विदेशी नेपाली नागरिकता लिनेभन्दा त्याग्ने बढी

  • त्रिशूली प्रवाह
  • ३ जेष्ठ २०८१, बिहीबार १२:०३

विदुर, अस्थिर राजनीतिले गर्दा विदेश पलायन हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । विदेश गएपछि नेपाल फर्कन नचाहने नेपालीको सङ्ख्या लामै रहेको छ । विदेशमा सीप सिकेर र पैसा आर्जन गरेर आउनेको सङ्ख्या न्यून रहेको नुवाकोटमा गैरआवासीय नागरिकता लिनेभन्दा नेपाली नागरिकता त्याग्नेको सङ्ख्या बढिरहेको छ ।

विदेशमा स्थायी बसोवास गरिरहेकामध्ये नागरिकता त्याग्नेको सङ्ख्या आ.व. ०८०/८१ मा मात्र नुवाकोटमा ४१ रहेको छ । ०६८ सालदेखि अभिलेख राख्नु सुरु गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटसँग नागरिकता त्याग्नेको सङ्ख्या १४ वर्षमा ७३ पुगेको छ । नुवाकोटबाट नागरिकता लिएकामध्ये आ.व. ०६८/६९ देखि आ.व. ०७९/८० सम्म ३२ जना र आ.व. ०८०/८१ को वैशाखसम्म मात्र ४१ जनाले नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार हालसम्म नागरिकता त्याग्नेमा ४१ पुरुष र ३२ जना महिला रहेका छन् । सरकारले आ.व. ०८०/८१ देखि विदेशमा स्थायी बसोवास गरिरहेकालाई गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरेपछि ०८० वैशाख मसान्तसम्म ४१ जनाले गैरआवासीय नेपाली नागरिकता जिल्लाबाट लिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । विभिन्न देशको नियम, कानुन नागरिकका लागि फरक–फरक भएकाले विदेशमा स्थायी रूपमा बस्नेले पहिला नागरिकता लिएको देशको नागरिकता त्याग्नुपर्ने कानुनी प्रावधानअनुसार नागरिकता त्याग्नेको सङ्ख्या बढेको उनको अनुमान छ । कतिपय देशमा पहिलाको नागरिकतालाई महत्व नदिने भएकाले गर्दा विदेशमा रहेका धेरै नेपालीले दुवै देशको नागरिकता लिइरहेका पनि उनले बताए ।

नेपाली नागरिकता त्याग्ने र गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या महिलाको भन्दा पुरुषको बढी छ । नेपालमा बढ्दो बेरोजगार, राजनीतिक अस्थिरता तथा भ्रष्टाचार बेथिति, शिक्षा, स्वास्थ्य महँगो भएका कारण विदेश पुगेका युवा–युवती उतै बस्ने गरेको नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा जिल्ला नगर परिषद्का उपसभापति ताराबहादुर कार्कीले बताए । देशमा अझै गरिखाने अवस्था नरहेकाले धेरै शिक्षित युवा–युवती विदेश जान तम्सिरहेकोसमेत उनले बताए । सरकारले नागरिकका लागि शिक्षा, स्वास्थ्यको निःशुल्क गरेर काम गरिखाने अवस्था सिर्जना गर्नुपर्ने उनको धारणा रहेको छ । जिल्लाको १२ वटै स्थानीय तहबाट युवा/युवती रोजगार र अध्ययनका लागि भन्दै बिदेसिने क्रम बढ्दो छ । गाउँघर युवाविहीन अवस्थामा रहेको छ । सरकारले आफ्नो नागरिकको शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारको ग्यारेन्टी गर्न नसक्नु विदेश पलायनको प्रमुख कारण रहेको विदुर नगरपालिका-९ नुवाकोटबाट १५ वर्षअघि बेलायत पुगेका युवा कपिल रिमालको भनाइ छ । उनले अगाडि भने – भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य रोजगारका लागि यस्तै अवस्था रहिरहे अझै धेरै युवा बिदेसिन बाध्य हुनेछन्, अब, युवा शक्ति स्वदेशै रमाउने राज्यको नीति बनाइनुपर्छ ।

नुवाकोटबाट नागरिकता लिएका अधिकांश नागरिक हाल अमेरिका, क्यानडा, बेलायत, हङकङ, बेल्जियम, युगान्डा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, फिनल्यान्ड, जापान, न्युजिल्यान्ड, पोर्चुगल, स्पेन, इटाली, केन्यामा बस्दै आएका छन् । डिभी, पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग विवाह गरी बसेकाले पनि नागरिकता त्याग गर्ने गरेको नुवाकोटका प्रजिअ अधिकारीको भनाइ छ । प्रजिअ अधिकारीका अनुसार मुख्यतः गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिकता लिन र नेपालमै नबस्ने लक्ष्य लिएर नागरिकता परित्याग गर्ने बढेका हुन् । सबैभन्दा बढी नागरिकता त्याग गर्नेको सङ्ख्या गत वर्षको असोजदेखि धेरै छ । त्यसो त, विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने हुन्छ । यसरी नागरिकता त्याग गर्नेमध्ये अमेरिका, अस्ट्रेलिया, बेलायत र युरोप पुग्ने धेरै रहेको अनुमान नागरिक अगुवा इन्द्रबहादुर पण्डितले बताए । तथ्याङ्कअनुसार अमेरिका, अस्ट्रेलिया, हङकङ, बेलायत, कोरिया, जर्मन, न्युजिल्याण्ड, ताइवान, मकाउ, भारत, सिंगापुर, मेक्सिकोलगायतका देशमा स्थायी बसोवास गरी उतैको नागरिकता लिनेको सङ्ख्या बढिरहेको छ ।