- सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० को सिमानामा अवस्थित बेत्रावती ऐतिहासिक–धार्मिक महत्वपूर्ण स्थान रहे पनि आन्तरिक पर्यटक न्यून आउने गर्छन् । रसुवाको प्रवेशद्वार बेत्रावती धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । उत्तरगयाधाम आसपासका अधिकांश हिन्दुको मृत्युपश्चात् दाहसंस्कार यहीँ गरिन्छ । यस पुण्यभूमिमा दाहसंस्कार, बितेका पुर्खाका नाममा श्राद्ध तथा धार्मिक कार्य तथा स्नान, जप, ध्यान र श्रद्धादि गर्दा मानिसको जीवन सफल भई मृत्युपछि सीधै कैलाश पद पाउने र दिवङ्गत पितृको मोक्ष हुने जनविश्वास छ । यहाँ नेपाल तथा भारत र अन्य देशबाट विशेषगरी पौसेऔँसीका दिन पुर्खाका नाममा श्राद्ध गर्नेको भिड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाका नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास छ । रामनवमी, ठूलो एकादशी, गाईजात्रा, माघेसङ्क्रान्ति (गोरू जुधाउने पर्व) का दिन पनि यहाँ विशाल मेला लाग्ने गर्छ ।
संसारका चारधाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियालिरहेको छ । यसलाई आकर्षक केन्द्र बनाएर यहाँ धेरै कार्यक्रम आयोजना गरिन्छन् । दुई जिल्लाबीचको व्यापारिक केन्द्रका रूपमा रहेकाले पनि यहाँ धेरै मानिसको आवतजावत हुने गर्छ । सन् १८४९ मा भएको नेपाल–चीन युद्धपछि यहाँ दुई देशबीच सन्धि गरिएको थियो । दोस्रोपटक भएका युद्धमा नेपाली फौज र चिनियाँ फौजबीच यहाँ घमासान लडाइँ भएको थियो । करिब एक हजार दुई सय चिनियाँ फौज यहाँ मारिएका थिए । युद्धबाट हारेर कतिपय चिनियाँ फौजले त्रिशूली नदीमा हामफालेर देह विसर्जन गरेका थिए भने तीन सय नेपाली फौजले वीरगति प्राप्त गरेका थिए । त्यही सन्धिका कारण बेत्रावती दुई देशबीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्धबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको हो ।
देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्केको ‘हलाहल’ विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ शिवले निल्न खोजेकाले घाँटीमा अड्कन गयो । कण्ठमा अड्केको विषका कारण डाहा भई शान्त पार्न महादेव नेपालका विभिन्न स्थल हुँदै यहाँ आइपुगे र आफूसँग रहेको बेतको लौराले खोपेर जलाशय उत्पत्ति गरी तिर्खा मेटाएको कथन छ । जुन कुवाबाट नदी बनिन्, त्यसलाई वेत्रगङ्गा भनियो । यस स्थानलाई त्रिशूली, रुद्रगङ्गा (फलाँखु) र वेत्रगङ्गा (जुन लोप भइन्)ले त्रिवेणीको रूप प्रदान गरेको छ जुन पवित्र घाटका रूपमा स्थापित छ । यहाँको वेशभूषा र विशेष गरी लाखेनाचले सांस्कृतिक पक्षलाई समेत उजागर गर्छ । त्यसैले यो धार्मिक पर्यटन विकास हुने सम्भावना बोकेको ठाउँ पनि हो । यहाँका राम–लक्ष्मण–सीता–हनुमान मन्दिर, त्रिवेणीधाम, उत्तरगया, माघेसङ्क्रान्तिको गोरुजुधाइ, गाईजात्रा, रामनवमी र एकादशीजस्ता पर्व, जात्रा र उत्सवको प्रवद्र्धन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई यस क्षेत्रका जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ ।
उत्तरगया बृहत्तर क्षेत्र विकास समिति बनाउन विगतदेखि पहल गरिरहेको स्थानीय समाजसेवी ईश्वरलाल श्रेष्ठले बताए । उनका अनुसार गुरुयोजनाका साथ उत्तरगयाको विकास गर्न रसुवा र नुवाकोटका जनप्रतिनिधिसँग समन्वय र पहल गरिएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले पनि गुरुयोजना बनाएर समग्र उत्तरगया क्षेत्रमा पूर्वाधार बनाउन रसुवा–नुवाकोटका बासिन्दासँग छलफल गरी प्राप्त रायसल्लाहअनुसार त्रिशूली र फलाँखु नदीमा तटबन्ध निर्माण भइरहेको जानकारी दिए । विदुर–१० का वडाध्यक्ष गणेशकुमार नेपालले उत्तरगयाको समग्र विकासका लागि बर्सेनि बजेट छुट्याइएको र नपुग बजेटका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको बताए । उनका अनुसार बेत्रावतीका युवासँग समन्वय गरेर गोरुजुधाइ पर्व, ठूलो एकादशी मेला, पौसेऔँसीको पितृतर्पण (श्राद्ध) गर्नेलगायत मेला, पर्वको संरक्षण र प्रचारप्रसारमा सहयोग गरिरहेको छ ।