
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक सोमबार संसद्बाट पाएको विश्वासको मत अन्तिम नहुन सक्छ । काङ्ग्रेसको अवरोधबीच तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट डेढ वर्षका अवधिमा फेरि विश्वासको मत लिए पनि दलहरू फुट्ने र जुट्ने क्रम बढिरहने मुलुकमा कुनै दलले अविश्वास पेस गर्ना साथ विश्वासको मत लिनुपर्ने नैतिक बाध्यताले सरकार स्थिर हुनचाहिँ पाउँदैन ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै अध्यक्ष उपेन्द्र यादव पक्षले भर्खरै सरकार छाडेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले प्रक्रिया अगाडि बढाइदिन संसद्मा पत्राचार गरेका थिए । । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । जसपा नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रतिनिधिसभामा भएको पछिल्लो मतदानमा प्रधानमन्त्री दाहालले एक सय ५७ मत पाए । बहुमतका लागि उनलाई एक सय ३८ मत आवश्यक थियो । मतदानमा सहभागी एक सय ५८ मध्ये नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल मात्र तटस्थ बसे ।
प्रधानमन्त्रीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले मत दिएका थिए । नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायत मतदान प्रक्रियामा सामेल भएनन् । विपक्षी दलले मतदान बहिष्कार गरेको अवस्थामा प्रधानमन्त्रीले बहुमत जुटाएका हुन् । ०७९ को निर्वाचनपछि पहिलोपटक विश्वासको मत लिँदा प्रधानमन्त्रीले मतदानमा सहभागी भएका दुईजनाबाहेक सबैको मत पाएका थिए । ०७९ पुस २६ मा प्रतिनिधिसभामा उनले दुई सय ६८ मत पाएका थिए । काङ्ग्रेस, एमालेलगायत सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए, तर राष्ट्रपति निर्वाचनका दौरानमा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडिएपछि प्रधानमन्त्रीले दोस्रोपटक ०७९ चैत ६ मा विश्वासको मत लिनुपयो । उनले दोस्रोपटक एक सय ७२ मत पाएका थिए । एक वर्षको सत्ता सहयात्रापछि प्रधानमन्त्री पुनः एमालेसँग सहकार्य गर्न आइपुगे ।
गठबन्धनमा विग्रह आएसँगै प्रधानमन्त्रीले तेस्रोपटक ०८० फागुन ३० मा विश्वासको मत लिएका थिए । त्यसबेला उनले एक सय ५७ मत पाएका थिए । चौथोपटक सोमबारको मतदानमा पनि उनले पछिल्लो मत नै पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्नँ भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा एक सय ५८ सांसद उपस्थित थिए । ०७९ मङ्सिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा ०७९ पुस १० गते सरकार गठन भएको थियो । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको काङ्ग्रेससमेतले दाहाललाई विश्वासको मत दिएको थियो । दाहालले राखेको पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला उनका विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका सुवालले मात्रै मत राखेका थिए । राष्ट्रपति निर्वाचनसँगै दाहालले ०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर काङ्ग्रेससँग सत्तायात्रा सुरु गरे । परिणामस्वरूप काङ्ग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलको शीतलनिवास यात्रा सुरु भयो ।