- तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीले रसुवागढी क्षेत्रमा ठुलो क्षति पु¥याएको र मितेरी पुल बगाउँदा नेपाल–चीन यातायात तथा व्यापार पूर्ण रूपमा ठप्प छ । सीमा क्षेत्रमा रहेका भन्सार र प्रशासनिक संरचना पनि ध्वस्त भएका छन् ।
- बाढीमा हालसम्म नौजनाको शव फेला परेको र १९ जना बेपत्ता छन्, जसमा १४ नेपाली (तीन प्रहरीसमेत) र पाँच चिनियाँ छन् र सयभन्दा बढीको उद्धार गरिएको छ ।
- बाढीले सयभन्दा बढी सवारीसाधन बगाएको छ, जसमा कन्टेनर, इभी गाडी र अन्य साधन छन् । रसुवागढी भन्सार यार्डमा रहेका धेरै कन्टेनर डुबेका छन् । बाढीले अर्बौँको भौतिक र व्यापारिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
- चार जलविद्युत् आयोजना (रसुवागढी, त्रिशूली थ्री ‘ए’, चिलिमे) मा क्षति पुगेको छ । बाँध, पुल, भवनमा क्षति हुँदा विद्युत् उत्पादनमा पनि असर परेको छ ।
- नेपाल–चीन व्यापार पूर्ण ठप्प छ । दैनिक उपभोग्य वस्तु, गाडी, लत्ताकपडा आदि आपूर्ति अवरुद्ध भएको छ । केरुङ मार्गबाट मानसरोवर जान तयार भएका यात्रुका योजना रद्द भएका छन् । बजारमा सामानको कृत्रिम अभाव र मूल्यवृद्धि हुने सम्भावना बढेको छ ।
धुन्चे । चीनको तिब्बतबाट मंगलबार बिहान नेपालमा पसेको लेदोसहितको बाढीले रसुवागढी तहसनहस बनाएको छ । बाढीले केरुङस्थित नेपाल–चीन जोड्ने सडकमार्गको मितेरी पुल बगाएपछि दुईतर्फी यातायात आवागमन बन्द भएको छ । तिब्बतको ल्हेन्दे खोला फुटेर भोटेकोशीमा आएको बाढीले चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि नेपालतर्फ ठुलो क्षति पुर्याएको छ । ल्हेन्देमा आएको बाढीले सीमा क्षेत्रमा रहेको पुल बगाउँदा चीन प्रवेश गर्ने नाका बन्द भएको छ जुन ६ वर्षअघि वि.सं. २०७६ जेठमा सञ्चालनमा आएको थियो । चिनियाँ सहयोगमा बनेको सो पुल बनाउन चिनियाँ ठेकेदार कम्पनीले पाँच महिना लगाएको थियो ।
बाढीले सीमा क्षेत्र रसुवागढी जाने बाटो पनि क्षतविक्षत बनाएको तथा उत्तरगया–१ मैलुङस्थित गल्छी–बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलिब्रिज’ पनि बगाएको छ । सो स्थाननजिकै भर्खरै निर्मित पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । ल्हेन्देमा आएको बाढी भोटेकोशीमा मिसिँदा नेपालतर्फका रसुवागढी, टिमुरेलगायत क्षेत्रमा ठुलो क्षति हुन गएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये गोसाइँकुण्ड–१, २ र ३, आमाछोदिङ्मो–१, २, ४ र ५, उत्तरगया–२, ४ र ५ तथा कालिका–१ छन् ।
त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ । सो सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागमन ठप्प छ । यो समाचार तयार पार्दासम्म नेपाली र चिनियाँ गरी १९ बेपत्ता भएकामा नौजनाको शव फेला परेको छ जुन सनाखत हुन बाँकी छ, ६० भन्दा बढीको उद्धार गरिएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवराज अधिकारीका अनुसार बेपत्ता हुनेको सूचीमा १४ नेपाली र ६ चिनियाँ छन् । बेपत्ता १४ नेपाली नागरिकमा तीन प्रहरीसमेत छन् । फेला परेको शव उनीहरूको हुन सक्ने बताइएको छ । बेपत्ता हुने प्रहरीमा प्रहरीचौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप, लिखु तामाकोशी–४ का ४३ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बारा, फेटा–१ बस्ने २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई टिमुरे रसुवामा कार्यरत बझाङ, बुङ्गल–९ बस्ने २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहरा छन् । यसैगरी, बेपत्ता हुने अन्य सर्वसाधारणमा बर्दिया बस्ने ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू, बागलुङ बस्ने नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बाचालक फुर्वा लामा तथा वतन नखुलेका मिक्सचरचालक गोविन्द मोक्तान र हाइलक्सचालक लोकमान तामाङ छन् । यस्तै, गोरखा, पालुङटार–६ स्थायी घर भएका डिलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता छन् । बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् । एक्कासि बाढी आएको हुँदा उनीहरू सुतेकै अवस्थामा बाढीले बगाएको हुन सक्ने सहायक प्रजिअ अधिकारीको अनुमान छ । ‘उनीहरू त्यहीँ भन्सार यार्ड बनाउन बसेका हुन्, कतिपय गाडीका चालक पनि छन्, सायद राति एक्कासि बाढी आउँदा सुतेकै अवस्थामा बगाएको पनि हुन सक्छ,’ सहायक प्रजिअ अधिकारीले भन्नुभयो, ‘अरू यकिन भइसकेको छैन ।’ उहाँले चालकहरू बाढी आएको थाहा पाएपछि गाडी हटाउन जाँदा परेको हुन सक्ने’ तथ्यगत बुझ्ने काम भइरहेको बताउनुभयो । यस्तै, चीनतर्फ ३०–३५ चालक र सहचालक तथा केही कन्टेनर पनि त्यहाँ अड्किएका छन् । सीमा क्षेत्रमा रहेको पुल नै बगाएकाले ती कन्टेनर नेपाल ल्याउन सकिने सम्भावना छैन ।
तिब्बतबाट आएको बाढी भोटेकोशीमा मिसिएपछि सुरु भएको विपत्तिबाट सयभन्दा धेरै सवारीसाधन बगेको सशस्त्र प्रहरीले जनाएको छ । बगेका सवारीसाधनमध्ये कति विद्युतीय सवारी (इभी) र कति कन्टेनर छन् भन्ने प्रस्ट खुलिसकेको छैन । रसुवागढीमै रहनुभएका गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भन्नुभयो, ‘भन्सार यार्डमा भएका सबै सवारीसाधन र कन्टेनर बगाएको छ, केरुङ जान तयार कन्टेनर र नेपाल आउने क्रममा रहेका फलफूल तथा लत्ताकपडा बोकेका कन्टेनर बगेका छन्, भन्सार कार्यालयकै आसपासका सवारीसाधन भने डुबानमा परेका छन् ।’ नेपाल सीमापार हिमालय वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीका अनुसार नेपाल र चीन दुवैतर्फ सामान बोकेका कन्टेनरमा क्षति पुगेको छ । उहाँले भन्नुभयो, ‘अहिलेसम्म १० वटा सवारीसाधन चीनतर्फ बाढीको पानीले डुबेको सुनेका छौँ, नेपालतर्फ पनि २० वटा सवारीसाधन सामानसहित बगेको भन्ने छ, त्यसैगरी रसुवागढी भन्सार कार्यालयको यार्डमा १० वटा इभीसहितका सवारीसाधन डुबेको जानकारीमा आएको छ ।’ बाढीले अर्बौँको नोक्सानी भएको अनुमान गरिएको कार्कीले बताउनुभयो । ‘दुवैतर्फ डुबेका कन्टेनरका सामान पनि बिग्रिने हुँदा व्यापक क्षति भएको उहाँको भनाइ छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार कति सामान तथा सवारीसाधनमा क्षति पुग्यो भन्ने विवरण निकाल्ने काम भइरहेको छ । महानिर्देशक भट्टराईले भन्नुभयो, ‘हामी तथ्याङ्क निकालिरहेका छौँ, कति सामान बोकेका कन्टेनर र गाडी बगायो भन्ने अहिले अनुमान मात्रै गरिएको छ, हामी चाँडै तथ्याङ्क निकाल्दै छौँ ।’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले रसुवागढी बाढीले अटो क्षेत्रमा पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिनुभयो । बाढीले रसुवा गोसाइँकुण्ड–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसन पनि बगाएको छ । बाढीमा परी चार जलविद्युत् केन्द्रमा क्षति पुगेको छ । बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावरलगायत त्रिशूली बेसिनमा रहेका हाइड्रोपावरमा क्षति पुगेको हो । बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताउनुभयो । सो आयोजनाको बाँधको गेट र पुल बगाएको छ । यस्तै त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ । रसुवागढी जलविद्युत् आयोजना एक सय ११, त्रिशूली थ्री ‘ए’ ६० र चिलिमे हाइड्रोपावर २१ मेगावाटका हुन् ।
बगे सय गाडी
उक्त बाढीले अर्बौँ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले गरेको छ । सङ्घका अध्यक्ष कार्कीका अनुसार बाढीका कारण नेपालतर्फ धेरै क्षति भएको छ । चीनबाट आयात भई भन्सारमा रहेका साना गाडी सयभन्दा धेरै बगाएको र कन्टेनर नै १०–१५ वटा बगाएको खबर प्राप्त भएको छ । बाढी भन्सार यार्डसम्म नै पुगेकाले त्यहाँ सामान कति थियो भन्ने पूर्ण जानकारी पाउन सकिएको छैन । ‘अर्बौँको क्षति हुन सक्ने आकलन गरिएको छ । सबैभन्दा ठुलो समस्या त नाकासम्म बिमा गरिए पनि नेपाली भूमिमा सामानको बिमा नगरिएकाले धेरै व्यवसायी पलायन हुन सक्ने अवस्था आउने देखिएको छ,’ उहाँले भन्नुभयो । यसको प्रभाव आउँदै गरेका चाडपर्व तथा दैनिक उपभोग्य सामान र लत्ताकपडामा पर्ने उहाँको भनाइ छ । तातोपानी नाकाको भौगोलिक अवस्था कमजोर भएकाले धेरै सामान त्यताबाट आउन सक्ने अवस्था छैन । केरुङस्थित मितेरी पुल यसअघि चिनियाँ पक्षले नै निर्माण गरिदिएको हो ।नेपालसँगको व्यापारका लागि चीनले यही नाकालाई प्राथमिकतामा राखेको छ । हाल केरुङबाट दैनिक ३५ भन्दा बढी कन्टेनर आउने गरेका छन् । चीनबाट यस याममा लसुन, स्याउलगायत बढी भित्रिने गरेको छ । व्यवसायीले दसैँतिहारलक्षित लत्ताकपडा, जुत्तालगायत वस्तु आयातको तयारी गरिरहेका थिए । अहिले केही कन्टेनर बगाए पनि त्यसमा कुन–कुन वस्तु थिए भन्ने खुल्न सकेको छैन ।
रसुवा नाका हुँदै चालू आर्थिक वर्षको हालसम्म रु. डेढ खर्बको सामान नेपाल आयात भएको छ । आयात व्यापारमा गाडीको हिस्सा सबैभन्दा धेरै छ । सो नाका हुँदै आयात हुने मुख्य सामग्रीमा गाडीका अलावा तयारी पोसाक, जुत्ता, चप्पल, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्य सामग्री, स्याउ, ओखरलगायत छन् । यो नाका हुँदै नेपालबाट निर्यात पनि हुने गरेको छ । चालू आव सो नाकाबाट हस्तकलाका सामान, गलैँचा, फर्निचरलगायत लगभग रु. तीन अर्बका सामान चीन निर्यात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार केरुङ पुल बगाउँदा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसम्मको आपूर्ति प्रभावित भएको छ । पुल बगाएपछि सवारी आवागमन र मालसामान ओसारपसार अवरुद्ध भएको छ । बडादसैँका लागि चीनबाट केरुङको बाटो हुँदै विद्युतीय सवारीसाधन ल्याउने तयारी गरिरहेका व्यवसायीलाई समेत यसले चिन्तित बनाएको छ । चीनतर्फ पनि केरुङ क्षेत्रका सडकमा क्षति भएको र त्यसको मर्मत प्रक्रिया कहिले सुरु हुने यकिन नभएकाले तत्काल व्यापार पुनः सञ्चालन हुने सम्भावना कम देखिएको छ । आपूर्ति बन्द हुँदा बजारमा अभाव तथा मूल्यवृद्धि देखिने सम्भावना बढेको चेम्बर अफ कमर्स रसुवाका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो । ‘दसैँतिहार नजिकिँदै गर्दा चीनबाट ल्याउन लागिएका धेरै सामान अलपत्र पर्न सक्छ,’ चेम्बरका अध्यक्ष अमात्यले भन्नुभयो, ‘यसले बजारमा सामानको अभावसँगै मूल्यवृद्धिको अवस्था निम्त्याउन सक्छ ।’
पर्यटन प्रभाव
नेपालको पर्यटन क्षेत्रमा पनि यसले असर पर्ने देखिन्छ । यही मार्ग हुँदै तिब्बतको मानसरोवर जाने नेपाली तथा विदेशीले अब हवाईलगायत वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । विभिन्न टुर तथा ट्राभल एजेन्सीले हजारौँलाई मानसरोवरको प्याकेज बिक्री गरिसकेको अवस्थामा केरुङ पुल बगाउँदा योजना नै रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । केरुङ नाकाबाट नेपाल भित्रिने चिनियाँ पर्यटकको आवागमनसमेत रोकिएको छ जसले पर्यटन व्यवसायमा असर पार्न सक्ने व्यवसायीको चिन्ता छ ।
परराष्ट्र मन्त्रालय र भन्सार विभागका अधिकारीले तातोपानी नाकालाई सक्रिय बनाउन पहल गर्न सके यसको क्षति न्यूनीकरण गर्न सकिने व्यवसायी बताउँछन् । यद्यपि, उक्त नाकाको अवस्थासमेत पूर्ण रूपमा स्थिर नरहेकाले तत्काल समाधान चुनौतीपूर्ण देखिन्छ । नेपाल–चीन व्यापारिक सम्बन्धमा रणनीतिक महत्त्व राख्ने केरुङ नाका ठप्प हुँदा सरकार, व्यापारी र उपभोक्ता सबैलाई असर पर्ने स्पष्ट देखिएको छ । सरोकार निकायले यसलाई तात्कालिक सङ्कटका रूपमा लिँदै समाधान खोज्नुपर्ने औँल्याएका छन् ।
प्रतिक्रिया