मलेखु–तिप्लिङ–स्याफ्रुबेँसी वैकल्पिक मार्ग र स्तरोन्नति गर्न माग

  • त्रिशूली प्रवाह
  • ३ जेष्ठ २०८१, बिहीबार १२:५४

उत्तरी धादिङको तिप्लिङखण्ड ८० किलोमिटर छ । तिप्लिङदेखि रसुवाको सिमाना
सोमताङसम्म २७ र त्यहाँबाट स्याफ्रुबेँसी हुँदै टिमुरेसम्म ४७ किलोमिटर दूरी छ ।

धादिङबेँसी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जनप्रतिनिधिले नुवाकोट जिल्ला भएर पासाङल्हामु राजमार्गको बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक सडक निर्माणको माग गरेका छन् । धादिङको मलेखु–तिप्लिङ–स्याफ्रुबेँसी वैकल्पिक मार्ग बनाउन र स्तरोन्नति गर्न सांसद बुद्धिमान तामाङको प्रतिनिधिमण्डलले गत हप्ता अर्थमन्त्री वर्षमान पुनसँग गरेको हो ।

राप्रपा उपाध्यक्ष तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनलाई भेटी गल्छी धुन्चे–स्याफ्रुबेँसीको वैकल्पिक मार्गका रूपमा धादिङको मलेखु, रुबी भ्याली हुँदै स्याफ्रुबेँसीबाट केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । मलेखु हुँदै केरुङसम्म साधारण मार्ग खोल्ने काम सकिएको जनाउँदै तामाङ नेतृत्वको टोलीले उक्त बाटाको स्तरोन्नतिका लागि आगामी बजेटमा रकम विनियोजन गर्न माग ग¥यो । धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी हुँदै केरुङ सडक अवरुद्ध भए विकल्प खुला हुने राप्रपाको भनाइ छ । त्यसले उत्तर–दक्षिण जोड्ने छिटो र छरितो सडक पनि हुने जनाउँदै तामाङले भने, ‘ट्रयाक खोल्ने काम सकिएकाले त्यसको स्तरोन्नतिमा ध्यान दिन सके वैकल्पिक मार्ग मात्र होइन, दक्षिणी छिमेकी भारत जोड्ने छोटो अन्तर्राष्ट्रिय मार्ग पनि हुनेछ ।’ यो सडक काठमाडौंलाई चीनसँग जोड्ने मात्र नभएर नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो हुने जिकिर उनले गरे ।

पृथ्वी राजमार्गअन्तर्गत मलेखुबाट धादिङबेँसीसम्म १८ किलोमिटर दूरी छ भने त्यहाँबाट उत्तरी धादिङको तिप्लिङखण्ड ८० किलोमिटर छ । तिप्लिङदेखि रसुवाको सिमाना सोमताङसम्म २७ र त्यहाँबाट स्याफ्रुबेँसी हुँदै टिमुरेसम्म ४७ किलोमिटर छ । राप्रपाका सांसद ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, विना लामा, विना जैसवाल र अनिसा नेपालीसहितको भेटमा अर्थमन्त्री पुनले धादिङको मलेखुबाट रसुवाको स्याफ्रुबेँसी हुँदै रसुवागढी नाका जोड्ने कच्ची सडक बनिसकेका अवस्थामा त्यसको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्दै वैकल्पिक मार्गका रूपमा विकास गर्न सरकारले आवश्यक योजना अघि सार्ने आश्वासन दिएका छन् । रसुवागढी–केरुङ ०७९ मङ्सिर १५ गतेदेखि द्विपक्षीय नाकाका रूपमा सञ्चालनमा आएको थियो । यसअघि सो नाकाबाट नेपाली र चिनियाँ वैधानिक राहदानी र प्रवेशाज्ञा लिएर आवतजावत गर्न सक्थे । अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण भएसँगै रसुवागढी–केरुङबाट तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् । बेत्रावतीदेखि कालिकास्थान–स्याफ्रुबेँसी–धुन्चे उकालो र धुन्चेदेखि स्याफ्रुबेँसीसम्मको ओरालो ३५ घुम्ती छन् भने राम्चे र मूलखर्कमा जाने गरेको पहिरोले बाटो बेलाबेला अवरोध हुने गर्छ । नयाँ बनेको बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडक ३१ किलोमिटर छ । त्रिशूलीको किनारैकिनार जाने बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी खण्डमा ठूला घुम्ती छैनन् ।

त्यस्तै, राप्रपाले आगामी आर्थिक वर्षको बजेट जनमुखी ल्याउन र कोरोना महामारीपछिको आर्थिक मन्दीको कारण सङ्कटमा परेका उद्योग, कलकारखाना तथा व्यापारलाई पुनः जीवन दिने गरी कार्यक्रम ल्याउन पनि सुझाएको तामाङले बताए ।