देउराली । नुवाकोट जिल्लाको विकट र दुर्गम म्यागङ गाउँपालिका-४ किम्ताङमा चिनियाँ सहयोगमा चिया प्रशोधन कारखाना शनिबारदेखि सञ्चालनमा आएको छ । भाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत चीनको माउन्टेन टी चाइनिज फ्याक्ट्रीको सहयोगमा किम्ताङ गाउँमा चिया कारखाना सञ्चालन भएको हो ।
ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सिएफआरडी) सँगको सहकार्यमा टी भ्यालु चेन इन्हान्समेन्ट प्रोजेक्ट (चियाको महत्व अभिवृद्धि परियोजना)अनुसार कारखाना सञ्चालन भएको हो । कारखानामा अत्याधुनिक यन्त्रसँगै चिया किसानलाई प्राविधिक तालिमसमेत दिइएको म्यागङ-४ का वडाध्यक्ष कमलबहादुर तामाङले बताए । वडाको पहलमा किम्ताङ अर्थाेड्रक्स चिया सहकारी संस्था लि. स्थापना गरेर चियाखेतीको विस्तार र प्रशोधनमा सहयोग गरिरहेको उनको भनाइ छ । सहकारीलाई सिएफआरडीले भवन बनाउन रु.३० लाख र प्रशोधन गर्नका लागि यन्त्र, उपकरण खरिद गर्न नगद अनुदान दिएकोसमेत जनाइएको छ । वडाले वडाभित्र रहेका व्यक्तिको बाँझो जमिनमा समेत सहमति लिएर चियाखेती गरिरहेको छ । व्यक्ति र सार्वजनिक गरी झन्डै दुई हजार एक सय रोपनी बाँझो जग्गामा वडाले चियाखेती गरेर अरू कृषकलाई पनि आकर्षण गरिरहेको सहकारीका अध्यक्ष सरमान तामाङले बताए । सहकारीका सेयर सदस्यले पनि तीन हजार रोपनीमा चियाखेती गरिरहेको बताइएको छ । खाद्यान्न उत्पादन न्यून हुने किम्ताङ गाउँ अहिले चियाले चिनिन्छ । अहिले चियाखेती विस्तार भइरहेको किम्ताङमा चियाखेती सुरु गर्ने पहिलो व्यक्ति खेरुङ तामाङले बताए ।
वडाध्यक्ष कमलबहादुर, सिएफआरडीको नेपाल कार्यालयका निर्देशक झाउ झिकियाङ, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पूर्वकार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईलगायतले संयुक्त रूपमा कारखानाको उद्घाटन गरेका हुन् । कारखानाले नेपालको चिया प्रशोधन क्षमता बढाई स्थानीय र विश्वव्यापी रूपमै चिया उत्पादन बढाउने आशा गरिएको छ । परियोजनाअन्तर्गत नुवाकोट र ललितपुरका चिया किसानलाई अत्याधुनिक यन्त्र, उपकरणसहित चियाको गुणस्तरबारे तालिम प्रदान गरिएको छ । परियोजनासँगको सहयोगले किसानले चियाखेतीदेखि उत्पादन र प्रशोधनबारे ज्ञान पाएका छन् । किम्ताङमा उत्पादित सबै चियाको बजारीकरणको जिम्मा सिएफआरडीले लिने गरी सम्झौता भएको सहकारीले जनाएको छ । चियाको मुना सङ्कलन गर्ने समय अहिले सकिएकाले चैत, वैशाखमा नयाँ मुना पलाएपछि चियाको मूल्य निर्धारण गर्ने गरी सम्झौता भएकोसमेत सहकारीका अध्यक्ष सरमानले बताए । म्यागङ, देउरालीमा सेल्कर तामाङ, बुङताङमा जगतबहादुर तामाङ र किम्ताङमा खेरुङले इलाम र धनकुटाबाट ३० वर्षअगाडि चियाको बेर्ना ल्याएर चियाखेती सुरु गरेका थिए । अहिले सो क्षेत्र इलामको कन्यामजस्तो बनेको जिकिर पालिकाकी उपाध्यक्ष सीता तामाङले गरिन् । पालिकाले सो क्षेत्रलाई चियाको मुख्य क्षेत्र घोषणा गर्ने तयारीसमेत गरेको जनाइएको छ ।