+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाको अकबरे खुर्सानी दरबारमार्गमा

रसुवाको अकबरे खुर्सानी दरबारमार्गमा
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे । रसुवा जिल्ला उत्तरगया गाउँपालिका-१, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस वर्ष यस भेगका करिब ८७ कृषकले ६० रोपनी जग्गामा अकबरे खुर्सानी लगाएका छन् । खुर्सानीबाट गत महिनादेखि राम्रै आम्दानी भइरहेको छ । पिरो खुर्सानीबाट मिठो आम्दानी हुँदा उनीहरू दङ्ग छन् । उत्तरगयाका तीन वडामा अकबरे खुर्सानी खेती सुरु गरेर उत्पादन भई बिक्री–वितरणको सुरुआत भइसकेको परियोजना संयोजक गौरव सापकोटाले जानकारी दिए । गत जेठमा लगाइएको खुर्सानी अहिले बिक्रीका लागि तयारी भएको हो । अकबरेको बजारमूल्य प्रतिकेजी रु. दुई सय ५० देखि तीन सयसम्म रहेको छ । बाहै्र महिना फल्ने सो खुर्सानी एउटा बोटबाट एक वर्षमा चारचोटि बेच्न मिल्ने गरी फल दिने भएकाले एकदमै आयमूलक रहेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ बताउँछिन् । अहिले पहिलो सरुवाती चरण भएकाले करिब दुई सय केजी बिक्री भएको छ । अब तिजअगाडि पाँच सय केजी र बडादसैँअगाडि एक हजार पाँच सय केजी फल्ने परियोजना संयोजक सापकोटा बताउँछन् ।

Suzuki New Bike & Scooter

यो खुर्सानी काठमाडौँस्थित दरबारमार्गमा रहेको रैथाने बाली बजारमा समेत बिक्री–वितरण भइरहेको छ । यसको बजार सहजीकरणमा गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल आफैँ लागिपरेका छन् । रैथाने बाली बजार दरबारमार्गको बिक्री केन्द्रमा कृषिमन्त्री रामनाथ अधिकारीले समेत अवलोकन गरेर रसुवामा फलेको अकबरे खुर्सानीको प्रशंसा गरेका थिए । खुर्सानी खेतीमा लागिपरेकी कृषक मीनकुमारी पौडेल भन्छिन्, ‘हामीलाई गाउँपालिकालगायत संस्थाले प्रेरित गरी आर्थिक स्थिति सुधारमा मद्दत गरेको छ, कसैसँग हात फैलाउन पर्दैन ।’ अर्का कृषकद्वय लालमाया तामाङ, मनिका राई पनि एकै स्वरमा भन्छन्, ‘यस्तो आम्दानीमूलक अकबरे खुर्सानी खेती गर्न अरूले पनि गरे हुन्छ । हामी घरभित्रको कामसँगै पैसा आउने काम पनि गर्न पाउँदा धेरै खुसी छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह