको खाद्य बैंक लिमिटेडको सञ्चालनमा व्यस्त छन् । तर, सायदै धेरै कमलाई मात्र थाहा छ उनी नुवाकोटका एक गौरवलायक पात्र हुन् भनेर ।

हामी सानो छँदा आइजिपी भएका डिबी लामाका किस्साहरू सुन्दै हुर्केका थियौँ । कानुनका लागि आफ्नै पितालाई हथकडी लगाएका उनका कथा धेरैपछि मात्र प्रत्यक्ष सुन्न पाइयो । नुवाकोटकै वैज्ञानिक छन् । विश्वरेकर्ड राख्नेहरू पनि छन् । संसार प्रसिद्ध कम्पनीमा उपल्लो तहका पुगेकाहरू धेरै छन् । तर, हामीले तिनै महत र केसीका परिवारका दुईपैसेलाई मात्र छलफलका विषय बनायौँ । हाम्रो मिडिया यसैमा चुक्यो ।
अब ढिला गर्नुहुँदैन । हामीले उद्यम, विकास र सकारात्मक ऊर्जाका लागि मसी खर्चनुपर्छ । काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ । मिडिया भनेको अप्ठ्यारो पार्ने र ठग्ने माध्यम हो भन्ने भाष्य परिवर्तन गर्नुपर्छ । पहिचान नै बदल्नुपर्ने भइसकेको छ ।

२५ वर्षअघि त्रिशूली प्रवाह सुरु गर्दा म स्वयम् यसमा जोडिएको थिएँ । १० वर्षसम्म मैले यो पत्रिकालाई हुर्काउन निकै मिहिनेतपूर्वक सहयोग गरेकै हो । आज १५ वर्ष भइसकेछ, छाडेको । त्यतिबेला जिल्लामा पत्रिका भनेको गोरखापत्र मात्रै हो भन्ने युगमा जिल्लामा गोरखापत्रकै रिपोर्टर भएको मैले सरकारी मिडिया लेख्न नसक्ने र नछापिने कुराहरू निर्धक्क यसै पत्रिका लेख्थेँ । निकै चर्चित पनि थियो । त्यसबेला त्रिशूली प्रवाहको इज्जत र प्रतिष्ठा अहिलेभन्दा निकै माथि थियो । अब फरक ढङ्गले फरक विषयलाई उठाएर नयाँ उचाइ कायम गर्न शुभकामना दिन्छु । त्रिशूली प्रवाह, त्रिशूलीझैँ निरन्तर कञ्चन बगिरहोस् ।

(लामो समय आर्थिक पत्रकारिता गर्नुभएका आचार्य हाल नेपालकै चर्चित

मर्चेन्ट बैंकर कम्पनी, एलिट क्यापिटल लिमिटेडका सिइओ हुनुहुन्छ ।)