काठमाडौं, यस वर्षको मनसुन नेपालमा भित्रिएर देशभर वर्षा हुन सुुुरु भइरहेको छ । कोशी प्रदेशको पूर्वीय भूभाग हुँदै नेपालमा मनसुन भित्रिएसँगै देशका विभिन्न भागमा साना–ठूला वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले नेपालमा यस वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने आकलन गरेको छ ।
मनसुन तोकिएको मितिभन्दा तीन दिनअघि नेपाल भित्रिएको हो । नेपालमा गत वर्ष जुन १४ मा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १० छ । विभागका अधिकारीका अनुसार प्रशान्त महासागरमा विकसित हुने ‘ला निन्या’ प्रणालीका कारण पनि यस वर्ष औसतभन्दा धेरै वर्षा हुने आकलन गरिएको छ । देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ । ‘देशका अधिकांश ठाउँमा औसत वर्षा नै हुने सम्भावना छ, तर गण्डकी प्रदेशमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने देखिन्छ,’ विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठले भनिन् । नेपाली मनसुनसँग सोमाली हावाको साइनो सगरमाथाबाट मौसमसम्बन्धी तथ्याङ्क आउँछ, तर ‘प्रयोग हुँदैन ।’ विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा भने यस वर्ष सरदर वर्षा हुने सम्भावना छ । प्रतिशतमा वर्षा बढी हुने देखिएका ठाउँमा औसतभन्दा बढी हुने सम्भावना हो । त्यो भनेको १० मिलिमिटर बढी पनि हुन सक्छ, एक सय पनि हुन सक्छ । नेपालको मौसम पूर्वानुमानका लागि आफ्नो देशभित्रको मात्रै बादल र हावाको गति हेरेर नपुग्ने मौसमविद् बताउँछन् । त्यसका लागि दक्षिण एसियाली देशमाथि उडिरहेको बादलदेखि आन्ध्र तथा प्रशान्त महासागरमा चलिरहेको हावासम्मको अध्ययन हुने गरेको छ ।
विभागले नेपालको आगामी मनसुन ऋतुको हावापानी आकलनमा ‘ऋतुगत जलवायु विभिन्न सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर’ रहने उल्लेख गरेको छ । विभागका अनुसार नेपालको मनसुनी जलवायुमा पूर्वीप्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ अर्थात् ‘एल निन्यो’ र ‘सर्दन ओसिलेसन’ तथा हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय प्रणाली पनि जिम्मेवार छन् । सगरमाथाको चुचुरोनजिक मौसम उपकरण राख्न नेपाल र चीन क्षेत्रमा ‘प्रतिस्पर्धा’ भइरहेको छ । आगामी मनसुनयाममा प्रशान्त महासागरमा ‘ला निन्या’ विकसित हुने पूर्वानुमानका आधारमा पनि यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा बढी पानी पर्ने आकलन गरिएको हो । तर, त्यस्तो वर्षा झरीका रूपमा निरन्तर हुनेभन्दा पनि कुनै समयमा ठूलो पानी पर्ने र कुनै समय नपर्ने प्रवृत्तिबाट पनि हुन सक्ने विभागकी उपमहानिर्देशक श्रेष्ठ बताउँछिन् ।
मौसम पूर्वानुमानमा नेपाल ‘परनिर्भर’
मौसम पूर्वानुमान कुनै एउटा देशको मौसमी तथ्याङ्कका आधारमा मात्रै गर्न कठिन हुने भएका कारण संयुक्त राष्ट्रसङ्घीय विशेष निकाय विश्व मौसम सङ्गठनका समन्वयमा विभिन्न देशले यस्ता तथ्याङ्क आदान–प्रदान र सार्वजनिक गर्ने गरेका छन् । नेपालले पनि अन्य देशले सार्वजनिक पहुँचमा राखेका मौसमी तथ्याङ्कका विवरण आफ्नो मौसम पूर्वानुमानमा प्रयोग गर्ने गरेको छ ।
के हामी लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सक्छौँ ? मुस्ताङको हिमपहिरो स्वाभाविक कि अस्वाभाविक ? विभागकी उपमहानिर्देशक श्रेष्ठ नेपालमा दक्ष जनशक्ति र आवश्यक उपकरणका अभावमा मौसम पूर्वानुमानमा नेपाल परनिर्भर रहेको बताउँछिन् । ‘मौसम पूर्वानुमानका अधिकांश काममा हामी परनिर्भर नै छौँ । तर, कुनै पनि देश यसमा आत्मनिर्भर हुँदैनन् । विश्व मौसम सङ्गठनबाट जानकारी आदान–प्रदान हुन्छ,’ उनले भनिन् । उनी नेपालले मौसम पूर्वानुमानमा ‘ओपन सोर्स मोडल’ अपनाउँदै आएको भए पनि आफ्नो भूगोल र मौसमी प्रणालीका लागि सबैभन्दा उपयुक्त ढाँचाको पहिचान हुन बाँकी नै रहेको बताउँछिन् ।
नेपालको कृषि प्रणालीको उल्लेख्य हिस्सा वर्षाको पानीमा निर्भर छ । त्रिभुवन विश्वविद्यालयमा मौसमसम्बन्धी अध्यापन गरिरहेका मणिरत्न शाक्य हिन्द महासागर हुँदै बङ्गालका खाडीबाट पश्चिमतर्फ बढ्ने मनसुनी प्रणाली नेपालको बाटो हुँदै भारतको उत्तरपश्चिमी क्षेत्र र पाकिस्तानसम्म पुग्ने बताउँछन् । लामो समय मौसम विभागमा काम गरेका शाक्यका अनुसार पाकिस्तानभन्दा पश्चिममा भने उक्त प्रणालीले पानी पार्न सक्ने क्षमता गुमाइसकेको हुन्छ । ‘त्यहाँभन्दा उता पनि हावा पुग्छ, तर त्यसमा पानी पार्नका लागि चाहिने जलवाष्पका मात्रामा ह्रास आइसकेको हुन्छ,’ शाक्य भन्छन् । नेपालका मौसमविद्का अनुसार अफ्रिका हुँदै हिन्द महासागरमा पुगेको हावाले नेपालमा मनसुन भित्र्याउँछ । उनीहरूका अनुसार नेपालमा मनसुनको धेरै भाग बङ्गालको खाडी हुँदै देशको दक्षिणपूर्वी क्षेत्रबाट भित्रिने गरेको छ । यसरी समुद्रबाट जमिनतर्फ आएको हावामा आर्द्रता अर्थात् पानीको मात्रा अत्यधिक हुने भएकाले यस्तो हावा चिसोमा पुग्नासाथ वर्षा गराउँछ ।
नेपालमा बाढीको पूर्वानुमान गर्ने प्रविधि र अभ्यास सीमित भएको मौसमविद् बताउँछन् । विभागले बाढी आउन सक्ने तटीय क्षेत्रमा बस्ने मानिसलाई उनीहरूको मोबाइलमा बाढीको पूर्वसूचनाबारे सन्देश पठाउँदै आएको छ । तर, त्यस्तो पूर्वानुमान नदीको माथिल्लो भागमा आएका बाढीका आधारमा मात्रै हुने गरेको छ । ‘हामीसँग माथिल्लो क्षेत्रमा पानी परेको निगरानीका आधारमा दिइने पूर्वचेतावनी मात्रै प्रयोग भइरहेको छ । त्यो भनेको शिवपुरीमा अत्यधिक पानी प¥यो भने निश्चित समयपछि बागमतीमा बाढी आउँछ भनेर गरिने पूर्वानुमान हो,’ विभागकी उपमहानिर्देशक श्रेष्ठ भन्छिन् ।
विकसित देशमा भने निश्चित क्षेत्रमा जम्मा भएको वर्षा गराउन सक्ने बादलको अध्ययन गरेर बाढीको पूर्वानुमान हुने गरेको छ । त्यसलाई मौसमविद्ले ‘नाउ कास्टिङ’ प्रणालीबाट पूर्वानुमान गर्ने गरेका छन् । यस्तो प्रविधिका सहयोगमा स्याटलाइट तस्बिरको निगरानीका आधारमा दुई घण्टाअघिदेखि निश्चित क्षेत्रमा बाढीको पूर्वानुमान गर्न सकिने मौसमविद् शाक्य बताउँछन् । नेपालमा प्रत्येक वर्ष मनसुनजन्य विपत्का कारण दर्जनौँको ज्यान जाने गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको आगामी बर्खायामको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष विपत्बाट करिब १८ लाख एक हजार जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुन सक्ने उल्लेख गरिएको छ । प्राधिकरणले मनसुनजन्य विपत्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपत्मा उद्धार तथा राहत दिनुपर्ने आकलन गरेको छ ।
प्राधिकरणका अनुसार नेपालस्थित संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधिको कार्यालयको प्राविधिक सहयोगमा यस्तो आकलन तयार गरिन्छ । ‘विगत ३०–४० वर्षदेखिका तथ्याङ्क हेरेर यस्तो विश्लेषण तयार गरिएको छ र हाम्रो भूगोलअनुसारको जनसङ्ख्याका आधारमा जल तथा मौसम विज्ञान विभागले कुन–कुन स्थानमा बढी पानी पर्छ भनेर पूर्वानुमान गरेको छ । त्यस पूर्वानुमानलाई पनि एउटा आधार बनाइएको छ,’ प्राधिकरणका प्रवक्ता डिजन भट्टराई भन्छन् ।