+
Search

ताजा अपडेट +

पपुलर +

प्रमलाई १६ महिनामा चारपटक विश्वासको मत

प्रमलाई १६ महिनामा चारपटक विश्वासको मत
प्रम प्रचण्ड पदभार ग्रहण काठमाडौँ, ११ पुस नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा । तस्बिरः प्रदीपराज वन्त÷रासस
त्रिशूली प्रवाह
१ साल अगाडी

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक सोमबार संसद्बाट पाएको विश्वासको मत अन्तिम नहुन सक्छ । काङ्ग्रेसको अवरोधबीच तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट डेढ वर्षका अवधिमा फेरि विश्वासको मत लिए पनि दलहरू फुट्ने र जुट्ने क्रम बढिरहने मुलुकमा कुनै दलले अविश्वास पेस गर्ना साथ विश्वासको मत लिनुपर्ने नैतिक बाध्यताले सरकार स्थिर हुनचाहिँ पाउँदैन ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै अध्यक्ष उपेन्द्र यादव पक्षले भर्खरै सरकार छाडेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले प्रक्रिया अगाडि बढाइदिन संसद्मा पत्राचार गरेका थिए । । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । जसपा नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रतिनिधिसभामा भएको पछिल्लो मतदानमा प्रधानमन्त्री दाहालले एक सय ५७ मत पाए । बहुमतका लागि उनलाई एक सय ३८ मत आवश्यक थियो । मतदानमा सहभागी एक सय ५८ मध्ये नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल मात्र तटस्थ बसे ।
प्रधानमन्त्रीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले मत दिएका थिए । नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायत मतदान प्रक्रियामा सामेल भएनन् । विपक्षी दलले मतदान बहिष्कार गरेको अवस्थामा प्रधानमन्त्रीले बहुमत जुटाएका हुन् । ०७९ को निर्वाचनपछि पहिलोपटक विश्वासको मत लिँदा प्रधानमन्त्रीले मतदानमा सहभागी भएका दुईजनाबाहेक सबैको मत पाएका थिए । ०७९ पुस २६ मा प्रतिनिधिसभामा उनले दुई सय ६८ मत पाएका थिए । काङ्ग्रेस, एमालेलगायत सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए, तर राष्ट्रपति निर्वाचनका दौरानमा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडिएपछि प्रधानमन्त्रीले दोस्रोपटक ०७९ चैत ६ मा विश्वासको मत लिनुपयो । उनले दोस्रोपटक एक सय ७२ मत पाएका थिए । एक वर्षको सत्ता सहयात्रापछि प्रधानमन्त्री पुनः एमालेसँग सहकार्य गर्न आइपुगे ।

गठबन्धनमा विग्रह आएसँगै प्रधानमन्त्रीले तेस्रोपटक ०८० फागुन ३० मा विश्वासको मत लिएका थिए । त्यसबेला उनले एक सय ५७ मत पाएका थिए । चौथोपटक सोमबारको मतदानमा पनि उनले पछिल्लो मत नै पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्नँ भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा एक सय ५८ सांसद उपस्थित थिए । ०७९ मङ्सिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा ०७९ पुस १० गते सरकार गठन भएको थियो । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको काङ्ग्रेससमेतले दाहाललाई विश्वासको मत दिएको थियो । दाहालले राखेको पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला उनका विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका सुवालले मात्रै मत राखेका थिए । राष्ट्रपति निर्वाचनसँगै दाहालले ०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर काङ्ग्रेससँग सत्तायात्रा सुरु गरे । परिणामस्वरूप काङ्ग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलको शीतलनिवास यात्रा सुरु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह