- रत्ननिधि शुक्राचार्य
जनवादी गणतन्त्र चीनमा सन् १९४९ मा आफ्नो नेतृत्वमा भएको सशस्त्र क्रान्तिपछि माओ त्से तुङ सत्तामा गएनन् । उनी मात्र होइन, उनका कोही नातेदारसम्म पनि सत्तामा लगिएनन् । ह्वाको फङ, तेङसियाओ फङ माओका नातेदार होइनन् । माओकै पालामा ग्याङ अफ फोरमाथि कारबाही गरिएको थियो, यसमा प्रत्यक्ष लिन पियाओ र माओकी श्रीमती चियाङ चिङसमेत संलग्न थिए, उनीहरूले माओका आडमा सांस्कृतिक क्रान्तिका नाममा उग्र कदम चालेका थिए । सांस्कृतिक क्रान्तिका नाममा चीनमा भएको सो विध्वंसलाई विश्वमै सकारात्मकरूपमा हेरिँदैन । ठिक यस्तै उपद्रव माओवादीले पनि १० वर्षसम्म गर्यो । हुन त माओवादी यस उपद्रवलाई जनविद्रोह वा जनयुद्ध भन्छन्, तर सो विद्रोहमा जनता संलग्न नरहेको र जनसमर्थन पनि नभएकाले विशुद्ध रूपमा त्यो अराजक वामपन्थी भड्काव थियो । उसो त माओका नाममा खोलिएको सो पार्टीको क्रियाकलाप ठ्याक्कै माओका लाइनको विपरीत छ । माओले आफ्नै देशमा रहेर क्रान्ति गरे, नेपालका माओवादीले भारतीय भूमिमा रहेर, भारतीय हतियार प्रयोग गरेर नेपालमा आक्रमण गरेका थिए । चीनको क्रान्ति माओको कम्युनिस्ट पार्टी र च्याङकाई सेकको राष्ट्रवादी पार्टीको अगुवाइमा भएको थियो । तत्कालीन चीनमा आठ कम्युनिस्ट पार्टी र ६ डेमोक्र्याट पार्टीले माओलाई संयुक्त नेता चुनेर क्रान्ति गरेका थिए । नेपालको माओवादीले भने प्रजातन्त्रवादी (काङ्ग्रेस–एमाले) लाई खोजी–खोजी १० वर्षसम्म कथित जनयुद्धका नाममा काट्यो, तर प्रायः एउटा पनि राजावादी त्यस अवधिमा मारिएनन्, न त कोही विदेशीमाथि नै आक्रमण भयो । त्यतिबेला उनीहरूले विशुद्ध रूपमा शिक्षक र तल्ला तहका राजनीतिक कार्यकर्तालाई तारो बनाएका थिए । नेपालका माओवादीले शेरबहादुर देउवा, सुजाता कोइरालालगायत ठुल्ठुला हस्तीबाट चन्दा लिएको समाचारमै आएको थियो । चिनियाँ क्रान्तिमा आठ अनुशासनसम्बन्धी नियम बनाइएको थियो । त्यसमध्ये जनताबाट सियो, धागोसम्म नलेऊ भन्ने थियो भने बदलाको भावनाले कारबाही गर्न पाइने थिएन । यसै गरेर आफैँले उत्पादन गरेर पार्टीको खर्च धान्नुपथ्र्यो । पार्टीमा बढीभन्दा बढी बुद्धिजीवीलाई गोलबद्ध गरिएको थियो । चिनियाँ सेनाले कब्जा गरेको भूभागमा हरित क्रान्ति अनिवार्य थियो । तसर्थ चिनियाँ क्रान्तिको कुनचाहिँ कुरो नेपालको माओवादीले अनुशरण गर्यो भन्ने प्रश्न उठ्दा उत्तर पाइँदैन । नेपालका माओवादीले एकातिर नरसंहार र अर्कातिर भौतिक संरचना ध्वस्त पारेर देशलाई दुई सय वर्ष पछाडि धकेलेका थिए । आज नेपाली युवा बिदेसिनुपरेको मुख्य कारण माओवादी नै हो । अन्न निर्यातक देश आज परनिर्भर बन्नुपरेको छ । यो पनि माओवादीकै कारण हो । वास्तवमा यदि नेपालमा माओ थिए भने माओवादीका अधिकांश नेता तथा कार्यकर्ता राज्यद्रोहको अभियोगमा या त फाँसी चढ्थे या त देश निकाला हुन्थे । तसर्थ माओवादीको उपद्रव एक कालो इतिहास थियो । हो, आज माओवादी शान्तिका मूलधारमा आएको छ, यो सकारात्मक हो । तैपनि माओवादी अझै पनि लोकतान्त्रिक बन्न सकेन, यो भने दुःखद नै हो ।
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी फुटका मारमा माओवादी केन्द्र नै परिरहेको छ । एकातिर पुष्पकमल दाहाल प्रचण्ड समूहको परिवारवाद हाबी रहेको माओवादी छ भने अर्कातिर १० वर्ष बन्दुक बोकेर पनि पीडित अवस्थामा रहेको समूह ठुलो सङ्ख्यामा मौजुद छ । बितेका १८ वर्षमा दाहाल मात्र तीनपटक प्रधानमन्त्री भए भने झन्डै ४८ वर्षदेखि उनी नै माओवादीको नेतृत्व लिइरहेका छन् । यसबिचमा तीन राजा फेरिए भने नेपाली काङ्ग्रेसमा सभापति र नेकपा (एमाले) मा अध्यक्ष नै धेरैजना भइसके । तर, माओवादीमा एउटै व्यक्ति र परिवार सत्तासीन छ, पार्टीमा हाबी छ । माओवादीको विगत हेर्ने हो भने २०६३ देखि हालसम्म बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, गोपाल किराँती, आहुति, भावना प्रसाईंको समूहलगायत आठौँ चिरामा विभक्त छ । रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी तथा मणि थापा आदि माओवादी त्यागेर एमालेतिर गइसकेका छन् । यतिबेला नेतृत्व परिवर्तनको कुरा पनि यदाकदा चल्न थालेको छ । हालसम्मको माओवादी केन्द्र दाहाल, वर्षमान पुन र कृष्णबहादुर महराको वरिपरि मात्र सीमित छ । दूरदराजमा रहेका हिजोका माओवादी कार्यकर्तालाई नेतृत्वले बिर्सिसक्यो, आज चिन्दै चिन्दैन । हुन त जनार्दन शर्माले पहिले पनि विद्रोही स्वर नझिकेका होइनन्, कालान्तरमा दाहालकै सेरोफेरो बसेका थिए । तसर्थ अहिलेको फरक मत पनि त्यही खालको हुँदैन भन्ने आधार छैन । के पनि भनिन्छ भने दाहाल स्वयम्ले अराएर नै यसो गरिन्छ । आफ्नाबाट विरोध गराएपछि अरू ढुक्क परेर बस्छन्, अनि पछि आफूमै समाहित गरिदियो, विद्रोह त्यसै सेलाएर जान्छ, विरोधको लेठै खत्तम । यसरी वर्षाैँ वर्ष बितिसकेका छन् । फेरि अहिलेको माओवादी केन्द्रमा कुनै विचार, दर्शन वा सिद्धान्त पनि देखिँदैन । कहिले काङ्ग्रेससित ठ्याम्मै गला जोडेको छ भने कहिले एमालेसित । एमालेसित त अघिल्लो चुनावमै पार्टी एकीकरण गरिएको पनि थियो, तर त्यो दिगो भएन र फेरि बेग्लाबेग्लै भए । तर, अहिले काङ्ग्रेस र एमालेको गठबन्धन भएपछि माओवादी केन्द्रमा अन्तर्कलहको सङ्केत देखिएको हो । कसैले यसलाई नाटकका रूपमा हेरेका छन् भने कसैले फेरि सत्तामा जाने दाउका रूपमा लिएका छन् । जे भए पनि माओवादी अब सत्तामा पुग्न निकै गाह्रो छ । दाहाल नेतृत्वबाट नहटी पुनः सत्ता प्राप्त हुन सक्दैन र उनी नेतृत्वबाट हट्न सक्ने सम्भावना पनि छैन ।
नेपालमा कम्युनिस्ट पार्टीमा फुट किन आउँछ ? यस प्रश्नको उत्तर पाउन सकिँदैन । सबै कम्युनिस्ट पार्टी आफुलाई सर्वहाराको मुक्ति दिने पार्टीका रूपमा सम्झन्छन्, तर यथार्थमा नेपालका वामपन्थी सिद्धान्तको विपरीत व्यवहार गर्छन् । माओवादीको उदय ४० सूत्रीय मागबाट भएको हो । उनीहरू सामन्ती व्यवस्थाविरुद्ध थिएनन् भन्ने यसले पुष्टि गर्छ । जहाँसम्म पुष्पलालको कुरा छ, उनले माक्र्सवाद पढेर, बुझेर नै व्यवस्था परिवर्तन गर्न लागेका थिए । उता झापा विद्रोह नक्सलवाडी विद्रोहका नायक कानु सन्यालको प्रभावले भएको थियो । यो घटना २०२७ तिरको हो । यसलाई नेकपा (मसाल) ले वामपन्थ भड्कावका रूपमा लिएर २०२९ को चौथो महाधिवेशन गरेर झापा विद्रोहलाई नितान्त व्यक्तिहत्या हो भनेर अलग्गै समूह भएर बस्यो । मसाल याने चौथो महाधिवेशन गुट चीनविरोधी अभियानमा लाग्यो, फलस्वरूप यसका महामन्त्री मोहनविक्रम सिंह भारतमा रहेर नेपालमा चीनविरोधी गतिविधि गर्दै रहे र सो समूहमा फुट आयो । निर्मल लामाले चौथो महाधिवेशन गरे र सिंहको समूह मसालका नामबाट परिचित रह्यो । यो मसाल पनि पछि मोटो मशाल र पातलो मसालका रूपमा विभाजन भयो । शेरसिंहको बहिर्गमनपछि मोटो मशाल एकता केन्द्र भयो, यसले नै माओवादको अवधारणा ल्याएको हो । मालेले २०३४ सालपछि आफूलाई सच्याएर माओ विचारधाराका आधारमा पार्टी अघि बढायो भने २०४७ माघमा १७ पार्टीसहित एकीकृत हुँदा माओ विचार परित्याग गरी माक्र्सवादी लेनिनवादीका रूपमा हालसम्म आफूलाई परिचित गराइरहेको छ । एमालेमा पनि पटकपटक फुट भयो, २०५४ सालमा वामदेव गौतम र २०७८/०७९ मा माधवकुमार नेपाल यस फुटका नेतृत्वकर्ताका रूपमा परिचित छन् । त्यसो त काङ्ग्रेसमा पनि २०५९ सालमा फुट आएर पछि पुनः एकता भएको थियो । यसरी सामान्य फुट र जुट हुँदै गरेका नेपालका पार्टीभन्दा माओवादीभित्रको फुट विलकुल भिन्न देखिन्छ । भविष्यमा मिल्नै नसक्ने गरी फुट हुने माओवादी केन्द्र नेतृत्वमा रहेकाको सत्तास्वार्थ र व्यक्तिवाद नै हो भन्न सकिन्छ । माओवादी केन्द्रमा लागेकामध्ये एकदमै कम मान्छे मात्र स्वार्थरहित देखिन्छन् । त्यसमा पनि देश र जनता भन्ने त नारा मात्र हो, व्यवहारमा जनता चुस्ने र आफु मोटाउने मात्र हो भन्ने कुरा माओवादी केन्द्र सरकारमा हुँदा भएका ठुल्ठुला सुनकाण्डले नै बताउँछ । एकपल्ट रुसी नेता भिआई लेनिनले भनेका थिए, समाजवादमा सुन शौचालयमा लेपन लगाउन मात्र काम लाग्छ, अन्यत्र काम लाग्दैन । तर, माओवादी केन्द्र सत्तामा हुँदा भएको सुन तस्करी बयान गर्नलायक पनि छैन । अरू महँगी, अन्याय र शोषणले त पराकाष्ठै नाघेको थियो ।
सत्ताबाट ओर्लिएपछि अहिले फेरि माओवादी केन्द्रले समाजवादी गोलबन्द गर्ने नारा अघि सारेको छ । स्वयम् माओवादी नाम यति अलोकप्रिय छ कि आमजनता यो नाम नै सुन्न चाहँदैनन् । यस पार्टीले ढाँट्दा–ढाँट्दा अब ढाँट्ने ठाउँ नै बाँकी छैन । तसर्थ दाहाल नेतृत्वको माओवादी फुट्ना र जुट्नाको कुनै अर्थ छैन र यसले गर्ने समाजवादी नेतृत्वको पनि अर्थ छैन, किनकि यो पार्टी आमजनताबाट अब बहिष्कृत हुँदै जाने निश्चित छ, भविष्य त्यति राम्रो देखिँदैन ।
¬¬