कागजपत्र मिलाएर अनुदान असुल्नेलाई चुनौती

कृषिबाट बदलिँदै किम्ताङ

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०८१, बुधबार १२:३४
  • नारायण नेपाल

राज्यले कृषिमा प्राथमिकता भन्दै बिमा नीतिसहित अर्बाैँ खर्च गरिरहे पनि वास्तविक किसानले त्यस्तो अनुभूति गर्न पाएका छैनन् । जिल्लाका किसानले उत्पादन गरेको चाँडै नगल्ने गोलभेँडा अहिले राजधानीमा हारालुछ छ, बरु जिल्लामा पाइँदैन । तिनको उत्पादनलाई बजारसम्म पु¥याउन अझै कृषि सडक बनेको छैन । साबिकको किम्ताङ गाविस र हालको म्यागङ गाउँपालिका– ४ मा पर्ने नुवाकोटको किम्ताङ उच्च पहाडी क्षेत्र हो । कुनै समय पूरै गाउँ नै पहिरोको आतङ्कका कारण सधैँ चासो र चर्चामा हुन्थ्यो । यही क्षेत्र यति बेला भने कृषि उत्पादनको नमुना गाउँका रूपमा चर्चामा छ । यस्ता परिश्रमी किसानलाई कागज र भाषणमा मात्र होइन, वास्तविक अनुदान र प्रोत्साहनको खाँचो छ ।

पचासको दशकमा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित किम्ताङको आलु नुवाकोट र आसपासका जिल्लामा प्रख्यात थियो । किम्ताङवासी आलु बोकेर धान–गहुँ साट्न तल्लो क्षेत्रका गाउँमा पुग्थे । केही दशकअघिसम्मको किम्ताङका किसानको कर्म आलु नै थियो । त्यसपछिका दिनमा किम्ताङले उत्पादन नगरेको होइन, तर समस्या बजार विस्तारमा देखियो । १५ वर्ष विदेशमा बसेर दुःख गर्दा पनि राम्रो कमाइ नभएपछि गाउँ फर्केका किम्ताङका प्रताप तामाङ सामाजिक कामसँगै कृषिमा उत्तिकै क्रियाशील छन् । कृषिबाट राम्रो आम्दानी मात्रै होइन, सिङ्गो गाउँको परिचय फेरिएकामा उनी दङ्ग छन् । उसबेलाको किसानका समस्या सुनाउँदै उनी भन्छन्, ‘बेलुका साँझको बत्ती बालियो, अहिले पैसा छैन’ भन्दै फर्काउँथे । बिहानै पुगे, ‘बिहानै बोहनी भएको छैन, पैसा दिन हुँदैन’ भन्दै फर्काइन्थ्यो । न त्यो तरकारीको भारी बोकेर घर ल्याउनु, न त्रिशूलीमा बगाउनु ?’ तरकारीको भारी लिएर दिनभरको मेलो माया मार्दै बजार पुगेका किसानलाई कम्ती सास्ती थिएन । समय फेरियो, यतिबेला किम्ताङको तरकारीले मोटरगाडी भरिन्छ र टाढाको बजार पुग्छ । अब किसानले डोको बोकेर गाउँ चहार्ने झन्झट र बजारियाले दिने सास्तीबाट मुक्ति पाएका छन् ।

करिब दशकअघि गाउँमा अर्थोपार्जनको केही उपाय नदेखेपछि किम्ताङका अधिकांश युवा बिदेसिने क्रम सुरु भइसकेको थियो । गाउँका बाँझा पाखाबारीमा बुढापाका र बालबच्चाले केही गर्न सक्ने अवस्था थिएन । ०७२ को भुइँचालोपछि भने अवस्था फेरियो । गोरखा भूकम्पले गाउँमा ठूलो क्षति भयो । त्यसपछि चलेको राहत र उद्धार अभियान सम्पन्न भएसँगै किम्ताङको कृषि क्षेत्रले फड्को मार्ने पाइला चालेको हो । भूकम्पपछि पुनर्निर्माण भएका घरबस्तीमा उत्पादन योजना नबनाउने हो भने परदेसिने क्रम बढ्ने र गाउँ रित्तिने अवस्था थियो । यसरी घर–घरबाट बिदेसिने स्थितिको अन्त्यका लागि पनि स्थानीयवासीमा कृषिक्रान्तिको चेत बीजारोपण भएको थियो । पछिल्लो एक दशकमा किसानका तहबाट भएको कृषि उत्पादनको यस आमूल परिवर्तनलाई कृषिक्रान्तिको नमुनाका रूपमा लिन सकिन्छ । यतिबेला किम्ताङका पाखा टहरा र टनेलले भरिएका छन् । चियाका बुट्यानले बगानको स्वरूप ग्रहण गर्दै छ । समग्रमा किम्ताङवासीको पसिना र पौरखले यसको परिचय बदल्दै छ । श्रम र पसिना बेच्न विदेश पुगेका युवा गाउँ फर्किएका छन् । गाउँको कृषि अभियानमा यसरी फर्किएकाहरू नै बढी सक्रिय छन् । पहिरा गाउँबाट कृषिगाउँमा रूपान्तरित हुँदै गरेको किम्ताङमा गत साउनदेखि जेठसम्म रु. सात करोड मूल्यबराबरको गोलभेँडा, रु. एक करोड ५० लाखबराबरको आलु र रु. २६ लाखबराबरको किबी बिक्री भएको स्थानीय तथ्याङ्क छ ।

वैदेशिक रोजगारीबाटै फर्किएका स्थानीयवासी निङ्मार तामाङ यतिबेला जनप्रतिनिधिसमेत छन् । राजनीति, सामाजिक काम र कृषि खेतीलाई सँगसँगै अगाडि बढाएका गाउँका अगुवा उनीसँग व्यावसायिक कृषिका माध्यमबाट गाउँलेको दैनिकी फेर्न सकिन्छ र आयआर्जनको राम्रो सम्भावनाले वैदेशिक रोजगारीलाई रोक्न सक्छ भन्ने अनुभव छ । सहिद प्रतिमा स्मृति सहकारीले आफ्नै लगानीमा गाउँमा ३५ रोपनी जग्गामा आलु खेती गरेको छ । किम्ताङको नमुना उत्पादन अभियानलाई अझै प्रभावकारी बनाउन सहकारीमार्फत गरिएको सामूहिक उत्पादनको यो योजना लोभलाग्दो छ । सहकारीका अध्यक्ष सोमबहादुर तामाङ गाउँलेलाई सङ्गठित गरेर थालिएको सामूहिक खेती कार्यक्रम प्रभावकारी रहेको बताउँछन् । सहकारीले सदस्यहरूलाई समेटेर हालै किबी खेतीसमेत सुरु गरेको छ । सात सय घरधुरी रहेको किम्ताङमा तरकारीका पाँच हजार टनेल निर्माण भएका छन् । यस गाउँबाट मौसमका बेला एकै दिन रु. आठ लाखबराबरको तरकारी बिक्री हुन्छ । यहाँ बेमौसमी तरकारी र फलफूल खेती पनि उत्तिकै हुन्छ ।

यस क्षेत्रको वामपन्थी राजनीतिका सूत्रधार सरमान तामाङ किम्ताङमै व्यावसायिक चिया खेती गर्छन् । किम्ताङमा करिब दुई सय पाँच रोपनी क्षेत्रफलमा चिया बगान फैलिएको छ । प्राङ्गारिक चिया उत्पादक सहकारीका अध्यक्ष तामाङ चियाका लागि किम्ताङको हावापानी उचित रहेको बताउँछन् । यहाँ अहिले करिब चार सय घरधुरीले चियाखेती गरेका छन् । प्रतिघरधुरीले वार्षिक रु. ६ देखि रु. सात लाख आम्दानी चियाखेतीबाटै गरिरहेको अगुवा किसान तामाङको भनाइ छ । सामान्यतया जैविक अर्थोडक्स चिया १० देखि १२ दिनको अन्तरमा टिप्न मिल्छ । यतिबेला किम्ताङका बगानमा ९० हजार केजीसम्म हरियो पात उत्पादन भएको चियाखेती गरिरहेका किसानको जिकिर छ । किसान सविना तामाङका अनुसार ३० रोपनीमा गरिएको चियाखेतीबाट चिया किसानले सिल्भर टी रु. ६ हजार पाँच सय प्रतिकेजी, गोल्डेल टी रु. दुई हजार पाँच सयदेखि दुई हजार आठ सय प्रतिकेजी र ब्ल्याक टी रु. एक हजारदेखि रु. एक हजार दुई सय प्रतिकेजीसम्म बिक्री हुने गरेको छ । चिया खेती विस्तारको यो अभियानमा स्थानीय तह पनि सामेल छ । वडा नम्बर ४ का अध्यक्ष कमल तामाङले गाउँको बाँझिएका र ऐलानी जमिनमा चियाखेती अभियान नै चलाएको बताए ।

०१७ को खनायोवास किसान विद्रोहको लहर फैलँदै जाँदा भयभीत शासकले फैलन नदिन त्रिशूलीको पुल काट्ने जुक्ति बडाहाकिमको कार्यालयमा निकालेको प्रसङ्ग अझै सुन्न पाइन्छ । किम्ताङको उत्पादनलाई सहर–बजारको पहुँचमा पु¥याउने सडक (कलोनी, देउराली, म्यागङ, किम्ताङ)को दुरवस्थाले आजको लोकतन्त्रमा नेता भएकाहरूको उही महेन्द्रकालीन पछौटे चेतना र मनोवृत्तिलाई झल्काउँछ । त्यस्तो मनोवृत्तिलाई व्यङ्ग्य गर्दै किम्ताङेहरूले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल गराएका छन् । एक जल्दाबल्दा नेताले आजभन्दा १० वर्षअगाडि गरेको भाषणमा चार वर्षभित्र थम्बुखोलासम्म सडक पिच नगरे राजनीति छाड्ने घोषणा गरे पनि अहिलेसम्म न त सडक पिच बन्यो न उनले राजनीति नै छाडे, बरु उल्टै राज्यको खजाञ्ची भएर बसे । नेताले काम त गरेनन्, तर गाउँलेले गरे । उत्पादनमा आत्मनिर्भरता र छुट्टै पहिचानको निर्माण किम्ताङले गर्दै छ ।

विगतमा किम्ताङको पहिरालाई नेताहरूले पर्यटकीय गन्तव्य बनाएजस्तो यसको कृषिलाई देखाएर भजाउने र कागजपत्र मिलाउने काम कर्मचारी र नेताहरूले अब नगरून् । यस क्षेत्रलाई कृषि जोन, पकेट क्षेत्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले छुन सकेको छैन । त्यसैले पनि किम्ताङको कृषि क्रान्तिको अभियानलाई झोलामा कागजपत्र मिलाएर अनुदान लिनेहरूले त्यति प्राथमिकता दिँदैनन् । तर, हरेक फर्म र किसानको उत्पादनमा आधारित पुँजी र प्रविधिका साथमा बजार व्यवस्थापनसम्मका सवालमा अनुदान वा सरकारको साझेदारी निर्माण गर्ने हो भने साँच्चै किम्ताङको कृषिले नयाँ र नमुना उत्पादन अभियानको नेतृत्व गर्न सक्छ ।