- सरस्वती न्यौपाने
धुन्चे । रसुवा जिल्लाको माथिल्लो भेगका कृषकले हरेक वर्ष बर्खे आलुखेतीबाट मनग्गे आम्दानी लिने गरेका छन् । जिल्लाको माथिल्लो भेगमा पर्ने आमाछोदिङ्मो–३ गत्लाङ गाउँबाट मात्रै यस वर्ष रु ५२ लाख ५० हजार बराबरको आलु फलेको पालिकाले जनाएको छ ।
तामाङ बस्ती रहेको पाँच सय घरधुरी रहेको गत्लाङ गाउँका प्रायः सबै मानिसको मुख्य पेसा कृषि र बासिन्दाको मुख्य आम्दानीको स्रोत आलुखेती नै हो । बर्सेनि रु ६० देखि ७० लाखसम्मको आलु फल्ने गत्लाङमा यस पटक समयमा पानी नपरेका कारण उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नुवाकोट, रसुवा एकाइले जनाएको छ । कृषकले यस पटक ७० खेप आलु एक बोराको रु एक हजार पाँच सयको दरले थोकमूल्यमा बिक्री गरेका छन् । एक खेपमा एक सय किलोको एक सय बोरा हुन्छ । आलु किन्न मिनीट्रक लिएर गाउँमा नै व्यवसायी आइपुग्छन् । छानेर लानेलाई रु एक हजार ६ सय बोरामा बेचिने र सालाखाला सबै मिलाएर लानेलाई रु एक हजार पाँच सय बोरामा नै दिने गरिएको र फाट्टफुट्ट पाथीले किन्नेलाई पाथीको रु एक सय २० मा दिने गरिएको गाउँपालिकाका उपप्रमुख चण्डिका तामाङले बताइन् ।
गत्लाङकै अर्का कृषक अविनाश तामाङले त्यहाँ फलेको बर्खे आलुको बजार रसुवा, नुवाकोट, धादिङ र काठमाडौँ रहेको तथा प्राङ्गारिक आलुसँगै सिमी, काउली, बन्दासमेत बिक्री भइरहेको बताए । सङ्घीय राजधानी काठमाडौंँबाट एक दिनमा पुग्न सकिने गत्लाङ विसं २०७२ को भूकम्पपछि फेरिएको छ । गोरखा भूकम्पअघिसम्म सो बस्ती कालो गाउँ भनेर परिचित थियो । त्यस बेला गाउँका घरका छाना काठ र ढुङ्गाका एकनासका थिए । कालो गाउँ हेर्न पर्यटकको आगमन राम्रै हुन्थ्यो । अहिले गाउँका सबै घर रङ्गीन जस्तापाताले छाएपछि पर्यटकको खासै प्राथमिकतामा नपरेको अविनाशले बताए । कृषि र पशुपालनको राम्रो सम्भावना भएको सोे गाउँमा पछिल्लो समय व्यावसायिक रूपमा पशुपालन र कृषिमा लाग्नेको सङ्ख्या बढिरहेको उपप्रमुख तामाङले बताइन् । उनी भन्छिन्, “म जन्मेको कालो गाउँ अहिले रङ्गीचङ्गी भएको छ । म उपप्रमख हँुदा गाउँपालिकाको सोच रङ्गीन जस्तालाई कालो रङ लगाउने वा अन्य उपायबारे पनि ध्यान गएको हो । गाउँको अस्तित्व हराउन लागेकामा मपनि दुःखी छु । मेरातर्फबाट पनि पहल गरिरहेको छु ।”
पूरै गत्लाङमा अहिले घरबास पर्यटन योजना बनाइएको छ । पार्वती कुण्ड, तातोपानी, चिलिमे जलविद्युत्को बाँध र हिमालीलगायत प्राकृतिक दृश्यावलोकन गर्न पुग्नेहरू घरबासमै बस्ने गरेका छन् । विसं २०५७/०५८ तिर युएनडिपीका सहयोगमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ‘टिआरपिएपी’ परियोजनाले स्थानीयवासीको जीवनस्तर सुधार कार्यक्रम लागु गरेर आयमूलक काम सिकाइदिएपछि गत्लाङबासी कृषि र पशुपालन सँगसँगै पर्यटन व्यवसायमा संलग्न भइरहेका छन् । वर्षात्का तिन महिना पर्यटकीय गतिविधि शून्य रहे पनि बर्खे आलु खन्ने, बिक्री गर्ने याम भएकाले गाउँबासी व्यस्त छन् । जिल्लाका गत्लाङ, गोल्जुङ, हाकु, धुन्चे, भिमली, सोले, ठाँडे, नागुङ, भार्खु, स्याफ्रु, चिलिमेलगायत गाउँमा बर्खे आलु उत्पादन हुने गरेको छ ।