म राजधानी काठमाडौँबाट मौसम खुल्दा टाढा देखिने हिमाललाई नजिकैबाट आँखाले स्पर्श गर्ने अवसरको खोजीमा थिएँ । म त्यो अवसर पटक–पटक जुराउने जमर्को गरिरहेको थिएँ । मेरो जमर्को २०८० सालको दसैँलगत्तै जुर्यो । दसैँको रमझम पूरा नसकिँदै इष्टमित्र, पाहुनाको सत्कार परिवारका जिम्मामा छाडी २०८० कात्तिक ८ गते मैले समयको व्यवस्थापन गरेँ । हिमाल हेर्ने र प्रकृतिसँग मितेरी गाँस्दै पदयात्रा गर्ने त्यही उत्कट चाहनाले तानेर मलाई लाङटाङ उपत्यकाको यात्रामा डो¥याएको थियो । व्यवसाय र सामाजिक कार्यमा अग्रसर भइरहने मेरा लागि यो सुनौलो अवसर जुराइदिएको थियो दसैँको सार्वजनिक बिदाले । आफ्नै देशको भूगोल, संस्कृति, प्रकृति चिनाउने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ देश भ्रमणअन्तर्गत यसपटक रसुवामा रहेको नेपालको तेस्रो गन्तव्य लाङटाङ पदयात्रामा मसहित छोरा सज्जन, साथीका छोरा इन्जिनियर ॐराज श्रेष्ठ, उनका भाइ इन्जिनियर अध्ययनरत अग्निराज श्रेष्ठ र विदुरमा क्रियाशील सञ्चारकर्मी डबली अनलाइन खबरका प्रमुख सुनील श्रेष्ठसमेतको समूह बनाएर दसैँको टीकाको भोलिपल्ट बिहान ८ बजे विदुरबाट निस्कियौँ । कात्तिक ८ देखि १२ गतेसम्म पाँच दिन तय गरिएको अवलोकन भ्रमणले ममा नयाँ उत्सुकता र उमङ्ग थपिदिएको थियो ।
तोकिएको मितिको पहिलो दिन अर्थात् कात्तिक ८ गते हामी तीन मोटरसाइकलमा बिहान विदुरबाट निस्कियौँ । विदुरबाट बेत्रावती हुँदै रसुवाको कालिकास्थान, लाङटाङ राष्ट्रिय निकुञ्ज मूलखर्क अनि धुन्चेको हाम्रो यात्रा निकै सहज, मनोरञ्जनात्मक र रोमाञ्चक रह्यो । बेत्रावतीबाट कतै कच्ची त कतै पक्की बाटो हुँदै हाम्रो मोटरसाइकल कालिकास्थानबाट मोडिएर उक्लियो । हामी रसुवाको धुन्चेतर्फ लाग्यौँ । बिहान करिब १० बजे हामी निकुञ्जको प्रवेशद्वारमा पुग्यौँ । भोकले शिथिल भइसकेका हामीले त्यहाँको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको विष्णुदल गणका प्रमुख सेनानी गणपति विक्रम थापाको आतिथ्यमा बिहानको खाना खाने अवसर पायौँ । हामीले त्यहाँको ताजा एवम् अर्गानिक खानेकुराले भोक मेटायौँ । उहाँकै सल्लाहअनुसार हामी रसुवाको सदरमुकाम धुन्चेबाट ओरालो घुम्ती बाटो, आश्चर्यलाग्दा पहाड र पाखापखेरा अवलोकन गर्दै चीनको सीमा हुँदै आउने सान्जेन नदीको किनारमा पुग्यौँ । सिङ्गो रसुवावासीको आर्थिकस्तरमा कायापलट ल्याउने चिलिमे जलविद्युत् केन्द्रले पनि यस क्षेत्रमा यो नदीको विशेष महत्व राखेको छ ।
खाना खाएर हाम्रो यात्रा स्याफ्रुबेँसीमा आएपछि टुङ्गियो । मोटरसाइकल सेनाको स्याफ्रुबेँसीमा रहेको चेकपोस्टमा पार्किङ गरेर हामीले गणपति थापा सरको सहयोगले सेनाको बोलेरो जिपमा लाङटाङको सहज र छोटो बाटो तय गर्यौँ। लाङटाङ जान स्याफ्रुबेँसीबाट खामजिङ हुँदै शेर्पागाउँ मार्ग सहज रहेछ । लाङटाङ जाने मुख्य मार्गको ठाडो उकालो खामजिङ गाउँसम्म गाडीमा जाँदा हिँड्नुपर्दैन । लाङटाङ जाने पदयात्रीका लागि सबैभन्दा गाह्रो शेर्पागाउँ पुग्न ठाडो उकालो छ । खामजिङ गाउँको माथिल्लो डाँडाबाट तेर्साे–तेर्सै गोरेटो बाटाबाट स्थानीयवासी ४५ मिनेटमा, पदयात्री हेर्दै, फोटो खिच्दै जाँदा डेढ घण्टामा शेर्पागाउँ पुग्न सक्छन् । अपराह्न १ बजेको टन्टलापुर घाममा स्याफ्रुबेँसीको सेनाको चेकपोस्टबाट गाडीमा रोङ्गाखोला तरेर आधा किलोमिटर रसुवागढीतर्फ बढी दाहिनेतर्फ मोडिएर उकालो लाग्दै खामजिङ गाउँ हुँदै त्यसको सिमाना डाँडासम्म एक घण्टामा पुग्यौँ । यात्राको सुरुमै पहाडको टुप्पामा अवस्थित खामजिङ गुम्बाबाट देखिने वरिपरिको मनमोहक दृश्यलाई पृष्ठभूमिमा पारेर धेरै फोटो खिचेपछि हामी पुनः शेर्पागाउँ लाग्यौँ । बाटो तेर्साे भए पनि पहरा र पहिराको कारण थोरै उकालो–ओरालो र अधिकांश तेर्साे हिँड्दै डेढ घण्टापछि हामी पहिलो दिनको वासस्थान शेर्पागाउँको होटेल नमस्तेमा सुस्तायौँ ।
हिमालमा सूर्यको लाली नपोतिँदै उठेर म बाहिर निस्किएँ । छ्याङ्ग खुलेको आकाश, सामुन्ने मुस्कुराइरहेको हिमाल, प्रकृतिसँगको यो सामीप्यले मलाई मन्त्रमुग्ध बनायो । पूर्वनिर्धारित समयअनुसार बिहानको हल्का खाजा खाएर हामीले नयाँ दिनको यात्रा सुरु गर्यौँ। आजको यात्राको बाटो हिजोका तुलनामा निकै सहज थियो । वरिपरि देखिने हरियाली, हिमाल रसाएर निस्किएको लाङटाङ नदीको छङछङ आवाजले जोकोही यात्रीलाई मोहित बनाउँथ्यो । दुधझैँ सेतो र कञ्चन देखिने लाङटाङ नदीको जलप्रवाहलाई नियाल्दै र त्यसको गहिराइबाट निस्केको ध्वनिलाई सुन्दै यात्रा गर्नु साँच्चै गहिरो ध्यानमा बस्नुजत्तिकै आनन्ददायक क्षण हुने रहेछ । यात्राको पहिलो स्टेसन लामा होटेलमा पुगेर केही क्षण विश्राम गरेपछि हामी पुनः बाटो लाग्यौँ । नेपालको सगरमाथा र अन्नपूर्ण आधार शिविर पदमार्गपछिको व्यस्त मानिने यस पदमार्गमा प्रशस्त स्वदेशी तथा विदेशी पदयात्रीको आवागमन भइरहेको थियो । सहर/बजारको कोलाहल, घडीको सूर्यसँगै हतारिएर चल्नुपर्ने हाम्रो जीवनलाई केही क्षणका लागि भए पनि विश्राम दिएर आफ्नै लयमा चल्ने यो यात्रा मेरा लागि आफैँसँग संवाद गर्ने, आफ्नै गुनासो सुन्ने र आफैँलाई गहिरिएर बुझ्ने एउटा सुनौलो अवसर पनि थियो । वातावरणलाई गुञ्जायमान बनाएर आफ्नै प्रवाहमा बगेको लाङटाङ नदी, ठाउँठाउँमा भेटिने कञ्चन झरना र चराचुरुङ्गीको साङ्गीतिक कलरवले मलाई मोहित बनाउँथ्योे र त्यो प्रकृतिको दिव्य सौन्दर्यको गहिरो अनुभूति गर्दै म अगाडि बढ्थेँ । यसरी समूहकै बिचमा पनि आफूलाई एक्लो बनाएर आफैँसँग कुरा गर्दै हिँड्दा झनै रोमाञ्चक हुने रहेछ, प्रकृतिले नयाँ ऊर्जा भरिदिन्थ्यो ।
लगभग पाँच घण्टाको यात्रापछि हामी खाना खाने ठाउँ घोडातबेलास्थित लभ्ली गेस्टहाउसमा पुग्यौँ । भोक र थकानले हैरान भएका मेरा छोरा र अरू तीन भतिजाले होटेलमा थपी–थपी खाना खाएको देखेर होटेलका सञ्चालकले आश्चर्य र रिसमिश्रित भावमा खानाको पैसा थपेर लिने कुरा गरेको सम्झेर हामी बाटोभरि हाँस्यौँ । खाना खाइसकेपछि हामी गन्तव्य लाङटाङ उपत्यकातर्फ अघि बढ्यौँ । यस क्षेत्रमा पाइने ‘सिबक्थ्रोन’ (डालेचुक) नामक जडीबुटीबाट निर्मित जुसको स्वादसँगै यात्रालाई अगाडि बढायौँ । यात्राभरि भेटिन आउने चौँरीगाईका बथानले हामीलाई स्वागत गरेझैँ लाग्थ्यो । निधारमा सेतै हिउँ पोतेर गजधम्म उभिएका अक्करे पहाडको काखैकाख हुँदै अगाडि बढेपछि लाङटाङ उपत्यकामा आइपुग्यौँ । वि.सं. २०७२ को भूकम्पका बेला हिमताल फुटेर उपत्यकाको सिङ्गो बस्ती नै पुरिएको दुःखद इतिहास रहेछ लाङटाङसँग । सो घटनामा एक सय ७५ स्थानीयवासी, २६ विदेशी र १० नेपाली सैनिकले ज्यान गुमाउनुपरेको घटनाको स्मृतिमा स्मारक बनाइएको रहेछ । लाङटाङका दृश्यलाई नजिकबाट नियाल्दै दोस्रो दिनको वास क्यान्जिन उपत्यकामा बस्ने सल्लाह हाम्रो टोलीले गर्यो। क्यान्जिन पुग्नुपर्ने भएकाले हामीले पाइला तीव्र रूपमा अगाडि बढाउनुपर्ने भयो । म र छोरा सज्जन अगाडि लाग्यौँ । पछाडि ॐराज, उनका भाइ र पत्रकार सुनीलको टिम थियो । हामी साँझ क्यान्जिन भ्याली पुग्यौँ । बिहान ब्युँझनासाथ मेरा आँखा झ्यालबाहिर देखिएको खुला आकाशमा पुगे । खुलेको आकाशमा कतै पर बादलको विशाल सागरजस्तो दृश्य कोठाभित्रबाटै देख्न सकिन्थ्यो । म हतपत होटेलको छतमा पुगेँ र बादलले छेक्नुअगावै क्यान्जिन बजारको बिहानी सौन्दर्यलाई क्यामेरामा हुलेँ । होटेलको परिसर र बाँकी खाली ठाउँमा हल्का हिउँले ढाकेको थियो भने वरिपरि डाँडा हिउँले छोपिएको थियो । हिमाल थोरै दूरीमा रहेको मैले महसुस गरेँ।
बिहानीको खाजापछि सबैभन्दा पहिले त्यहाँको बस्तीका घरको भ्रमण गर्यौँ। चारैतिर हिउँले ढाकिएका पहराबाट छुटेका छाँगा, झरना एकटक भएर नियालिरह्यौँ, धित मर्ने गरी हामीले फोटो खि च्याँै । त्यहाँबाट आक्कलझुक्कल टेलिफोनको टावर देखिएकाले पटक–पटकको प्रयासपछि घरमा र साथीभाइलाई सम्पर्क गर्यौँ। केही समय होटेलकै आसपासमा रहेका सुन्दर झरना, पोखरी आदिको भ्रमण गर्यौँ। आजको हाम्रो यात्रा यहीँ टुङ्गाएर फर्कने निधो गर्यौँ। साढे तीनदेखि पाँच सय मिटर माथि भएकाले उचाइले गर्दा हुने समस्यामा सतर्क हुन म टोलीको विशेष रेखदेखका लागि हरपल तत्पर हुन्थेँ । हामीले अन्तिम गन्तव्य क्यानजिन गुम्बालाई बनाएर त्यहाँ रहेको नेपालको पहिलो चौँरीगाईको दुधबाट बनेको चिज चाख्दै त्यसको अवलोकन गर्यौँ, चिज कारखानाको स्थापनादेखि हालसम्मको सोधीखोजी गरी फक्यौँ। बाटामा देखिने अलौकिक सुन्दर झरना, नदीको कलकल आवाज र प्राकृतिक सौन्दर्यले सबैलाई मोहित पारेकै थियो । हामी हरेक झरना, नदीको छाल र हिमाललाई पृष्ठभूमिमा राखेर फोटो तथा भिडियो खिच्नमा मग्न हुँदै बिस्तारै पाइला चाल्थ्यौँ । लाङटाङ हिमाल पग्लिएर आएको पानीलाई बाँध बनाई त्यहाँ दुई सय किलोवाटको हाइड्रोपावर बनाइएको रहेछ । जाँदा हतार भएकाले हेर्ने अवसर मिलेन । फर्कँदा हेर्दै तल झर्यौँ। हिमालको काखमा रहेको यो सुन्दर ताल र ड्यामबाट ओभरफ्लो भई बगेको पानीले निर्माण गरेको झरनालाई क्यामेरामा जति कैद राखे पनि हाम्रो धित मरेकै थिएन ।
टलक्क टल्किएका हिमाललाई छिनमै ढपक्क ढाक्ने र छिनमै छ्याङ्ग खुल्ने कुहिराको खेल बडो रोमाञ्चक थियो । कुहिरो उडेर जाँदा मौसम सफा देखिन्थ्यो । आँखैअगाडिका हिमालका तस्बिर आँखा र क्यामेरा दुवैले हुल्थे । मौसम खुल्दा माथि हिमाली पाखामा छिनछिनमा हिमपहिरो खसेको देखिन्थ्यो जुन हाम्रा लागि निकै आश्चर्यलाग्दो थियो । आँखैअगाडि टल्किएको हिमाल र कुहिरोको लुकामारी हेर्दा हेर्दै समयले नेटो काटेको पत्तै भएन । जति हेरे पनि मन नभरिने ती दृश्य हेर्दै हामी फक्यौँ। गाह्रोसारो गर्दै फर्कँदा साँझमा शेर्पागाउँ आइपुग्यौँ । त्यस दिन शेर्पागाउँमा रहेका होटेल, रेस्टुरेन्ट सबै भरिभराउ भएकाले अनुनयविनय गर्दा एउटा होटेलको आँगनमा रहेको पालमा पाँचजनाले दुःखसुख रात कटाउने अवसर पायौँ । अँध्यारो रातको प्रतीक्षापछिको त्यो बिहान मेरा लागि उत्सुकता र नयाँ ऊर्जाले भरिएको थियो । लाग्थ्यो – जीवनका हरेक बिहान यस्तै भइदियोस्, उन्मुक्त, प्रेम, रोमाञ्चक, अर्थपूर्ण, यस्तै यस्तै…! पृथ्वीको गर्भबाट सूर्योदयको दृश्य हेर्ने त्यो पनि चार हजार चार सय मिटरको उचाइबाट, त्यो मेरा लागि कम्ता खुसीको विषय थिएन । हिमालको काखमा बसेर म ध्यानमग्न भएँ । ध्यानस्थ अवस्थामा प्राप्त आत्मिक शान्तिको अनुभूति जीवनमा कुनै पनि भौतिक प्राप्ति, पद, प्रतिष्ठा आदिले दिने खुसीभन्दा माथि थियो । यो कुनै शब्दमा वर्णन गर्न सकिने विषय थिएन । यात्राका अनुपम र रोमाञ्चक अनुभवलाई मनभरि सजाएर हामी हाम्रा पाइलालाई बिस्तारै ओरालोतर्फ बढाउँदै चौथो दिन स्याफ्रुबेँसी हुँदै धुन्चेबाट त्रिशूली फक्र्यौँ ।