राष्ट्रिय सभा उपाध्यक्षद्वारा साततले दरबारको निरीक्षण

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १५:०४

विदुर, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबारको अवलोकन निरीक्षण गरेकी छिन् । ‘त्रिशूली प्रवाह’ साप्ताहिकको २५औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ६ गते नुवाकोट आएकी घिमिरेले दरबार जीर्णावस्थामा रहेकामा दुःख व्यक्त गर्दै दरबार पुनर्निर्माणबारे सभामा कुरा उठाउने आश्वासन दिइन् ।

‘गोरखा भूकम्प’ले २६१ वर्ष पुरानो राजप्रासाद भग्नावशेष बनेको छ । दरबारको अवस्थाबारे चासो राख्दै उपाध्यक्ष घिमिरेले यसको छिट्टै पुनर्निर्माणबारे चासो व्यक्त गरिन् । उपाध्यक्ष घिमिरेले दरबार क्षेत्रमा रहेको भैरवी मन्दिरको पनि दर्शन गरेकी थिइन् । ०७२ को भुइँचालोले क्षतिग्रस्त नुवाकोट दरबारको निर्माणको जिम्मा चीन सरकारले लिए पनि हालसम्म पनि पुनर्निर्माण सुरु भएको छैन । आन्तरिक पर्यटक दरबारको टेको मात्र हेरेर फर्कने गरेका छन् । राजा पृथ्वीनारायण शाहले ललितपुरका कालिगढ ल्याएर वि.सं. १८१९ मा निर्माण गराएको सो दरबार अत्यन्त कलात्मक छ । भनिन्छ, यसको जग नै छैन । दरबारभित्र पृथ्वीनारायण शाह र उनका दुई रानीको पनि ढलोटको मूर्ति छ । नुवाकोट पृथ्वीनारायण र गीर्वाणयुद्धविक्रम शाहका पालामा गरी दुईपटक राजधानी बनिसकेको क्षेत्र हो । यस क्षेत्रमा भैरवी मन्दिर, सङ्ग्रहालय, नाट्येश्वरी, अशोक वृक्ष, बौद्ध चैत्य, टुँडिखेल तथा काठमाडौंमा रहेका जस्तै असन र इन्द्रचोक नामका गल्ली पनि छन् । यहाँबाट उत्तरतिर गणेश, लाङटाङलगायत हिमाल र दक्षिणतिर त्रिशूली नदी र बट्टार बजार, पूर्वतिर तादी (सूर्यमती) नदी र शेराफाँट तथा पश्चिमतर्फ गोरखा जाने बाटो देख्न सकिन्छ । दरबारको पुनर्निर्माण नहुँदा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिएको छैन । नुवाकोट सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठका अनुसार दरबारको यही अप्रिल–मेमा पुनर्निर्माण सुरु गरिने आश्वासन काठमाडौंस्थित चिनियाँ राजदूतावासले दिएको छ ।