‘त्रिशूली प्रवाह’ को रजत वर्ष समारोह सम्पन्न

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १४:२८

विदुर, नुवाकोट जिल्लाको पहिलो रङ्गीन पत्रिका ‘त्रिशूली प्रवाह’ साप्ताहिक २५ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले गत बिहीबार यहाँ रजत वर्ष मनाएको छ ।

पत्रिका रजत वर्ष प्रवेश गरेको अवसरमा सदरमुकाम विदुरमा समारोह आयोजना गरिएको थियो । ०५७ वैशाख १ गते बिहीबारदेखि प्रकाशन सुरु भएको ‘त्रिशूली प्रवाह’को २५औँ रजतउत्सव कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले गरेकी थिइन् । पत्रिकाका प्रकाशक/सम्पादक शरण उत्सुक सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले पत्रिका निरन्तरताको शुभकामना दिएकी थिइन् ।

‘स्थानीयताको निरन्तर पहरेदार’ सो पत्रिकाको वार्षिकोत्सवका अवसरमा संविधानसभा सदस्य राज्यलक्ष्मी पाँडे, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डे, प्रतिनिधिसभाका पूर्वसदस्य नारायणप्रसाद खतिवडालगायतले शुभकामना दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा प्रदेश सभा सदस्य रमेशकुमार महत, एमालेका जिल्ला पार्टी अध्यक्ष एवम् बागमती प्रदेशका पूर्वराज्यमन्त्री बद्रीप्रसाद मैनाली, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक पुष्प लामिछानेलगायतले शुभकामना दिएका थिए । पत्रिकाले यसै वर्षदेखि अनलाइन संस्करण निकाल्ने जानकारी सो अवसरमा दिइएको थियो ।

समारोहमा नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरीप्रसाद रिमाल, साहित्यकार तथा ज्योतिषी रत्ननिधि शुक्राचार्य, पत्रकार तीर्थ भट्टराई, राष्ट्रिय समाचार समितिका नायव महाप्रबन्धक श्यामप्रसाद रिमाल, साहित्यकार धर्तीचन्द्र यात्रीलगायतको सहभागिता थियो ।