विदुर, प्रायः हरेकपटक मन्त्रिमण्डल गठन, पुनर्गठनमा नुवाकोट नछुट्ने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को नयाँ सत्तागठबन्धनपछि पुनर्गठित मन्त्रिपरिषद्मा नुवाकोटबाट कोही पनि मन्त्रिमण्डलमा परेनन् । सङ्घीय मन्त्रिपरिषद्मा कोही नपरे पनि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णुप्रसाद रिमाल नियुक्त भएका छन् भने बागमती प्रदेशको मुख्यमन्त्री पद नुवाकोटले पाएको छ ।
यसपटक राजनीतिक स्थिरता र संविधान संशोधनलगायत सातबुँदे सहमति गरेर देशका प्रमुख राजनीतिक दल काङ्ग्रेस र एमालेले दुईतिहाइ बहुमतसहित सरकार गठन गरेका छन् । गत असार १७ गतेको सो सहमतिअनुसार केन्द्रीय सरकारसहित सात प्रदेश सरकार परिवर्तनको प्रक्रिया सुरु भइसकेको छ । केन्द्रमा सरकार बनेपछि बागमती प्रदेशमा पनि नयाँ सरकार गठन भएको छ । पछिल्लो सरकारको नेतृत्व गर्ने अवसर नुवाकोटले पाएको छ । बागमती सरकारको पाँचौँँ मुख्यमन्त्री नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेश सभा क्षेत्र नं. ‘ख’ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य बहादुरसिंह लामा तामाङ नियुक्त भएका छन् । यसपटक नुवाकोटले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकामा जिल्लावासी हर्षित भएका छन् ।
काङ्ग्रेस संसदीय दलका नेता तामाङ मंगलबार बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरेका हुन् । उनी काङ्ग्रेसबाट बागमतीमा मुख्यमन्त्री बन्नेमा पनि पहिलो भएका छन् । काङ्ग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई संसदीय दलको निर्वाचनमा पराजित गरेसँगै उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिँदै आएको थियो ।
पञ्चायतकालदेखि नै पटक–पटक केन्द्र, सङ्घ र प्रदेश सरकारको मन्त्रिमण्डलमा मन्त्री तथा गाउँनगर (गाविस, गाउँपालिका, नगरपालिका) मा प्रधानपञ्च/गाविस–गाउँपालिका अध्यक्ष/नगर प्रमुख भए पनि हालसम्म कुनै राजनीतिक दलका प्रमुख वा प्रदेशमा तामाङ जातिका व्यक्तिले माथिल्लो नेतृत्व सम्हाल्न पाएका थिएनन् । तत्कालीन नेकपा (माओवादी)ले ल्याएको ‘ताम्सालिङ राज्य’को अवधारणाअनुसार पनि बागमती प्रदेशका कुनै जिल्लामा पनि तामाङ जातिले नेतृत्व गर्ने अवसर नपाएका अवस्थामा लामाको मुख्यमन्त्रीले तामाङ जाति तथा समग्र आदिवासी जनजातिमा उत्साह ल्याएको छ । अहिले ‘बहादुर’ले आर्थिक मामिलाजस्तो शक्तिशाली मन्त्रालयबाट आफ्नो नामजस्तै मुख्यमन्त्रीको नेतृत्व गर्ने बहादुरी नै देखाएका छन् ।
हजुरबाको प्रेरणा
पिता दीपबहादुर र माता पूर्णिमायाका कान्छा छोरा ५४ वर्षीय लामाको जन्म ०२७ कात्तिक ८ मा नुवाकोटको तत्कालीन कार्कीमनकामना गाविस, मानेगाउँ हालको किस्पाङ गाउँपालिका–५ मा भएको थियो । उनका परिवारमा चार दाजुभाइ र चार दिदीबहिनी छन् । उनका पत्नी तथा एक छोरा र एक छोरी छन् । परिवार नै राजनीतिमा सक्रिय भएका कारण सानै उमेरदेखि नै उनमा राजनीतिक चेतना थियो । उनी युवावस्थाबाटै समाजसेवा र राजनीतिमा सक्रिय थिए । आफ्ना हजुरबुबा राजनीतिमा सक्रिय रहेका कारण आफू पनि काङ्ग्रेसमा आबद्ध भएको उनले बताए । ‘मेरा हजुरबुबा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो जसका कारण मलाई पनि अगाडि बढ्न सहयोग पुग्यो,’ उनले भने । उनको प्राथमिक शिक्षा गाउँकै विद्यालयबाट पूरा भएको थियो । सामान्य परिवारमा जन्मिएका लामाले विदुर– ७ तुप्चेस्थित चण्डेश्वरी माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । उनले काठमाडौंको शङ्करदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका छन् । ०४३ देखि काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको सदस्य भएका उनी सोही वर्ष शङ्करदेव क्याम्पस एकाइ सदस्य भएका थिए । नेविसङ्घ नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै उनको राजनीतिक यात्रा अगाडि बढेको थियो । ०५४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन मनकामना गाविसका अध्यक्षमा निर्माण व्यवसायीसमेत रहेका लामा निर्वाचित भएका थिए ।
पार्टीको १३ र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल पनि सोही पदमा छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी नुवाकोट–३ मा पराजित भएका थिए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत माओवादी, हाल नेकपा माओवादी केन्द्र)का महासचिव पोस्टबहादुर बोगटीलाई उनले भारी मतान्तरले पराजित गरेका थिए । ०७४ मा उनी प्रतिनिधिसभा सदस्य र ०७९ सालमा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । काङ्ग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने काङ्ग्रेस संसदीय दलका नेता लामाले प्रदेश सभामा निर्वाचित भएको पहिलोपटकमै ०७९ चैत २६ मा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । सरकारमा रहँदा सन्तुलित बजेट ल्याएको भन्दै विपक्षीले पनि उनको प्रशंसा गरेका थिए ।
उनको हिम्डुङ एन्ड थोकर निर्माण कम्पनी छ जुन ‘क’ वर्गको हो । संविधानसभा, प्रतिनिधिसभा र प्रदेश सभामा हालसम्म आफूले गरेको असल अभ्यासलाई आफ्नो मुख्यमन्त्रीको कार्यकालमा पनि निरन्तरता दिने योजना रहेको लामाले बताए । निरन्तर राजनीतिमा सक्रिय रही जनतामाझ लोकप्रिय लामालाई बधाई र शुभकामना दिन नुवाकोटबाट मंगलबार र बुधबार सयौँको सङ्ख्यामा जिल्लावासी हेटौँडा पुगेका छन् । सानैदेखि अब्बल र हक्की स्वभावका लामा ०४३ मा नेविसङ्घ, शङ्करदेव क्याम्पस इकाइ सभापति र ०४५ सालमा नेविसङ्घ क्षेत्रीय सभापति भएका थिए । त्यसपछि काङ्ग्रेस नुवाकोटका जिल्ला उपसभापति भए । आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
प्रदेश स्थापनाको सात वर्षपछि बागमतीमा काङ्ग्रेसको नेतृत्व
प्रदेश स्थापनाको सात वर्षपछि काङ्ग्रेसले बागमती सरकारको नेतृत्व गरेको छ । यस अवधिमा अधिकांश समय प्रमुख प्रतिपक्ष रहेको काङ्ग्रेस विगतमा तीन वर्ष सत्ता–साझेदार बनेको थियो । ०७८ कात्तिकमा सत्ता–साझेदारी गर्दै काङ्ग्रेस सरकारमा सहभागी भएको थियो । सङ्घीयता कार्यान्वयनको यस अवधिमा काङ्ग्रेस–एमाले गठबन्धनले बागमतीमा काङ्ग्रेसको सरकार गठन जुराएको हो । ०७८ मा काङ्ग्रेससहितको समीकरणबाट नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए । उक्त समय मुख्यमन्त्री त्यागेर निर्वाचनको तयारीमा लागेको काङ्ग्रेसले ०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन । दुई महिना प्रतिपक्षमा रहेको काङ्ग्रेस चैतमा मात्र सरकारमा सामेल भएको थियो ।
एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार दुई महिनामा ढलेपछि ०७९ चैतमा सरकारमा पुरानो राजनीतिक दल सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको सो दलले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो । एक वर्षपछि ०८० फागुनमा पुनः एमाले–माओवादी केन्द्रसहितको समीकरण भत्किएलगत्तै सरकारबाट काङ्ग्रेस बाहिरियो । माओवादी केन्द्रकै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सत्ता–साझेदारी हुँदा ऊ चार महिनादेखि प्रमुख प्रतिपक्षका भूमिकामा रहँदै आएको थियो । सङ्घीयता कार्यान्वयनपछि भएका दुई निर्वाचनपश्चात्का अधिकांश समय काङ्ग्रेस प्रमुख प्रतिपक्षको भूमिकामै रहँदै आएको छ । दुई कार्यकालको सातवर्षे अवधिमा सो दल २६ महिना मात्र सरकारमा रह्यो । सोबाहेकका अधिकांश समय उसले प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्दै आएको छ । एक सय १० सदस्य रहेको प्रदेश सभामा काङ्ग्रेस र एमालेबीचको नयाँ समीकरणपछि बहुमत रहेको छ । प्रदेश सभामा बहुमत प्राप्त गर्न ५६ सदस्यको समर्थन आवश्यक छ । काङ्ग्रेसका ३७ र एमालेका २७ सांसद गरी ६४ सदस्य नयाँ समीकरणकै पुग्छ जुन सरकार गठनका लागि पर्याप्त हुन्छ ।
बागमतीको नयाँ मुख्यमन्त्रीमा नियुक्त नेपाली काङ्ग्रेस संसदीय दलका नेता लामाले बुधबार शपथ लिएका छन् । काङ्ग्रेस र एमालेका ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले बुधबार नै काङ्ग्रेसबाट सात र एमालेबाट ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर जिम्मेवारी दिएका छन् । यसभन्दा अगाडि एमालेबाट डोरमणि पौडेल मकवानपुर, अष्टलक्ष्मी शाक्य काठमाडौं, राजेन्द्रप्रसाद पाण्डे धादिङ र शालिकराम जम्कट्टेल धादिङ मुख्यमन्त्री भइसकेका छन् ।