- रमेश सिलवाल
काठमाडौँ । नेपालमा गरिखाने गाउँघरमा आँखा नलाग्ने कुभिन्डो, केराको बुङ्गो र मकैको खोयोलाई पनि उपभोग्य बनाई बिक्रीबाट व्यवसाय चलाउन सकिँदोरहेछ भन्ने कुरा नुवाकोटका रामचन्द्र अगस्तिले प्रमाणित गरेर देखाइदिएका छन् । हरेक शनिबार दरबारमार्गस्थित रैथाने कृषि हाटबजारमा पुग्दा आफूले बेच्न राखेका सामानबारे जानकारी दिइरहेका उनी निकै व्यस्त थिए ।
उनी नेपालमा केही छैन भनेर निराशा मात्र छाइरहेका बेला दृढ इच्छाशक्ति र चाहना भयो भने यहीँ जे पनि गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका थिए । दक्षिण कोरियामा मासिक रु. तीन लाख २० हजार आम्दानी गरिरहेका लिखु-४ चौघडाका अगस्तिलाई अर्काका देशमा बगाइने पसिना आफ्नै माटामा पोख्ने हो भने यहीँ सुन फलाउन सकिन्छ भन्ने लागिरह्यो । नेपाल फर्केर आफ्नै बारीमा श्रम खर्चने हुटहुटीले त्यहाँको प्रवेशाज्ञावधि दुई वर्ष बाँकी रहँदा नै स्वदेश फर्कायो । बाबुबाजेले गरिरहेको कृषिकर्ममा नै आफ्नो भविष्य खोज्ने प्रण गरेर उनी जन्मथलो पुगे । दुःखसुख गरेर काठमाडौँमा बनाएको घर बेचेर गाउँ पुग्दा उनलाई धेरैले पागलसम्म भने ।
कृषि भनेको गरिब, दुःखीले मात्र गर्ने पेसा हो भन्ने बुझाइलाई परिवर्तन गर्नुपर्ने उनको धारणा छ । युवा पुस्तामा देखिएको कृषिप्रतिको वितृष्णा र विदेशप्रतिको मोह देख्दा उनी दुःखी छन् । ‘यसरी नै युवापुस्ता कृषि पेसाबाट भाग्ने र विदेश मात्र जाने हो भने देशमा भोकमरीको समस्या आउला भन्ने डर छ मलाई त,’ उनले भने, ‘सबैभन्दा पहिले त यस पेसाप्रतिको नकारात्मक धारणा हटाएर युवालाई आकर्षण गर्ने कार्यक्रम ल्याउन जरुरी छ ।’ कोरियाको तीनवर्षेे बसाइपछि नेपाल फर्केर कृषिमा बिताएका १० वर्षले उनलाई धेरै कुरा सिकाएको छ । हरेक कुरालाई जिज्ञासु भएर हेर्ने अगस्ति त्यसमा नयाँपनको खोजी गर्छन् र कुनै काम सहज र छिटोछरितो रूपमा कसरी गर्न सकिन्छ भनेर घोत्लिरहन्छन् । यसैको उपज हो – उनको मकै गोड्ने र मल हाल्ने यन्त्र । उनले बनाएका मेसिन र काम गर्ने तरिका सामाजिक सञ्जालमा चर्चितसमेत भएका थिए ।
नुवाकोटको कुभिन्डो दरबारमार्गमा
अगस्ति यतिबेला गाउँघरमा यत्तिकै उम्रिएर फल्ने र कुहिएर जाने कुभिन्डोको ब्रान्डिङमा लागेका छन् । बाख्राको खोरमाथि लटरम्म फलेका कुभिन्डो देखेपछि अगस्तिलाई यसबारे जान्न मन लाग्यो । उनले इन्टरनेटमा हेर्दा त फाइदैफाइदा मात्र देखे । उनलाई यो कुरा सबैसामु पुयाउन मन लाग्यो । कसरी बजारसम्म लैजान सकिन्छ भनेर खोजी गर्दा दरबारमार्गमा हरेक शनिबार लाग्ने रैथाने हाटबजारबारे उनले थाहा पाए र एग्री प्रोडक्स नेपालका अध्यक्ष तिलक ढकालसँग कुरा गरेपछि एउटा कक्ष पाए । बहुपयोगी कुभिन्डोबारे बुझेपछि उनले आफूले राखेका सबै कुभिन्डो बिक्री भएको र माग पनि निकै बढेको बताए ।
दरबारमार्गमा प्रतिकिलो रु. एक सय रुपैयाँमा बेचिरहँदा उनी पहिलोपटक कुभिन्डो बेच्न खोज्दा बुबाले गरेको गाली सम्झिन्छन् । बुबासँगको त्यस सानो विद्रोहले काठमाडौँवासीलाई गाउँको बहुपयोगी जैविक स्वाद चखाउन पाउँदा उनी निकै खुसी छन् । घरको बारी मात्र नभएर गाउँभरि फलेका कुभिन्डोले बजार पाएपछि सबैमा खुसी थपिएको उनले बताए । उनले किसानलाई प्रतिगोटा रु. एक सय तिरेर ल्याउने गरेका छन् । चार हप्तामा पाँच सय केजीभन्दा बढी कुभिन्डो बिक्री भइसकेको छ । नेपालमा खासै कसैले पनि यसको खेती गरेको नपाएकाले उनले अब आफैँ सुरु गर्ने बताए । बजार विस्तारका लागि भाटभटेनीलगायत सुपरमार्केट र साना मार्टहरूसँग पनि उनले कुरा गरिरहेका छन् । नेपालको रैथाने प्रजातिको यस खेतीलाई व्यावसायिक रूपमै अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
लोप हुन लागेको ‘कुफल’ कुभिन्डोको व्यापार मात्र नभएर अगस्ति नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँग कुरा गरी बिउ जोगाउन र नुवाकोटकै ब्रान्डिङका लागि लागिपरिरहेका छन् ।
कुभिन्डाको धेरै तरिकाले प्रयोग गर्न सकिने उनी बताउँछन् । ‘कुभिण्डाको बाहिरको सेतो धुलो क्यान्सर उपचारका रूपमा प्रयोग हुने भएकाले प्रतिकिलो रु. २५ हजारसम्म बिक्री भएको मैले पाएँ, भित्री भागलाई पिठो बनाएर सुगरका बिरामीले दैनिक खाँदा अचुक औषधिको काम गर्छ भने बियाँ अचारका लागि छोपका रूपमा प्रयोग गरिन्छ,’ उनले भने, ‘चाना बनाएर खल्पी अचार र तरकारीका रूपमा पनि प्रयोग गर्न सकिन्छ भने यसको मस्यौरा पनि विश्वबजारमा प्रख्यात छ ।’ प्रसिद्ध मिठाई ‘पेडा’ पनि यसबाटै बनाइने उनले बताए । कुभिन्डोमा फाइबर बढी हुने भएकाले पायल्स, मधुमेह, रक्तचापजस्ता रोग कम गराउन मद्दत गर्ने उनको भनाइ छ । कुभिन्डोलाई भारतका आयुर्वेद कम्पनीले जुस बनाएर विश्वबजारमा महँगो मूल्यमा बेचिरहेका छन् । बजारमा विषादीयुक्त खानेकुराको बिगबिगी भएको अहिलेका अवस्थामा प्राङ्गारिक वस्तुको प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।
थरीथरी स्वादमा बुङ्गो
कुभिन्डोको बजार राम्रो भइरहेको अवस्थामा अगस्तिको आँखा खेतको कुनामा फालिरहेको केराको बुङ्गामा पनि प¥यो । उनले इन्टरनेटमा सर्च गरिहाले । केराको बुङ्गो त आधुनिक विज्ञानले मात्र नभएर वैदिक रूपमा पनि धेरै महत्वपूर्ण रहेको देखेपछि उनले त्यसलाई पनि रैथाने बजारमा ल्याए । पहिलो दिन ल्याइएको सबै बिक्री भएपछि अर्को हप्ता गाउँमा केराखेती भएका सबैसँग केराको बुङ्गो सङ्कलन गरेर काठमाडौँ ल्याए । यसको पनि अचारलगायत ११ किसिमका परिकार बनाउन मिल्ने भएकाले विभिन्न खाजाघर र मार्टहरूमा समेत यसको माग बढ्दै गएको उनले बताए ।
खोयाको सुप
उनी यतिबेला मकै छोडाएर बाँकी रहेको सुकेको खोयाको सुप बनाउनतिर लागेका छन् । कोरिया बसाइमा उनले यसको सुप हिउँदमा धेरै प्रयोग भएको देखेका थिए । ‘कोरियामा जाडो महिनामा मकैको खोया उमालेर मसला प्रयोग गरी सुप बनाएर खाने चलन छ । त्यहाँ फाइदाजनक छ भने यहाँ पनि त्यसको प्रयोग किन नगर्ने ?’ उनले भने, ‘विज्ञसँग भेटी यसमा कुन–कुन तत्व पाइन्छ भनेर अनुसन्धान गरिदिन आग्रह गरेको छु, त्यसको नतिजा आएपछि यसको प्रक्रिया अगाडि बढाउँछु ।’