
(पुख्र्याैली घर सामरी, नुवाकोट भएका हरिप्रसाद रिमाल पूर्वप्रशासक हुनुहुन्छ । उहाँले लामो समय तत्कालीन स्थानीय विकास मन्त्रालयमा रहेर काम गर्नुभयो । सो मन्त्रालयमा रहँदा उहाँ मन्त्रालयका साथै विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी, काठमाडौँ महानगरपालिका र भक्तपुर नगरपालिकामा प्रशासकीय अधिकारी पनि हुनुभयो । लोकसेवा आयोग र जिल्ला शिक्षा कार्यालयमा पनि काम गर्नुभएका रिमालले मुद्रण विभागका महानिर्देशकबाट अवकाश लिनुभएको हो । संस्कृत र नेपाली भाषामा स्नातकोत्तर उहाँ साहित्यकार पनि हुनुहुन्छ । उहाँका ‘देश यसरी बाँचिरहेछ’ शीर्षक कविता सङ्ग्रहका साथै ‘देवाधिवेद पशुपतिनाथ र पाशुपत क्षेत्र’ शीर्षकमा अनुसन्धानमूलक कृति पनि प्रकाशन भएका छन् । आध्यात्मिक चिन्तक रिमालका लेखरचना पत्रपत्रिकामा प्रकाशन पनि भएका छन् । विश्वका विभिन्न मुलुक भ्रमण गर्नुभएका रिमाल अस्ट्रेलियामा रहेका आफ्ना छोरीज्वाइँ र नाति भेट्नका लागि कामपा–५, हाँडीगाउँस्थित आफ्ना घरबाट बेलाबखत पुगिरहनुहुन्छ । हाल आफ्नी धर्मपत्नी निर्मलाका साथ उतै रहनुभएका रिमाल सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । हामीले उहाँका अस्ट्रेलिया डायरी बेलाबखत प्रकाशन गरिरहेका छौँ । प्रस्तुत लेख पनि त्यसैको एक भाग हो ।)
अस्ट्रेलियावासी अधिकांशको आवासीय घरमा पर्खाल छैन । कतिपयका घरमा इँटाका अत्यन्तै होचा एक–डेढ फिटका मानिसले सोझै नाघेर जान सक्ने खालका शोभाका लागि मात्र बनाइएका होचा बनोट छन् । कतिपयका घरमा भने काठ र परालजस्तो एक प्रकारको घाँसका कच्ची बार छन् । घरमा झ्याल र ढोकासमेत सिसाका छन् र कतै पनि ग्रिल हालिएको हुँदैन । तैपनि सर्वसाधारण जनता मात्र होइन कि उच्च राजनीतिक व्यक्ति र पदाधिकारी पनि आरामसाथ निश्चिन्त बस्छन्, रातमा निरापद सुत्छन् ।
यहाँ सबै मानिसले योग्यताअनुसारको काम र कामअनुसारको पारिश्रमिक पाएका छन्, कर्म गरेर बाँच्नुपर्छ, भन्ने संस्कृतिको विकास भएको छ । यहाँ अपराध सोच्ने, दुर्भावना लिएर हिँड्ने त कसैलाई फुर्सद नै छैन । सबै काममै दगुरादगुर गरिरहेका छन्, यन्त्रजस्तै काममा तल्लीन भइरहेका छन्, अनि अरूका घरमा चोर्न र लुट्न पस्ने कुमति कसको हुन्छ र ?
यति विकसित देशमा पनि नियतिको खेल होला, हावा खुस्किएका, दुव्र्यसनमा लागेका र अर्धपागलजस्ता कतिपय व्यक्ति भने हुँदा रहेछन् । त्यस्ताको नियन्त्रण र भरणपोषण र सुरक्षाको जिम्मा ठुलो धनराशि खर्च गरेर राज्यले गर्दोरहेछ । त्यसैले तिनबाट पनि जनता सुरक्षित नै हुन्छन् ।
यहाँ यदाकदा हुन सक्ने अपराधको नियन्त्रण सिसिक्यामेराबाट मात्र होइन कि भूउपग्रहका माध्यमबाट पनि गरिएको हुन्छ । एक त अपराधको नियन्त्रणमा कडा कानुन छ र त्यसको कार्यान्वयन अत्यन्त कडाइका साथ गरिन्छ, अनि जनतालाई केको भय ? जो अपराध गर्छ त्यो केही घण्टा बित्न नपाउँदै प्रहरीका फन्दामा परिहाल्छ र त्यसले कानुनको चर्को कठघरामा उभिन परिहाल्छ ।
सबै जनता बेफुर्सदी हुन सक्ने गरी रोजगारी दिन सके, रोजी–रोटीका खोजीमा दिनहुँ हजारौँ युवाले अरब खाडीका तातोमा होमिनुपर्ने स्थितिको अन्त्य भए, पक्षपातबिना योग्यतम र सक्षमलाई उपयुक्त पदमा राख्ने सद्बुद्धि पलाए, कार्यकर्ताको भर्ती केन्द्र बनेका सेतोहात्तीसरिका प्रदेशलाई थान्को लगाइए, शान्तिसुरक्षा र अमनचैन कायम गर्न बलियो कानुन अनि त्यसको राजनीतिक हस्तक्षेपबिना कार्यान्वयन हुने भरपर्दो परिवेश तयार भए हाम्रो राष्ट्रका घरमा पनि अग्ला पर्खाल र घरका झ्याल–ढोकामा बलिया ग्रिलको आवश्यकता पर्दैनथ्यो र पराईको देशको सुरक्षा व्यवस्था हेरेर र अनुभव गरेर कसैले पनि कल्पिन पर्दैनथ्यो ।
पर्खाल वास्तवमा साँघुरो मनको प्रतीक हो । मन सानो बनाएपछि सबैतिरबाट खतरा देखिने हुन्छ र मानिस घरमा अग्ला पर्खाल लगाउँछन् । तर, त्यति गरेर पनि कतिपय ठाउँमा उनीहरू सुरक्षित हुन सक्तैनन् । वास्तवमा अग्ला पर्खाल र फलामे ढोका वा ग्रिलले मानिसलाई सुरक्षा दिने होइन रहेछ । कुनै घटना–दुर्घटना हुन लाग्यो भने ती गगनचुम्बी पर्खाल र बलिया ग्रिलले पनि छेक्न सक्दारहेनछन् र कडा सुरक्षा घेराले पनि संरक्षण दिन सक्दोरहेनछ । बरु असल कर्म गरे, साँघुरो मनलाई फराकिलो बनाए, देखावटीपनबाट र साँघुरो स्वार्थबाट माथि उठेर मन, वचन र कर्मले, जनताको सेवा गरे, यो पृथ्वी नै मेरो घर हो र यस धराका सबै बासिन्दा मेरो परिवारका सदस्य हुन्’ भन्ने हाम्रा पुर्खा आर्यको जस्तो उदार भावना लिए सुरक्षाका अरू कुनै कुराको पनि आवश्यकता पर्दो रहेनछ ।
एक महात्मा वा सन्त घनघोर वनमा होस् कि मसानघाटमा मस्तसँग निदाउन सक्छन् । उनलाई कुनै प्राणीको पनि किञ्चित भय हुँदैन । यहाँ अस्ट्रेलियावासी पनि अग्लो पर्खाल नभएका र ग्रिलबिनाका घरमा बसेर पनि सुरक्षित र मस्तको जीवन बाँचिरहेका छन् ।
(कामपा–३, हाँडीगाउँ, काठमाडौं, हाल : अस्ट्रेलिया)