दुधकुण्डमा पर्यटन पूर्वाधार अभाव

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १४:२३
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने प्रकृतिबाट निर्मित अनगिन्ती स्थान र स्थल हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परिरहेको छ । जिल्लाको गोसाइँकुण्ड र लाङटाङ क्षेत्रबाहेक अन्य स्थलको प्रचार–प्रसार हुन सकेको छैन । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रहेको हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे भन्दा माथि खैदीबाट दुई दिनको पैदल यात्रापछि पुग्ने पेदाङ्छो अर्थात् दुधकुण्ड उचित प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।

सामुद्रिक सतहदेखि करिब चार हजार आठ सय २० मिटरको उचाइमा रहेको नेपाल–चीनको सिमानानजिकै दुधकुण्ड रहेको छ । टिमुरेका झाँक्री कामी तामाङका अनुसार उक्त कुण्ड करिब सय वर्षअगाडि लामा–झाँक्रीहरूले पत्ता लगाएका हुन् । तामाङ भाषामा नामकरण गरिएको पेदाङ्छो अर्थ फूलको बोट र तोर्मा अर्थात् सोल्मोजस्तै आकृति देखिने कुण्डमा हेर्दा दुधजस्तो देख्ने हुनाले दुधकुण्ड भनिएको हो । रसुवामा रहेका एक सय आठ कुण्डमध्येको दुधकुण्ड एक हो । स्थानीयवासी गोसाइँकुण्ड, पार्वतीकुण्ड र दुधकुण्डलाई दिदीबहिनी भएको बताउँछन् । पर्यटकीय सम्भावना हुँदाहुँदै पनि प्रचार–प्रसारको कमीले पेदाङ्छो ओझेलमा परेको छ । गोसाइँकुण्ड टिमुरेका झाँक्री कामी तामाङले उक्त कुण्ड करिब सय वर्षअघि झाँक्री–लामा गुरुहरूले पत्ता लगाएको जानकारी दिए । झाँक्री बुझुङ तामाङका अनुसार कुण्डमा भाकल राखेर पूजा गरे मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । आजभन्दा बाह्र वर्ष पहिलेसम्म जनैपूर्णिमाको दिन ठूलो मेला लाग्ने यस कुण्डमा पितृहरूको सम्झनामा बत्ती बालेर स्मरण र प्रार्थना गर्दथे । झाँक्री, लामा, तीर्थयात्रीको ठूलो भिड लाग्दथ्यो । युवा–युवतीले तामाङ मानेनाचदेखि तामाङ गीत गाएर रमाइलो गर्दथे ।

ऐतिहासिक महत्वको थलो पेदाङ्छोलाई संरक्षण एवम् पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको ध्यानले चासो राखे पनि प्रदेश सरकारले चासो नदिनाले योजनाको बजेट निकासी नभएपछि अन्योलमा परेको छ । सत्ययुगमा भगवान् शिव, पार्वती र बहिनी दुधसँगै आएकाले पार्वती महिनावारी भएको र शिव भगवान् र बहिनीसँगै बस्न नमिल्ने भएपछि शिव गोसाइँकुण्डतिर लागे । पार्वतीचाहिँ अहिलेको पार्वतीकुण्डतिर लागिन् र बहिनी दुधकुण्डतिर लागेर आ–आफ्नो ठाउँ बनाएर बसेको मान्यता रहिआएको छ ।

रसुवा साँच्चै नै धार्मिक रूपले महत्वपूर्ण जिल्ला हो । रसुवा र नुवाकोटको सिमाना बेत्रावतीदेखि नै धार्मिक ठाउँ उत्तरगयाधाम, कालिका मन्दिर, ठाँडेमा अवस्थित सानो डुप्च्यो, भूमेथान, छङ्गमदेवी, गोसाइँकुण्डलगायतका थुप्रै ठाउँको अवलोकन गर्न सकिन्छ । विभिन्न घ्याङ, गुम्बा र धर्म, संस्कृतिको अध्ययन र जानकारी लिन सकिने रसुवा भगवान् नै भगवान्ले वास गरेको जिल्ला हो । यसै कारणले पनि धार्मिक तथा पथपदर्शकका रूपमा रसुवा आउने आन्तरिक तथा बाह्य पर्यटक बर्सेनि बढिरहेका छन् । बाटो अप्ठ्यारो र खान, बस्नको असुविधा भएकाले दुधकुण्डमा जोकोही पुग्न सक्दैनन् । आँट गरेर जाने हो भने हप्ता–१० दिनको हाइकिङ गर्न उपयुुक्त हुने सल्लाह लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रसुवामा तैनाथ विष्णुदल गणका गणपति विक्रम थापाको छ । करिब १० जनाको ग्रुप बनाएर सबै जोहो गरेर जाँदा उपयुक्त हुने उनको सुझाव छ । धार्मिक शक्तिको केन्द्र्र रहेको दुधकुण्ड क्षेत्रमा लेकाली धुप, विभिन्न प्रजातिका सुगन्धित फूल पाइन्छन् । कुण्ड पुग्दा स्वर्ग गएजत्तिकै अनुुभव हुने त्यहाँ पुग्नेहरू बताउँछन् । एकपटक गोसाइँकुण्ड गएर फर्केपछि पार्वतीकुण्ड र दुधकुण्डमा गोसाइँकुण्डको जल चढाउनुपर्ने धार्मिक मान्यता रहेको स्याफ्रुबेँसीका कन्र्याल लामाले बताए । ‘दुधजस्तै देखिने यो कुण्डमा भाकल जे गरे त्यही पुग्ने भनेर माग्छन् र पुग्छ पनि,’ शुद्ध मनले माग्नुपर्ने टिमुरेका स्थानीय समाजसेवी कामीनुर्पु तामाङले बताए ।

तामाङ बाहुल्य रहेको रसुवा अनेकतामा एकता भएको जिल्ला हो । रसुवा धर्म–संस्कृतिलगायत प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ । रेडपाण्डा, हिउँचितुवा, मृगलगायत थुप्रै चराचुरुङ्गी, जनावर देख्न र हेर्न पाइन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले पनि वन, वनस्पति र जैविक विविधताले समेत भरिपूर्ण छ । यो दुधकुण्ड धेरै मानिसलाई थाहा छैन, टिमुरेका स्थानीयलाई थाहा छ र उनीहरू टिम मिलाएर एक–दुई वर्षको फरकमा पुग्ने गरेका छन् । यस ठाउँमा नाम चलेका व्यक्तित्वलाई लान पाए बल्ल देशदेखि विदेशसम्म चर्चा–परिचर्चा हुने टिमुरेका स्थानीय समाजसेवी मीनाक्षी मगर बताउँछिन् । एक वर्ष पहिले मीनाक्षी मगर र उनका श्रीमान् नीराजन श्रेष्ठको परिवार पनि दुधकुण्ड पुगेको र त्यहाँ प्रचार–प्रसार गर्नुपर्छ भनेर आफूहरू पनि लागिपरेको त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।