विदुर खानेपानीको व्यवस्थापन दक्षिण एसियाकै नमुना

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:२२

विदुर, नुवाकोटको विदुर नगरपालिकाभित्र खानेपानीको व्यवस्थापन दक्षिण एसियाकै उदाहरणको रूपमा रहेको एक अध्ययनले देखाएको छ ।

     ठूला खानेपानीको आयोजनासँगै स-साना खानेपानी उपभोक्ता समितिमार्फत हुँदै आएको पानी व्यवस्थापनले प्रकोप र विपत्को समयमा पनि पानीको व्यवस्थापनमा सहजता भएको देखिएको छ । सन् २०१४ देखि अध्ययन सुरु भएको विदुर नगरपालिकामा भारत र नेपालकै ठूला सहरको तुलनामा सहज व्यवस्थापन भइरहेको अध्ययनले देखाएको हो । हाल भइरहेका पानीको स्रोतको दिगोपना र व्यवस्थापनमा भने स्थानीय तहले काम गर्नुपर्ने उक्त अध्ययन प्रतिवेदनले औँल्याएको छ । साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिज (सियास)ले गरेको अध्ययनमा बढ्दो खानेपानीको समस्यामा समेत विदुर नगरपालिकामा सहज व्यवस्थापन भइरहेको देखाएको छ । अनुसन्धानकर्ता कमल देवकोटाले दु्रत गतिमा भइरहेको सहरीकरण। जलवायु परिवर्तन, सुक्दै गइरहेका पानीका स्रोतहरू र पानीको बढ्दो मागलाई नगरपालिका र अन्य पानी व्यवस्थापनका सरोकारवालालाई चुनौतीको रूपमा देखिएको बताए । हाल भइरहेका पानीको मुहान तथा स्रोतको दिगो व्यवस्थापनको पाटोमा जमिनमा पानीको रिचार्जको पाटो र मुहान संरक्षणका लागि स्थानीय तहले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । अनुसन्धानको क्रममा स्थानीय तहमा मुलुक पुनर्संरचना भएपछि सुरु भएका विकास निर्माणले समेत पानीको व्यवस्थापनमा प्रभाव पारेको भेटिएको छ । बढ्दो सडक निर्माण तथा स्तरोन्नतिले भएका पानीका स्रोतहरू सुकेको, मुहान पुरिएका कारण त्यसतर्फ सचेत हुनुपर्ने खोजकर्ता कौस्तुपराज न्यौपानेले बताए ।

      साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिज (सियास)ले नेपालको सहरउन्मुख धरान, धुलिखेल, विदुर नगरपालिका र भारतका हल्द्वानी र मसुरी सहरमा सन् २०१४ देखि खानेपानी व्यवस्थापनका विभिन्न पक्षलाई समेटेर विस्तृत अध्ययन गरेको थियो । नुवाकोटको विदुरमा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्ने मुख्य प्रणालीबाहेक ३१ वटा स-साना खानेपानी उपभोक्ता समूह रहेका छन् । अध्ययन गर्ने क्रममा अध्ययन टोलीले रावल धारामा गरेको अध्ययनमा सहभागी ३२ जनाले पानी मिठो भएकाले आउने गरेको बताएका थिए । ९० मिनेटमा रावल धाराबाट ९२ उपभोक्ताले पानी भरेका थिए । अध्ययन टोलीले नगरपालिकाभित्र ३१ वटा स-साना उपभोक्ता समितिका पदाधिकारीसँग स्थानीय स्रोतमा निर्भरता र तिनको उपभोग, अर्थराजनीतिक साथै पर्यावरण र जनजीविकाको सम्बन्धबारे छलफल गरेको थियो ।