खम्पाक्याम्प । नुवाकोट जिल्ला, विदुर-६ खम्पाक्याम्प, चण्डीपोखरीमा निर्माणाधीन केन्द्रीय कारागारको पहिलो र दोस्रो चरणको काम सकिएसँगै गृह मन्त्रालयले गत भदौ १५ गते शनिबारदेखि क्षमताअनुसार क्रमशः कैदीबन्दी स्थानान्तरण गरिरहेको छ । उक्त कारागारभित्र निकृष्ट प्रकृतिका अपराध गरेका व्यक्ति राख्नका लागि निर्माण गरिएको ३० गोलघर (विशेष सुरक्षा कक्ष) मा भने कसैलाई नराखिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष रामकृष्ण अधिकारीले बताए । निकृष्ट प्रकृतिका अपराध गरेका, भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्ति र उनीहरूका कारण अन्य कैदी असुरक्षित हुने अवस्था भएमा त्यस्तालाई गोलघरभित्र राखिन्छ ।
गोलघरभित्रका कैदीले अन्य कैदीले जति स्वतन्त्रता पाउँदैनन् । उनीहरूलाई भेटघाटमा समेत कडाइ गरिन्छ भने टेलिफोन गर्दासमेत प्रहरीले निगरानी गर्छ । यसलाई विशेष सुरक्षा कक्ष पनि भनिन्छ जसमा यसअघि सिरियल किलर चाल्र्स शोभराज, गुण्डा नाइके रमेश बाहुन, रिगल भनिने योगराज ढकाललगायतलाई राखिएको जिल्ला कारागार नुवाकोटका कारागार प्रशासक इन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार मंगलबारसम्म एक नाबालकसहित १९ महिला, दुई सय २४ पुरुषसहित दुई सय ४४ जना कारागारमा छन् । त्यहाँका कैदीमध्ये एक सय ४८ जना नुवाकोटको साबिक कारागारबाट र ९५ जना भीमफेदी, लमजुङ, नक्खु, डिल्लीबजार, सिन्धुपाल्चोक, ओखलढुङ्गा कारागारबाट ल्याइएका छन् । पहिलो चरणमा तयार भएका पाँचमध्ये तीन ब्लकमा कैदीबन्दी राखिएको छ भने दुई ब्लकमा सुरक्षाका केही पूर्वाधार जडान गरेर थप कैदीबन्दी ल्याउने तयारी कारागार व्यवस्थापन विभागले गरिरहेको छ । नुवाकोटमा तयार भएको पाँच ब्लकमा एक हजार दुई सयभन्दा बढी कैदीबन्दी राख्न सकिनेसमेत विभागले जनाएको छ ।
अन्य कारागारका तुलनामा नुवाकोटको कारागारमा बस्नलाई सहज रहेको बताइएको छ । त्यहाँ सबै संरचना अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको विभागको जिकिर छ । ‘अन्य कारागारमा जस्तो त्यहाँ चाप हुँदैन । एउटा कोठामा कति जना राख्नुपर्ने हो, त्यति नै राखिन्छ । सबै कुरा मापदण्डअनुसार नै तयार छ,’ कारागार विभागका महानिर्देशकले जयराज आचार्यले भने, ‘पछि त त्यहाँ काम गर्न चाहनेका लागि विभिन्न कामको व्यवस्था हुन्छ ।’ नुवाकोट कारागारमा वर्कसपसँगै गलैँचा र मुढा बनाउने काममा कैदीलाई लगाउने तयारी भइरहेको छ । भोलिका दिनमा कैदीले काम गर्न इच्छा गरेका अरू व्यवसाय पनि थप गरिने कारागार प्रशासनले जनाएको छ । यस्तै, कारागारभित्रै विद्यालय, फुटबल मैदान र अस्पताल पनि हुनेछ ।
वि.सं. २०७० चैत २० का मन्त्रिपरिषद् बैठकले विदुरमा आव २०७७/०७८ भित्र कारागार निर्माणको काम गरिसक्ने निर्णय गरे पनि सरकारले आवश्यक बजेट विनियोजन नगर्दा र ठेकेदारको ढिलासुस्तीले तोकिएकै समयमा काम सम्पन्न हुन नसक्दा कारागार निर्माणको काम अघि बढेको १० वर्षमा बल्ल पहिलो र दोस्रो चरणको मात्रै संरचना निर्माण भएको हो । गुरुयोजनानुसार रु. सात अर्ब लागतमा सुविधासम्पन्न कारागार निर्माण गर्ने लक्ष्यसहित आव २०७१/०७२ देखि काम अघि बढेको थियो । कारागारका लागि सरकारले ६ सय २० रोपनी जग्गा व्यवस्था गरेको थियो । त्यसमध्येको पहिलो र दोस्रो चरणमा गरी रु. दुई अर्ब लागतमा निर्माण भइसकेको छ भने बाँकी संरचनाका लागि बजेट सुनिश्चित गरेर निर्माण अघि बढाइने विभागका महानिर्देशक आचार्यले बताए । प्रस्तावित सबै संरचना पूरा भएपछि नुवाकोट कारागारमा सात हजार कैदी राख्न सकिनेछ । यो भनेको देशका सबै कारागारको सङ्ख्याभन्दा पनि बढी हो ।