मालपोत दस्तुर बाँडफाँट

विदुरलाई बढी, म्यागङलाई कम

  • त्रिशूली प्रवाह
  • २४ श्रावण २०८१, बिहीबार १४:२१

विदुर । मालपोत कार्यालय नुवाकोटले गत आव ०८०/८१ मा घरजग्गा तथा अन्य रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क र रोक्कालगायत शीर्षकबाट उठेको राजस्व स्थानीय तह र प्रदेश सरकारलाई बाँडफाँट गरेको छ । कार्यालयले गत आवमा रु. ११ करोड ९१ लाख ७४ हजार पाँच सय ३० सङ्कलन गरेकोमध्ये बागमती प्रदेश सरकारलाई रु. चार करोड ९० लाख ९९ हजार आठ सय २४ र बाँकी रकम सबै पालिकालाई कारोबार भएको अभिलेखका आधारमा बाँडफाँट गरेको जनाएको छ । कार्यालय प्रमुख ओमबहादुर अधिकारीले गत वर्ष सबैभन्दा बढी विदुर नगरपालिकाले र सबैभन्दा कम म्यागङ गाउँपालिकाले राजस्व प्राप्त गरेको जानकारी दिए ।

विदुरले रु. दुई करोड ८८ लाख ५७ हजार नौ सय ९६ प्राप्त गर्दा म्यागङले रु. सात लाख ६९ हजार तीन सय ८३ मात्र पाएको छ । घरजग्गा तथा अन्य रजिस्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का दस्तुरलगायत गतिविधि ग्रामीण क्षेत्रमा कम हुने तथा सदरमुकाम क्षेत्र र सहरोन्मुख पालिकामा बढी हुने भएकाले राजस्व पनि बढी उठ्ने गरेको हो । मालपोत कार्यालयले उठेको राजस्वमध्ये ६० प्रतिशत सम्बन्धित पालिकालाई र बाँकी ४० प्रतिशत बागमती प्रदेश सरकारलाई पठाउने गरेको छ । गत आवमा बेलकोटगढी नगरपालिकाले रु. ९० लाख १६ हजार ६ सय ६१, ककनीले रु. ९७ लाख सात हजार आठ सय ६१, शिवपुरीले रु. ४४ लाख ९७ हजार चार सय १२, लिखुले रु. ६३ लाख ७१ हजार आठ सय ३२, तादीले रु. १८ लाख ९० हजार ६ सय ९९, पञ्चकन्याले रु. ३५ लाख ३१ हजार एक सय २४, सूर्यगढीले रु. १६ लाख ८६ हजार नौ सय ७१, दुप्चेश्वरले रु. १९ लाख २९ हजार तीन सय ४७, तारकेश्वरले रु. आठ लाख ८३ हजार दुई सय ७७, म्यागङले रु. सात लाख ६९ हजार तीन सय ८३ र किस्पाङले रु. नौ लाख ४२ हजार एक सय ३९ पाएका छन् ।

मालपोत कार्यालयले विगत तीन वर्षमा घरजग्गालगायत रजिस्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का दस्तुरबाट उठ्ने राजस्व आव ०७८/७९ मा भन्दा पनि आव ०८०/८१ मा कम उठाएको छ । आव ०७९/८० भन्दा ०८०/८१ मा रु. ४० लाख ५६ हजार मात्र बढी उठाइएको छ । आव ०७८/७९ मा रु. १९ करोड २६ लाख ४६ हजार चार सय ५६ उठाएको कार्यालयले आव ०८०/८१ मा रु. सात करोड ३४ लाख ७१ हजार सात सय २६ कम उठाएको छ । पालिका र प्रदेश सरकारले मालपोत कार्यालयको जनशक्ति व्यवस्थापन र कार्यालय सञ्चालनका लागि स्रोतसाधन सहयोग गर्ने हो भने पालिकाले पाउने राजस्वसमेत बढ्ने देखिन्छ । जनशक्ति र सीमित स्रोत र साधनका बाबजुद कार्यालय राम्रै राजस्व उठाउन सफल भएको तथ्याङ्कले देखाउँछ । कार्यालयले उठाउने अर्को राजस्व पुँजीगत लाभकर हो । कार्यालयले तीन आवमध्ये गत आव ०८०/८१ मा कम पुँजीगत लाभकर उठाएको छ । कार्यालयले उठाएको पुँजीगत लाभकर सबै सङ्घीय सरकारको खातामा दाखिला हुने गरेको छ । कार्यालयले गत आव ०८०/८१ मा रु. ६ करोड ४१ लाख २६ हजार सात सय ६२, अघिल्लो आव ०७९/८० मा रु. ६ करोड ९५ लाख २८ हजार दुई सय ९८ र झन् अघिल्लो आव ०७८/७९ मा रु. नौ करोड २८ लाख ७१ हजार चार सय ५१ पुँजीगत लाभकर उठाएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

आर्थिक मन्दीले मालपोत राजस्व कम उठेको लेखापढी व्यवसायी सीताराम रिमालले बताए । उनले भने, ‘जिल्लाभरिमै सबैभन्दा राजस्व उठ्ने कार्यालय व्यवस्थित, नागरिक र प्रविधिमैत्री बनाउन जरुरी देखिन्छ ।’ कार्यालयपरिसरमा बैंक रहेकाले राजस्व तिर्न अन्यत्र जानु नपर्ने र धेरै सजिलो भएको अर्का लेखापढी व्यवसायी राजेन्द्र पाण्डे बताउँछन् । विगतको तुलनामा पछिल्लो केही वर्षदेखि मालपोत कार्यालय सेवाग्राहीका लागि सहज र विश्वासनीय हुँदै गएकोसमेत उनले जिकिर गरे ।