- रिना खनाल
श्रावणशुक्ल पूर्णिमा अर्थात् रक्षाबन्धनको दिन, विदुर–२, नुवाकोट दरबारपरिसर अर्थात् देवीस्थान टोल । मानिसको चहलपहल तथा ओहोरदोहोर चलिरहेको छ । साततले दरबारको दक्षिणतर्फ देवी भैरवी मन्दिरअगाडि बाजागाजा बजिरहेका छन् । ‘पक्कुम डुम पकनकडुम छ्याँ । पक्कुम डुम पकनकडुम छ्याँ ।’ बाजाकै तालमा सक्यो नानी, सक्यो नानी सक्यो नानी, नुवाकोटे नानी, गाजल लाउने तिम्रो बानी, सक्यो नानी गुन्जिरहेको छ । इँटा छापिएको बाटामा बर्खाको पानीले लेउ लागेको छ । चर्को घाम लागेर होला हरेक मानिस आ–आफ्नै घरका झ्याल, बरन्डा तथा छतबाट नियालिरहेका छन् । बाजाका तालमा नाचिरहेका प्रत्येक दर्शकको ध्यान भने त्यही लाखेनाचमा छ । जात्राको माहोल रोमाञ्चक बन्दै छ । लाखेसँगै नाच्ने ख्यालीको चर्तिकला झन् रमाइलो छ ।
लाखेनाच नुवाकोट दरबार क्षेत्रका साथै त्रिशूली बजार, बगुवा, बट्टार बजार, ढिकुरेलगायत नेवारबस्तीमा धुमधामका साथ नचाइन्छ । वैश्विक जगत्मा नेपालको सांस्कृतिक सम्पदामध्ये नेवार समुदायको सांस्कृतिक गतिविधिले प्रमुख स्थान ओगटेको छ । जात्राको स्वरूप र प्रस्तुति हेर्दा, बुझ्दा यसमा बौद्ध र सनातन वैदिक संस्कृतिको प्रस्टैसँग सम्मिश्रण भएको पाइन्छ । नेवार संस्कृतिको केन्द्र निश्चय नै नेपाल उपत्यकाका तीन सहर कान्तिपुर, भादगाउँ र पाटन हुन् । यस संस्कृतिले वास्तवमा लिच्छविकालमै आफ्नो पहिचान बनाइसकेको थियो, मल्लकालमा अरू विकसित भयो, तर त्यसपछिका कालखण्डमा विकास र विस्तारभन्दा पनि विकसित र विस्तारित स्वरूपको संरक्षण भइरहेको मान्नुपर्छ । नेवारहरू देशका विभिन्न ठाउँमा जहाँ–जहाँसम्म पुगे, आफ्नो संस्कृतिसँगै आबद्ध भएर रहे । नुवाकोटको नेवार समुदायले पालन र संरक्षण गरेको संस्कृति उपत्यका परम्पराको परिपालन र निरन्तरता हो भनेर बुझ्दा हुन्छ । अर्थात् नुवाकोटका नेवारलाई संस्कृति पालनका सजीव दृष्टान्तका रूपमा हेर्नु, बुझ्नुपर्छ ।
गुठी नेवार समुदायलाई व्यवस्थापन गर्ने सङ्गठन, प्रथा हो । यसको उद्देश्य धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्य व्यवस्थित ढङ्गले सञ्चालन गर्नु हो । यसले यावत् सामूहिक भावनाकै कारण सम्पूर्ण समुदायलाई भावनात्मक रूपमा एकबद्ध गर्न र राज्यशक्तिमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । नुवाकोट दरबारपरिसरमा पनि पूजाआजा तथा जात्रा गुठीमार्फत नै गरिने परम्परा छ । अचेल यो बिस्तारै हराउँदै गएको छ । नेवार समुदायले अँगालेका अनेक जात्रापर्व जीवित छन्, तर कतिपय मौलिक पहिचान आगन्तुक परम्पराको थिचोमिचो बढिरहेका कारण लोप हुने क्रममा छन् । कला र संस्कृतिको धनी नुवाकोटमा भने अझै पनि धेरै जात्रापर्व जीवन्त छन् । यसकारणले नुवाकोट मण्डलसँग सांस्कृतिक नगरीको ख्याति कायम छ । काठमाडौँ उपत्यकाको उत्तरतर्फ जोडिएको जिल्ला नुवाकोटका अधिकांश नेवार तीन सहरबाट बसाइँ सरी आएको इतिहास पाइन्छ । यसकारण पनि त्यहाँको रहनसहन उस्ताउस्तै पाइन्छ । काठमाडौँ, नुवाकोट पारिवारिक सम्बन्ध पनि उत्तिकै मजबुत छ जुन यहाँका चेलीबेटीको घर–माइती मान्न सकिन्छ ।
जिल्लाका विभिन्न नगर, टोलमा देखाइने आफ्नै मौलिक कला झल्कने लाखेनाचले नुवाकोटको लोकसंस्कृतिको गरिमा र इतिहासलाई उच्च राखेको छ । लाखेनाचसँग यहाँका सबै नेवार जातिको सांस्कृतिक एकता गाँसिएको छ । गत साउन १८ गते गथांमुगः (गठेमङ्गल) देखि नुवाकोट दरबारपरिसर जात्रामय थियो । यहाँको नेवार समुदाय अहिले लाखेनाच जात्रामा व्यस्त छ । यसरी मनाइने विभिन्न पर्व तथा नाच प्रायः देवीदेवतासँग जोडिएका हुन्छन् । काठमाडौँमा जस्तै नुवाकोट दरबार आसपासका नेवार बस्तीमा पनि वर्षभर विभिन्न चाडपर्व तथा जात्रा हुने गर्छ । परम्परागत चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृतिमा काठमाडौँ र नुवाकोटमा प्रशस्तै समानता छ । स्थानीय बुढापाकाका अनुसार नुवाकोटको एउटा लाखे सानो लाखे हो, जसलाई नाट्येश्वरी (सरस्वतीको रूप) मानिन्छ । देवी (नाटेश्वरी) चढ्ने र एकदम सुसम्पन्न तथा शक्तिशाली भएकाले यहाँको लाखेलाई तत्कालीन शासकले काठमाडौँ निमन्त्रणा गरी कान्तिपुरका लाखेसँग प्रतिस्पर्धा गराएका थिए । सानो लाखेले काठमाडौँको लाखेलाई परास्त गरेपछि ठुलो लाखे बकसस्वरूप प्राप्त भएको किंवदन्ती छ । त्यस समयमा ठुलो लाखेलाई तादी र त्रिशूली नदी नकटाउने र कटाउनैपरे सरकारको स्वीकृति लिनुपर्ने वा नाट्येश्वरी पूजामार्फत पुकार गर्दा हुने थियो । सानो र ठुलो लाखे सँगै नचाउनू भन्ने आदेश रहेको द्वारे महेन्द्रकुमार शाही बताउँछन् ।
नुवाकोट दरबार क्षेत्रमा लाखेनाचको जगेर्ना गर्नका लागि नुवाकोट दरबार लाखे संरक्षण समितिका पहलमा मेला तथा पर्वमा आयोजना गरिने स्थानमा आफ्नो लाखेनाच प्रदर्शन गर्ने गरिएको छ । यहाँ लाखे नचाउँदा ठुलो लाखे धामी (भैरवीका पुजारी) का घरबाट र सानो लाखे द्वारे (सरकारी प्रतिनिधि)का घरबाट निकालिने परम्परा रहिआएको छ । पहिले–पहिले लाखे बन्ने व्यक्ति नेवार मात्र हुन्थे । अहिले अन्य जातका पनि बन्ने गरेको पाइन्छ । लाखेलाई कंसका रूपमा लिने भएकाले लाखे बन्दा लगाइने मुकुट राक्षसको रूप मानिन्छ । ठुल्ठुला आँखा र दाह्रा निस्केको रूप, विशेष चोलो, जामा र घँगलामा आकर्षक देखिने लाखे डरलाग्दो पनि हुन्छ ।
नुवाकोट लाखेनाचको अर्को आकर्षण पनि छ । देवी नाटेश्वरी चढेर कामेको लाखे । श्रीकृष्ण जन्माष्टमीभन्दा केही दिनअघि स्थानीय समुदायले नाट्येश्वरी मन्दिरपरिसरमा विशेष साइतमा कालो बोका बलि दिएर पूजा गर्छन् । पूजा सकिएपछि गुठीयारका केही व्यक्ति (लाखेनाच्न जान्ने)हरूले ‘सी’ खाने परम्परा छ । ‘सी’ खाइसकेपछि ती व्यक्तिमा नाट्येश्वरी चढ्ने विश्वास छ । ती व्यक्ति पलैपालो काम्न थाल्छन् । त्यस्तो बेला उनीहरूलाई समात्न हम्मेहम्मे पर्छ । ४–५ जनाले समातेर उनीहरूलाई लाखेको पहिरन पहिराइन्छ । जुन समय लाखे तथा सेवकका लागि कष्टकर मानिन्छ । केही समय बाजाको तालमा नचाएपछि बिस्तारै काम्न छाड्छन् । श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मेपछि लाखे मर्छ ।
कतिपय लेखमा नुवाकोटबाट उपत्यका गएका ठकुरी राजाले लाखे भित्र्याएका भन्ने पनि पाइन्छ । नेपालकै अन्य समुदाय र पर्यटकका लागि लाखेनाच नौलो र रोचक मानिन्छ । बाजाको तालमा स्थानीय तथा राष्ट्रिय लोकधुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शक रमाउने गर्दछन् । दरबारपरिसरमा यो नाच तान्त्रिक विधिमार्फत अनुष्ठान गरिने भएकाले अझै विशेष मानिन्छ ।
गाईजात्रा
भदौ कृष्ण प्रतिपदा अर्थात् गाईजात्राको दिन भैरवी मन्दिरपरिसर (स्थानीयवासी मृतक परिवारको घर)बाट बुढी गाई र दिवङ्गत आफन्तका सम्झनामा एक–एक गाई ख्याली तथा जोगी निकालिन्छ । स्वर्गवासी व्यक्तिको आत्मालाई शान्ति मिलोस्, निरन्तर स्वर्गमा वास होस् अर्थात् उसले गरेका पाप नष्ट भई जाऊन् भन्ने मान्यताका साथ पूजा गरी पहेँलो वस्त्रमा बजार परिक्रमा गराइन्छ र हरेक घरपरिवारले मिठाई तथा फलफूल र द्रव्य दान गर्ने परम्परा छ । त्यसमा भैरवी भजनमण्डलीको पनि साथ रहन्छ । राजा प्रताप मल्लले आफ्नो पुत्रवियोगमा रहेकी रानीलाई सारा प्रजाले पनि यस्तै शोक व्यहोर्नुपरेको देखाउनका लागि हरेक मृतकका घरबाट गाई निकाल्नू भन्ने आदेश रहेकाले यो जात्रा प्रचलनमा आएको किंवदन्ती छ । यही दिन केही ख्याली बनेका युवा समाजका कुरीति, कुसंस्कार तथा राज्यमा देखिएका विकृतिलगायत विरुद्धमा व्यङ्ग्य गर्छन् । तिनको शैली रोचक र जनचेतना निम्ति सहयोगी हुन्छ ।
लाखे जात्राका बिचमा टाकटुके, विवाह, सिपाही (सरकारी जात्रा), रोपाइँ जात्रा मनाइन्छ । गाईजात्राको भोलिपल्ट सिपाही जात्रा मनाइन्थ्यो जुन अहिले लोप हुने अवस्थामा छ । नुवाकोटकै नेवार समुदायमा स्थानअनुरूप लाखेनाच फरक–फरक तरिकाले नचाइन्छ । त्रिशूली, बट्टार, ढिकुरे, बेत्रावतीलगायत बजारमा फरक–फरक तरिकाले लाखेनाचने गर्छन् । कहीँ एक मात्र लाखे र ख्याली हुन्छन् भने कहीँ एकभन्दा बढी लाखे र ख्याली हुन्छन् । यी सम्पदा आफूलाई चिनाउने, इतिहासबोध गराउने निधि हुन् । यिनको संरक्षण हुनुपर्छ । यो राज्यको दायित्व त हो नै नागरिकको झनै बढी हो किनभने संस्कृति नष्ट भएको राष्ट्र, राष्ट्रका रूपमा जीवित रहँदैन । राष्ट्रलाई जीवन्त राख्न स्वदेशी संस्कृति संरक्षण भएको हुनुपर्छ ।