जिससको बैठकमा धुन्चे-गोसाइँकुण्ड केबलकारको चर्चा

  • त्रिशूली प्रवाह
  • १० जेष्ठ २०८१, बिहीबार ०८:०५
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा रहेको धार्मिक महत्वको प्रकृतिबाट निर्मित एक सय आठ कुण्डमध्येको सबैभन्दा ठूलो कुण्ड गोसाइँकुण्डमा केबलकार निर्माण गर्ने विगतदेखिको प्रस्ताव फेरि एकपटक जिल्ला समन्वय समिति (जिसस) रसुवाले गरेको छ । विगतदेखि नै धुन्चेबाट गोसाइँकुण्ड र नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको दुप्चेश्वरबाट गोसाइँकुण्ड केबलकार निर्माणका लागि प्रारम्भिक सर्भे भए पनि लाङटाङ राष्ट्रिय निकुञ्जले स्वीकृति नदिँदा विस्तृत अध्ययन हुन सकेको छैन ।

केबलकार निर्माणको चर्चा सेलाउँदै गएपछि जेठ २ देखि ३ गतेसम्म सदारमुकाम धुन्चेमा सम्पन्न जिल्ला समन्वय समितिको जिल्लासभा तथा समीक्षा बैठकमा केबलकार निर्माणको चर्चा फेरि चुलिएको छ । जिल्लासभाको उद्घाटन गर्न धुन्चे आएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुन्चेबाट गोसाइँकुण्ड केबलकर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि केबलकार निर्माणको चर्चा फेरी सुरु भएको छ । आर्थिक वर्ष ०८०÷८१ को चैत मसान्तसम्मको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले धार्मिक पर्यटकीयस्थल गोसाइँकुण्डमा केबलकार बनेपछि धुन्चेबजारमा आर्थिक चलायमान हुने बताए । सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर केबलकार बनाउन प्रस्ताव पठाउन जिससलाई उनले आग्रह गरे । उक्त बैठकमा सहभागी सबैले गोसाइँकुण्डमा केबलकार निर्माणका लागि सरकारको समन्वय र प्रतिबद्धताको माग गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको सभापतित्वमा सुरु भएको कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, नेकपा एमालेका जिल्ला अध्यक्ष जनार्दन ढकाल, संविधानसभा सदस्य छेवाङ तेन्जिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष मानबहादुर तामाङ, उत्तरगया नगरपालिकाका उपाध्यक्ष चमेली गुरुङलगायतले रसुवालीको समृद्धि जलस्रोत र पर्यटनको विकास र विस्तारबिना असम्भव रहेको धारणा राखेका थिए । लाङटाङ राष्ट्रिय निकुञ्जका कारण जिल्लामा सडक निर्माण, विद्युत् उत्पादन र उद्योग खोल्न झन्झटिलो प्रक्रिया रहेकाले निकुञ्जको नियमावली समय–सापेक्ष बनाउन तीन तहको सरकारले काम गर्नुपर्ने धारणा कार्यक्रमका अतिथिले राखेका थिए ।