नगर क्षेत्रबाट बस विस्थापित

छहरे–टोखा सडक विद्युतीय माइक्रोमय

  • त्रिशूली प्रवाह
  • ३ जेष्ठ २०८१, बिहीबार १५:२०

विदुर, नुवाकोटमा पछिल्लो समय विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दो छ । सरकारले पनि विद्युतीय गाडी प्रयोग गर्नेलाई प्रोत्साहन र थप सुविधा दिन थालेपछि विद्युतीय गाडीको सङ्ख्या दिनप्रतिदिन जिल्लामा वृद्धि भइरहेको छ । विद्युतीय गाडीको सङ्ख्या वृद्धिसँगै जिल्लाको अधिकांश छोटो दूरीका स्थानमा विद्युतीय माइक्रो गुड्न थालेपछि ठूला र मझौला सार्वजनिक सवारीसाधन बस, मिनीबस ग्रामीण रूटमा मात्र सीमित हुन पुगेका छन् ।

डिजेल तथा पेट्रोलबाट चल्ने गाडी मात्र चल्ने काठमाडौं, नुवाकोट र रसुवा जिल्लाको छोटो दूरीका सडकमा अहिले विद्युतीय गाडी चल्न सुरु भएपछि यात्रुको आकर्षण पनि विद्युतीय गाडीप्रति बढेको छ । गत असोजदेखि छहरे–टोखा हुँदै काठमाडौं–त्रिशूली विद्युतीय माइक्रो सञ्चालन सुरु भएको थियो । नमस्ते पासाङल्हामु यातायात प्रालि र नेपाल माइक्रो बस कम्पनी प्रालिका ३३ वटा तथा टिमुरे यातायात प्रालिका ३३ माइक्रो अहिले काठमाडौं–त्रिशूली सञ्चालनमा रहेका छन् । विदुर नगरभित्रका कागुने, डेउडी, बगुवा, खड्गभञ्ज्याङ, तुप्चे–सोले, शान्तिबजार, बेत्रावती, गेर्खु र रसुवाको कालिकास्थानसम्म काठमाडौंबाट छहरे–टोखा हुँदै त्रिशूली र काठमाडौंबाट गल्छी हुँदै त्रिशूलीसम्म विद्युतीय माइक्रो सञ्चालन हुँदा यो रुटमा विगतमा सञ्चालन भएका बस/मिनीबस, माइक्रो विस्थापित भएका हुन् । विद्युतीय गाडी डिजेल तथा पेट्रोल गाडीको तुलनामा भाडा पनि कम लाग्ने भएका कारण यात्रा गर्न सहज र छिटो हुने गरेको काठमाडौंबाट नियमित त्रिशूली आवत–जावत गरिरहेकी यात्रु एवम् संविधानसभा सदस्य राज्यलक्ष्मी पाँडे श्रेष्ठले बताइन् ।

बिजुलीबाट चल्ने गाडीमा पहाडको बाटोमा प्रतिकिलोमिटर ६ रुपैयाँ र तराईको बाटोमा प्रतिकिलोमिटर तीन रुपैयाँको दरले भाडा निर्धारण गरिएको भए पनि काठमाडौं–टोखा–छहरे–त्रिशूली र काठमाडौं–गल्छी–त्रिशूली रुटमा यो भाडादर लागू नभएको नागरिक समाजका अध्यक्ष बद्री तिवारीले बताए । विद्युतीय गाडीको भाडादर बागमती प्रदेश सरकारले निर्धारण गरेअनुसार नभएको उक्त भाडादर कार्यान्वयन गराउन नुवाकोटको प्रहरी प्रशासनले नसकेको आरोप उनले लगाए । गत चैत ३० गते प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको सार्वजनिक सवारीसाधनको भाडादर कार्यान्वयन गराउन यातायात व्यवसायीसहितको स्थानीय पालिकाका प्रमुख/प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला ट्राफिक कार्यालय र सडक डिभिजन कार्यालयका प्रमुख प्रतिनिधि सम्मिलित बैठकले बागमती प्रदेश सरकारको प्रदेश राजपत्र भाग–३ मा प्रकाशित भाडालाई रुटमा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको थियो ।

जिल्लाको अधिकांश छोटो दूरीको गाउँगाउँसम्म विद्युतीय माइक्रो सञ्चालन हुन थालेपछि यात्रुको पहिलो रोजाइमा विद्युतीय माइक्रो परेको छ । छहरे–टोखा हुँदै काठमाडौं र त्रिशूली आवत–जावत दुई घण्टामा हुन थालेपछि यात्रुलाई सहज र समय बचत भएको छ । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले विद्युतीय माइक्रो बसको माग ग्रामीण रुटमा भइरहे पनि चार्जिङ स्टेसनको सुविधा नभएकाले नगरपालिकाबाहिर जान अहिले नसक्ने बताए । नमस्ते पासाङल्हामु यातायात प्रालिका ईश्वरलाल श्रेष्ठले पनि चार्जिङ स्टेसनको असुविधाले गर्दा देउराली, कालिकास्थान, फलाटे रुटमा विद्युतीय माइक्रोको माग भए पनि सञ्चालन गर्न नसकिएको बताए । सामरी र फलाटे रुटमा छिट्टै विद्युतीय माइक्रो सञ्चालन गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए । विद्युतीय गाडीमा यात्रा गर्दा डिजेल, मोबिलको गन्ध पनि नआउने र बान्ता हुने सम्भावना पनि कम हुने यात्रु सुशीला बास्तोलाको भनाइ छ । विद्युतीय माइक्रो गुड्न थालेपछि जिल्लामा कार्यरत कर्मचारीलाई बिदाको समयमा आवत–जावत गर्न सुविधा पुगेको छ । कर्मचारीलाई कार्यालय बिदापछि शुक्रबार घर जान र आइतबार कार्यालय समयमा नै आउन सहज भएको छ । अहिले विद्युतीय माइक्रोबाहेक साना विद्युतीय कारको सङ्ख्या पनि जिल्लामा बढिरहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।

विद्युतीय कार एक वर्षदेखि चढिरहेका उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारीसाधन भरपर्दो र आर्थिक मितव्ययी रहेको प्रतिक्रिया दिए । एक वर्षदेखि विद्युतीय कार गुडाइरहेका श्रेष्ठका अनुसार एक वर्ष चलाउँदा १२ हजार किलोमिटर चलेको, चार्जिङ गर्दा १२ सय रुपैयाँको मात्र विद्युत् खर्च भएको, तीनवटा सर्भिसिङ गर्दा ६ हजार रुपैयाँ खर्च लागेकाले डिजेल, पेट्रोलबाट चल्ने कारभन्दा खर्च न्यून आउनेसमेत उनले बताए । सुरुमा सवारीसाधन खरिद गर्दा महङ्गो भए पनि कार चढ्दा र यसमा हुने कम खर्चको कारण सन्तुष्टि मिल्ने उनी बताउँछन् । तर, विद्युतीय सवारीसाधन लामो दूरीमा आवत–जावत गर्दा चार्जिङ स्टेसनको समस्या पर्ने गरेको उनको तितो अनुभव छ ।