- आचार्य वासुदेव नेपाल
यस वर्ष बुबाको मुख हेर्ने दिन/कुसेऔँसी/मोतीराम भट्ट जन्मजयन्ती यही भदौ १७ गते सोमबार परेको छ । हिन्दुका लागि बाबुको मुख हेर्ने दिन र भाद्रकृष्ण आँैसीको महत्व बेग्लै छ भने साहित्य क्षेत्रमा लाग्ने मोतीराम भट्टलाई प्रेरणाको स्रोतका रूपमा लिन्छन् । कु–शब्दको अर्थ पाप र श–शब्दको अर्थ शमन गर्ने हो । कु र श मिलेर कुश शब्द हुन्छ । पापलाई नाश गर्ने भएकाले कुश धार्मिक, वातावरणीय र आयुर्वेदिक तीन रूपमा महत्वपूर्ण छ । भनिएको छ :
कुशमूले स्थितो ब्रह्मा कुशमध्ये जनार्दनः ।
कुशाग्रे शंकरो देवस्त्रयो देवाः कुशे स्थिता ।।
(कुशका मूलभागमा ब्रह्मा, बिचमा विष्णु र टुप्पामा शिवजीको वास हुन्छ । त्यसकारण कुश हरेक शुभकार्यका लागि प्रयोग गरिन्छ ।) स्नान, दान, जप, होम, स्वाध्याय, श्राद्ध र सन्ध्यातर्पण आदि विभिन्न कर्म गर्दा कुश हातमा लिएर मात्र गर्नुपर्छ जसले गर्दा कर्ममा पवित्रता हुन्छ । इन्द्रको बज्र, विष्णुको चक्र र शिवको त्रिशूल जस्तै पण्डितको पवित्र कुश हतियारजस्तै हुन्छ जसले प्रयोग गर्नेलाई सुरक्षा दिन्छ । कुशको (दर्भको) वर्गीकरण यसप्रकार छ । कुश, काँस, जौ, दुबो, उशीर (खस), कन्दुक (एक किसिमको तृणविशेष) गहुँ, धान, मुँज, बल्लज अर्थात् बाबियोसमेत गरी १० किसिमका दर्भजाति मानिएका छन् । ब्रह्माजीका साथमा कुशको उत्पत्ति भएको मानिन्छ । अर्काे कुरा स्वस्थानी कथामा एक प्रसङ्ग छ– जब जालन्धर दैत्यले लोकमा उपद्रव, अत्याचार मच्चायो, तब उसलाई नमारी अत्याचार शान्त नहुने भयो । अनि भगवान् शंकर जालन्धरसँग युद्ध गर्न लाग्नुभयो, तर उसकी पत्नी वृन्दा ज्यादै पतिव्रता भएकी हुँदा उसका धर्मका कारण उसलाई मार्न सकेनन् । अनि विष्णुले लोककल्याण गर्न जस्तोसुकै सजाय भोग्नुपरे पनि भोग्ने, तर जालन्धरलाई मार्न वृन्दालाई छल गरी उनको पतिव्रता धर्म नष्ट गराउने र शंकरमार्फत मराउने सल्लाह गरी जालन्धरको रूप धारण गरे र उनको पतिव्रता धर्म नष्ट गरेपछि उनका पतिलाई शंकरले मारे । पछि विष्णुले छल गरी आफ्नो सतित्व नष्ट गरेको वृन्दाले थाहा पाएर विष्णुलाई ढुंगो हुनुपरोस्, रुख–झार र घाँस भएर रहनुपरोस् भनेर दिएको श्राप पूरा गर्न शालिग्राम, तुलसी, रुख पिपल र कुशका रूप लिए । विष्णुको रूप भएको हुँदा कुश पवित्र मानिएको हो ।
अर्काे पौराणिक कथा पनि छ– भगवान्ले बराह (बँदेल)को रूप लिई हिरण्याक्ष दैत्यलाई मारी पृथ्वीको उद्धार गर्दा ठूलो परिश्रम परेकाले थकाई लागेर समुद्रका किनारमा बालुवामाथि विश्राम गर्न सुत्नुभएछ । बराह भगवान् सुत्नु हुँदा उहाँका केश झरेर त्यसबाट कुशको उत्पत्ति भयो । यो पौराणिक उपाख्यानहरूमा पाइन्छ । यस दिन पितृहरूलाई तर्पण तथा पिण्डदानसमेत गर्दा तिनको मुक्ति हुने र छोरानातिलाई यस लोकमा सुखसमृद्धि र परलोकमा पुण्य प्राप्त हुने भएकाले बाबु हुनेले उनको मुख हेर्ने र नहुनेले तर्पण, पिण्डदानादि गरेर तृप्त गराउने शास्त्रानुकूल परम्परा पनि छ । यसकारण आफ्नो सुरक्षा कवचका रूपका कुशको संरक्षण गरी यस दिन पूजा गरी काटेर राख्दा वर्ष दिनसम्म बासी हुँदैन । यस दिन कुश काट्ने गरिएको हुँदा कुसेऔँसी भन्ने परम्परा चलेको हो ।
प्राचीनकालदेखि मानवजीवन र कुशबिच अन्योन्याश्रित सम्बन्ध थियो । कुशका अवस्थाअनुसार फरक नाम छन् – फूल नफुलेको कुशलाई दर्भ, फूल फुलेपछि कुश, जरासहितको भागलाई कुतप र अगाडिको भाग काटेमा तृण । दुधमा कुश राखेर तताए फाट्दैन । कुशलाई भगवान्का रौँबाट उत्पन्न भएको मानिन्छ । देवकार्य, पितृकार्य, रोग निराकरण, ग्रहशान्तिका लागि अनेक वनस्पति लगाइन्छ, तीमध्ये कुश पनि एक हो । ज्योतिष ग्रन्थहरूमा ग्रहशान्तिमा वनस्पतिलाई कसरी उपयोग गर्ने भन्ने सम्बन्धमा अनेक विधि उपलब्ध छन् । कुश लगाउँदा कम श्रम, शक्ति र समयमा अधिक कार्य गर्न सकिन्छ । एकपटक पढेको, देखेको, उपदेश गरेको विषयलाई सम्झिरहने मानिसलाई मेधावी वा कुशाग्र बुद्धि भएको मानिन्छ । कुशको अग्रभाग तिखो हुन्छ अर्थात् कुशजस्तो पवित्र र तिख्खर दिमागलाई कुशाग्र बुद्धि भनिन्छ । कुशले शरीरलाई स्वस्थ, बुद्धिलाई तेज र विचारलाई पवित्र बनाउन सहयोग गर्छ ।
महाभारतको कथाअनुसार गरुडले सर्पहरूबाट बन्धक बनाइएकी आफ्नी आमाको मुक्तिका लागि अमृत ल्याएर दिएका थिए । सर्पहरू अमृतपान गर्नुभन्दा पहिले स्नान गर्न गए । गरुडले पनि अमृतलाई कुशमाथि राखेर आफ्नी आमा लिएर घर फर्किए । सर्पहरू नुहाएर आउँदा त अमृत देखेनन् । कुशमा पोखिएको अनुमानले कुश चाटे । कुशको धारले काटेको हुनाले त्यतिबेलादेखि सर्पको जिब्रो दुईवटा भयो । अमृतको स्पर्शले कुश पवित्रतम् भयो भनिन्छ । अमृतको स्पर्श भएकाले कुश लगाउनाले शरीरमा शक्ति आउँछ, रोगको निराकरण हुन्छ, कुसेऔँसीका दिन ब्राह्मण वा भान्जाहरूले घरका छानामा कुश सिउरिदिन्छन् । कुश विद्युत्को कुचालक हो, यसले घरगोठ आदिमा चट्याङ पर्न दिँदैन ।
कुशले शरीरमा आउने प्रतिकूल तरङ्गको न्यूनीकरण गर्छ, रिस नियन्त्रण गर्छ, शत्रुको रिसबाट बचाउँछ । कुशलाई कवचका रूपमा, जरालाई औषधिका रूपमा प्रयोग गरिन्छ । कुशघारी वा बाँसघारीबाट बगेको पानी राम्रोसँग छानिन्छ र पिउनलायक हुन्छ भन्ने विषयमा वैज्ञानिक पनि सहमत छन् । त्यसैले कुशको आध्यात्मिकका साथै व्यावहारिक महत्व छ ।
हरेक कार्यका लागि आवश्यक पर्ने एकाग्रता, शुद्धता, संयमता आदि शक्ति कुशका आँठी वा स्पर्शबाट प्राप्त हुन्छ । कर्मपात्रोको पानीले यज्ञस्थल आदिलाई पवित्र गराउन कुशपानी छर्ने चलन छ । उपनयन संस्कारमा कुशको जनै लगाएर मात्र धागाको जनै लगाइन्छ । तिजका व्रतमा महिलाहरू कुशको जनै, कन्दनीका साथै टाउको बाँध्ने काम गर्छन् । कुश हरेक वर्ण, जाति र लिङ्गका मानिसले लगाउन हुन्छ । यसको स्पर्शले शरीर पवित्र हुन्छ, देवताको आगमन हुन्छ, आसुरी प्रवृत्ति नाश हुन्छ । कुशबिनाको धार्मिक अनुष्ठान, जल स्पर्शबिनाको दान, मालालाई प्रयोग नगरीकन गरिएको जप सङ्ख्या सबै निष्फल हुन्छन् भनिएको छ । कुशले छर्किएको जलबाट यज्ञस्थल शुद्ध तथा आयोजक र उपस्थित महानुभाव शारीरिक र मानसिक रूपले ऊर्जाशील हुन्छन् । शुद्धि भएपछि मात्र अनुष्ठान गर्नुपर्ने शास्त्रीय मान्यता छ । त्यसैले नुहाउँदा, होम, जप, दान, स्वाध्याय, पितृकार्य, सन्ध्या, अभिवादनलगायत कर्ममा दुवै हातमा कुशको पवित्र (आँठी) धारण गर्नुपर्छ ।
कुशको महत्व र उपयोगितालाई बुझेर प्राचीनकालदेखि घरनजिकै लगाउने चलन छ । कुशको पवित्र धारण गर्ने परम्पराकै नक्कल गर्दै अहिले अनेक धातुका औँठी, सिक्री लगाउने चलन बढ्दै गएको छ । कुशको औँठी साहिँली औँला (अनामिका)मा लगाइन्छ । साहिँली औँलाको फेदलाई सूर्य क्षेत्र भनिन्छ । हस्तरेखाविद्ले यस क्षेत्रमा मानिसको शारीरिक र मानसिक शक्ति, जागिर एवं रोजगारको अवस्था, साहस र धैर्यलगायत पक्ष हेर्छन् । कुशले यी सबै पक्षलाई बढाउन सहयोग गर्छ । कुश लगाउने र प्रयोग गर्ने विधिलाई ध्यान दिइएन भने त्यसले अपेक्षाकृत फल दिँदैन । देवतालाई कुशको अग्रभाग (अगाडि)बाट, ऋषिगणलाई बिचका भागबाट र पितृलाई जराबाट तर्पण दिनुपर्छ । वैदिक साहित्यमा यसको अनेकौँ ठाउँमा उल्लेख पाइन्छ । अथर्ववेदमा यसलाई क्रोधशामक र अशुभनिवारक बताइएको छ भने कौटिल्यका अनुसार यसबाट एक विशेष प्रकारको तेल पनि निकालिन्थ्यो । भावप्रकाशानुसार कुश त्रिदोषघ्न (कफ, वात, पित्त) र शैत्यगुण (शीत) विशिष्ट हो भने यसको जराले मूत्रकृच्छ, अश्मरी, तृष्णा, वस्ती र प्रदररोगसमेतमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
भाद्रकृष्ण औँसीका दिनलाई कुश चयनका साथै पितृसम्मान दिवसका नामले पनि चिनिन्छ । लौकिक भाषामा यसलाई बुबाको मुख हेर्ने दिनका नामले व्यवहार गरिन्छ । पिता जीवित हुनेले स्वादिष्ट परिकार बनाएर उपयोगी सामग्री आदिद्वारा सम्मान गर्ने, दर्शन गर्ने, आफूले बनाएका परिकार खुवाउने चलन छ भने स्वर्गवास भएका पुत्रले चाहिँ नजिकको तीर्थ गोकर्ण आदिमा गएर पिताका नाममा उनलाई शान्ति मिलोस्, पितृलोकमा सहज वास होस्, विष्णुलोकको गमन होस्, कष्ट भए तिथिश्राद्ध एवम् पितृसम्मान दिवसमा पितृका नाममा गरेका दानपुण्य एवम् श्राद्धादिले उहाँको कल्याण होस् भन्ने कामना गरिन्छ । पिता शब्द ‘पा रक्षणे’ धातुबाट निष्पन्न हुन्छ, यसको निर्वचन हो ‘यः पाति स पिता’ अर्थात् जसले रक्षा गर्छ, त्यो पिता हो । मातापछि संसारमा यदि कोही वन्दनीय छ भने त्यो पिता नै हो । पितृ शब्दको व्यापक अर्थ छ । यसअन्तर्गत माता एवम् पिताका अलावा समस्त पूर्वज पनि आउँछन् । पुत्र प्राप्तिमा हरेक गृहस्थ अत्यन्त प्रसन्न हुन्छ, किनकि उसले उस (पुत्र)लाई आफ्नै प्रतिरूप सम्झिन्छ र उसका अङ्गप्रत्यङ्गमा आफ्नै दर्शन गर्छ । सामवेदीय ब्राह्मण ग्रन्थमा भनिएको छ, हे पुत्र ! तिमी मेरा अङ्गअङ्गले उत्पन्न भएको तेज र हृदयबाट उत्पन्न भएका हौ, यसैले तिमी मेरै आत्मा हौ उस (पिता)ले उस (पुत्र)लाई सय वर्षसम्म जीवित रहने कामना गर्छ । उसले पुत्र प्राप्त गरेर आफूले आफैँलाई धन्य सम्झिन्छ र उसलाई आफ्नो प्रतिनिधि मान्छ ।
अथर्ववेदमा भनिएको छ – ‘अनुव्रतः पितुः पुत्रो माता भवति संमनाः’ (पुत्र पिताको आज्ञाकारी होस् र मातामा श्रद्धा राखोस् ।) पुत्र शब्दको प्रयोग सन्तानका लागि हुन्छ । सन्तानसँग न केवल आज्ञाकारी हुन अपितु पिताको व्रत, सुनियम तथा सद्गुणको पालन गर्नेवाला हुनका लागि पनि कामना गरिएको छ । हरेक पिता चाहन्छन् कि उनका सन्तान धनधान्य र पदमा आफूभन्दा पनि उच्चस्थान प्राप्त गरून् । पुत्र या पुत्रीको आफ्ना तुलनामा अधिक प्रगति देखेर पितालाई इष्र्या हुँदैन अपितु अत्यत प्रसन्नता हुन्छ । मातापिताले आफ्नो सन्तानको पालनपोषण बिनास्वार्थले गर्छन्, यसैले माताका साथ पितालाई पनि देवता भनिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव ।’ यसैकारण सन्तानमा आफ्ना पूर्वजका ऋण चुकाउने दायित्व छ । सन्तानको कर्तव्य हो, उसले मातापिता, हजुरबुबाहजुरआमा आदि वृद्धजनको जीवनपर्यन्त सेवासुश्रुषा आदर एवम् स्नेहभावले गरिरहून् ।
कुनै बालकका जीवनमा उसका मातापिताको स्थान कसैले पनि लिन सक्दैन । तपाईंको पहिलो मित्र, पहिलो अध्यापक र एक मात्र संरक्षक मातापिता नै हुन्छन् जहाँ आमा आफ्नो मायाममताले दुनियाँका हरखुुसी दिने कोसिस गर्छिन् भने त्यही पिताको आफ्ना सन्तानमा खुसी बाँड्ने तरिका थोरै भिन्न हुन्छ । उनले तपाईंलाई प्रेमले कम हप्की–दप्कीले ज्यादा सम्झाउँछन् । उनको कठोरतामा स्नेह, प्रेम र सहानुभूतिको भाव लुकेको हुन्छ । उनले गाली त सबैको सामुन्ने गरिदिन्छन्, तर प्रेम र स्नेह भने एक्लै गर्न जान्दछन् । उनले न केवल प्रेम तपाईंसँग गर्छन्, अपितु वटवृक्षको भाँती तपाईंलाई र तपाईंको पूरा परिवारलाई आफ्ना छायामा राखेर संरक्षण पनि प्रदान गर्छन् । उनले तपाईंको हरेक ससाना आवश्यकता पूरा गर्नका लागि आफ्ना ठुल्ठुला आवश्यकतालाई पनि बलिदान गरिरहेका हुन्छन् । त्यसैले जीवनमा मातापिताको अति नै महत्वपूर्ण स्थान हुन्छ । मातापितामा हृदयतः नमन गर्नु, सेवासत्कार गर्नु सबै सन्ततिको परम् कर्तव्य हुन आउँछ ।
विद्यालय, गुरुकुल एवम् मठमन्दिरमा गएर ब्राह्मण भोजन गराउने पिताका नाममा छात्रवृत्ति राख्ने, पाटीपौवा, धर्मशाला आदिको निर्माण वा शुभारम्भ गर्नेजस्ता कार्य गर्ने पनि शास्त्रीय परम्परा रहेको पाइन्छ । पितृका नाममा गरिने कृत्यका लागि यो अत्यन्त पवित्र दिन हो । यसै तिथिमा काठमाडौँको गोकर्ण, सुनसरीका बराहक्षेत्र एवम् विष्णुपादुका, नुवाकोट–रसुवाका बेत्रावतीका साथै देवघाटादि तीर्थमा पनि पितृसम्बन्धी श्राद्धादि गरिन्छ भने घरघरमा कुश भित्र्याएर कुसेऔँसी मनाइन्छ ।
मोतीराम भट्ट
यसै दिन युवक कवि मोतीराम भट्टको जन्मदिन पनि मनाइन्छ । उनी काठमाडौँ, भोंसिको टोलमा कुसेऔँसीमा जन्मेर सोही तिथिमा नै स्वर्गवास गएका थिए । राष्ट्रिय विभूति भट्टले नै अर्का हाम्रा राष्ट्रिय विभूति भानुभक्त आचार्यबारे खोजी गरी जीवनी प्रकाशमा ल्याएका थिए । ३० वर्षकै उमेरमा उनले जीवन विसर्जन गरे पनि उनले नेपाली साहित्य र पत्रकारितामा लगाएको गुन बिर्सिनसक्नु छ । उनले खण्डकाव्यका साथै शृङ्गारिक गजलहरू पनि लेखेका छन् । बनारसबाट छापाखाना ल्याएर उनले यहाँ पत्रकारिता, साहित्यिक पत्रकारितामा योगदान दिए । मित्रमण्डली खोली साहित्यिक अन्तरक्रिया चलन पनि उनले चलाए ।
विदुर–५, द्वारपाल, देवीघाट, नुवाकोट