धादिङमा आइपुग्यो किताब
धादिङबेसी । विगत वर्षमा शैक्षिक सत्र समाप्त हुने बेलामा समेत सरकारी विद्यालयका पाठ्यपुस्तक प्राप्त गर्न नसकेर समस्या भोग्दै आइरहेका धादिङका विद्यार्थी, शिक्षक र विद्यालयले यो वर्ष भने समयमै पाठ्यपुस्तक पाउने भएका छन ।
पाठ्यपुस्तक प्रकाशनको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै आवश्यक पाठ्यपुस्तक छपाइ गरेर बिक्री–वितरणका लागि साझा प्रकाशनलाई उपलब्ध गराएपछि विगतमा जस्तो पाठ्यपुस्तकको समस्या नहुने सङ्केत देखिएको हो । धादिङका पुस्तक व्यवसायीले पनि यस वर्षका लागि चाहिने पुस्तक एकमुष्ट रूपमा जिल्ला ल्याइसकेका छन् ।
नेपाल पाठ्यपुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखामार्फत एकमुष्ट पुस्तक खरिद गरी बिक्री–वितरणको व्यवस्था मिलाइएको र ‘पहिला आउनेलाई पहिलो सेवा’को सिद्धान्तअनुसार विद्यालयलाई पुस्तक उपलब्ध गराइने जिल्लाका व्यवसायीले बताएका छन् । धादिङ जिल्लामा प्राथमिक चार सय १९, निमावि ९०, मावि ९१ र उमावि ४८ समेत गरी ६ सय ४८ विद्यालय छन् ।
जिल्लाका पुस्तक बिक्रेताले करिब ७० प्रतिशत पुस्तक जिल्लामा ल्याइसकेको दाबी गरेका छन ।
पोल गाडेको १२ वर्षमा पनि बलेन बिजुली
विदुर । आफ्नै जिल्लामा मुलुककै पुरानोमा पर्ने जलविद्युत् केन्द्र रहेको छ । तर, यही जिल्लाको पूर्वी क्षेत्रको सुन्दरादेवी गाविसमा भने पोल गाडेको १२ वर्षमा पनि बत्ती बल्न सकेको छैन ।
राजधानी काठमाडौंसँगै जोडिएको समुन्द्रादेवी गाविसमा पोल गाडिएको १२ वर्ष बितिसक्दा पनि अझै बिजुली बल्न नसक्दा स्थानीयवासी राज्यको सौतेनी व्यवहारले निराश भएका छन् ।
समुन्द्रादेवी गाविसको १, २, ३ नम्बर वडामा बिजुली विस्तारका लागि ०५७ सालमा स्व. रामबहादुर तामाङको पहलमा विद्युतीकरणका लागि ८५ वटा बिजुलीका खम्बा गाडिएको भए पनि अझैसम्म बिजुली बल्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
गाडिएका पोल कुहिएर भाँचिसक्दा पनि बिजुली विस्तार हुन नसकेपछि गाउँवासी लघु जलविद्युत् योजना निर्माणमा जुटेका छन् । अहिले सो ठाउँमा तीनवटा लघु जलविद्युत् योजनामार्फत दुई सय घरमा बिजुली बलिरहेको भरतसन्तोषी लामाले जानकारी दिए ।
राष्ट्रिय प्रसारणको बिजुलीले बेवास्ता गरे पनि स्थानीय सक्रियतामा निर्माण गरिएको लघु जलविद्युत्बाट गाउँलेले उज्यालो पाएका छन् । यता, दाङसिङ गाविसको दुईवटा वडामा विद्युतीकरण भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।
दाङसिङ गाविसको वडा नं. २ को फलाँटे र वडा नं. १ का लर्केपमा नेपाल विद्युत् प्राधिकरण र जिल्ला विकास समिति नुवाकोटको आर्थिक सहयोगमा बिजुली विस्तार गरिएको हो ।
बिजुली विस्तारपछि दुईवटा वडाका एक सय १० घरधुरीमा बिजुली बलेको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर तामाङले बताए । ग्रामीण विद्युतीकरणका लागि जिल्ला विकास समितिको चार लाख रुपैयाँ र नेपाल विद्युत् प्राधिकरणको ६ लाख रुपैयाँ खर्च भएको सोमबहादुर तामाङले बताए ।
गल्छी–स्याफ्रु सडक चिटिक्कको बनाउने
विदुर । निर्माणाधीन गल्छी–त्रिशूली–धुन्चे सडकको बट्टारदेखि ढुङ्गेसम्म सडक निर्माणका क्रममा अधुरा छाडिएका संरचना पुनर्निर्माण तथा व्यवस्थित बनाइने भएको छ ।
गत साता जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको सरोकारवालाहरूको छलफलले सडक मार्गमा विभिन्न कारणले अधुरै रहेका कामलाई यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरेको हो ।
सम्बन्धित सडक आयोजना र ठेकेदारको ढिलासुस्तीका कारण सडकमार्गका विभिन्न स्थानमा काम हुन सकेको छैन । सडकमार्गमा छुट भएका पूर्वाधारलाई पूरा गर्न र अतिक्रमण नियन्त्रणका लागि विदुर नगरपालिकाको संयोजकत्वमा समितिसमेत गठन भएको छ ।
समितिमा गल्छी–त्रिशूली–धुन्चे–स्याफ्रुवेसी सडक आयोजना, डिभिजन सडक कार्यालय नुवाकोट, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, विदुर खानेपानी उपभोक्ता समिति, जिल्ला विकास समिति, नेपाल विद्युत् प्राधिकरण त्रिशूली रहेका छन् ।
समितिले सडक मार्गको स्थलगत अनुगमन गरी छुटफुट पूर्वाधारको निर्माण र अतिक्रमणलाई रोक्नका लागि पहल गर्ने समितिका संयोजक विदुर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण पुडासैनीले बताए ।
समितिलाई अधुरा सडक, नाली, स्लाब, खानेपानी पाइप, सडकबत्ती, तार, पोल तथा टेलिफोनको संरचनाको स्थानान्तरण तथा निर्माणका लागि सम्बन्धित निकायलाई परामर्श तथा निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
रसुवागढी र मध्यभोटेकोसीको परिक्षण टनेल निर्माण सुरु
विदुर । चिलिमे जलजविद्युत् कम्पनीद्वारा प्रवद्र्धित एक सय ११ मेगावाटको रसुवागढी र एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको टेस्ट टनेल (परीक्षण सुरुङ) निर्माण सुरु भएको छ । विद्युत्गृहसहित आयोजनाका मुख्य भौतिक संरचनाहरू भूमिगत निर्माण गरिने भएकाले प्रस्तावित स्थानको भौगर्भिक अध्ययनका लागि टेस्ट टनेल खन्न लागिएको रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाले जानकारी दिए । उनले भने, ‘अध्ययनबाट प्रस्तावित ठाउँमा संरचना निर्माण गर्न उपयुक्त नदेखिए नयाँ विकल्प खोजिनेछ ।’ यस्तो परिस्थिति आए विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत परिवर्तन गरी नयाँ डिजाइन गर्न सकिने उनले बताए ।
दुवै आयोजनाले जमिनको सतहदेखि दुई सय ५० मिटरभित्रसम्म सुरुङ खनेर भौगर्भिक अध्ययन गर्नेछन् । रसुवागढी आयोजना रसुवामा र मध्यभोटेकोसी आयोजना सिन्धुपाल्चोकमा निर्माण गर्न लागिएको हो । नदीको वहाव (रनअफ रिभर) मा आधारित यी दुवै आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको छ ।
रसुवागढीको प्रस्तावित लागत १३ अर्ब ६८ करोड र मध्यभोटेकोसीको रु. १२ अर्ब २८ करोड रुपैयाँ छ । यसका लागि कर्मचारी सञ्चयकोषले ५० प्रतिशत लगानी गर्नेछ भने बाँकी ५० प्रतिशतलाई सतप्रतिशत मानेर सेयर विभाजन गरिनेछ । सम्झौताअनुसार प्रबद्र्धक चिलिमेले ३० प्रतिशत सेयर पाउनेछ भने नेपाल विद्युत् प्राधिकरणले १८, प्रवद्र्धकहरूका कर्मचारीले २४, सर्वसाधारणले १५, प्रभावित समुदायले १० र रसुवाका स्थानीय निकायले तीन प्रतिशत सेयर पाउनेछन् ।
दुवै आयोजनाले सन् २०१३ देखि मुख्य भौतिक संरचना निर्माण सुरु गरेर २०१६ को अन्तसम्ममा विद्युत् उत्पादन गरिसक्ने प्रतिबद्धता जनाएका छन् । स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना निर्माण भइसकेकाले प्रवेशमार्ग बनाउन नपर्ने र आयोजनास्थलमा निजी स्वामित्वको जग्गा नरहेकाले मुआब्जासमेत दिन नपर्ने भएपछि रसुवागढी आयोजनाको प्रक्रिया छोटिएको छ । यसले लागतसमेत कम पर्ने भएको छ । तर, स्थानीयको असीमित माग र ¥याफ्टिङ व्यवसायीको विरोधका कारण मध्यभोटेकोसीको काम निर्वाध अघि बढ्न सकेको छैन । ‘यद्यपि, हामीले छलफलबाट समस्या सुल्झाउँदै काम अगाडि बढाएका छौँ,’ आयोजना प्रमुख प्रकाशमान श्रेष्ठले भने ।
ढिकीजाँतो पर्यटन क्षेत्र
चारघरे । जोर नरसिङ्गा घुराउँदै अघिलागेका दुई युवाको पछि पञ्चेबाजाको टोली थियो । त्यसपछि स्थानीय र अतिथिको लाइन । झण्डै तीन सयको लर्को लागेर उकालो चढ्दा जन्ती हिँडेको जस्तै देखिन्थ्यो । नाक ठोक्किने ठाडो बाटो, स्वर्गपूरीको उकालो चढ्दै गरेका रङ्गिन मान्छेहरु । हेर्दा लाग्थ्यो, पहरोमा विरङ्गि धर्को बनाएर एक डोरी पताका फर्फराउँदै छ । शिखरमा पुग्दा सबैका अघि फर्फराउँदै थियो, राष्ट्रिय झण्डा । बौद्ध संस्कृतिका ध्वजा पताकाले टापुलाई झकिझकाउ बनाएको थियो । दुईतिर साना खम्बा गाढेर रातो तुल टाँगिएको थियो । उपस्थित समुदायले बाटुलो घेरामा अतिथिलाई घेरेका थिए । साना ह्याण्ड माइकमा आवाज आयो, ‘सुन्दर भौगोलिक अवस्थिति र ऐतिहासीक पृष्ठभूमि बोकेको यस ढिकीजाँतो चुली क्षेत्रलाई आजैको मितिदेखि पर्यटकीय क्षेत्र घोषणा गरिएको छ ।’
मध्यान्नको १२ बजेको थियो । उच्च चुलीमा पनि वायुको आवत जावत सुस्त लाग्थ्यो । साँघुरो ठाउँ भएकाले गरमागरम भएर मानिसहरु कोचिएका थिए, खुल्ला आकाश मुनि । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापकोटाले पर्यटकीय क्षेत्र घोषणा गरेपछि चुली र वरपरको क्षेत्रलाई पर्यटन पूर्वाधार विकास गर्ने रणनीति सार्वजनिक गरियो । जसमा तीन गाविसका राजनीतिक दल र सरोकारवाल प्रतिनिधीहरुले साझा प्रतिबद्धता जनाए । त्यो चुचुरोबाट फेरी एक पटक तालिको गडगडाहट चारैतिर फिँजियो ।
ऐतिहासिक ढिकी जाँतोको पुनःनिर्मांण गर्ने, चुलीको फेदीसम्म मोटरबाटो पु¥याउने, त्यहाँदेखि चुलीसम्मको पैदल मार्ग मर्मत गरी ब्यवस्थित बनाउने, खानेपालीको ब्यवस्था गर्ने, जडिबुटी खेतिलाई प्रबद्र्धन गर्ने र अन्य पर्यटन पूर्वाधारको विकास गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने योजनाहरु सार्वजनिक गरिए । ढिकीजाँतो महोत्सव गरेर यहाँको संभावनाको खोजी र प्रचारपं्रसार गर्नेमा सबै एक मत भए । राजनीतिक स्वार्थदेखि माथि उठेर यसक्षेत्रको विकास गर्न सबै हातेमालो गर्दै अघिबढ्ने प्रण गरे । साँच्चै यो अवस्था सबैको लागि खुसीको बखत थियो । सहभागि जमात र तिनीहरुको मानोदशाले एउटा अद्भूत आशाको प्रतित गरिरहेको थियो । उनीहरु आफ्नो गाउँलाई सुन्दर बनाउन चाहन्छन् । सबैको आँखाको नानी बनाउन चाहन्छन् । गाउँमै आम्दानीको स्रोत खोजेर निर्धक्क जीवन जीउन चाहन्छन् । जसको लागि संभावनाको संकेत गरेका छन्, पर्यटन र जडिबुटी खेतिले ।
ढिकीजाँतो चुली संरक्षण तथा पर्यटन समितिका अध्यक्ष सिंहबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सापकोटा सहित नेपाली कांग्रेस जिल्ला प्रतिनिधी राजु थापा, एनेकपा माओबादीका रामचन्द्र पौडेल, एमालेका सिताराम अर्याल, झंकप्रसाद भट्ट, बद्रिप्रसाद भट्ट, रामप्रसाद भट्ट, राजु रिमाल, राजकुमार तामाङ, सुमन अधिकारी, हरिचन्द्र अधिकारी, शिवलाल भट्ट लगायतले मन्तब्य राख्दै पर्यटन क्षेत्रको विकासमा हातेमालो गर्ने प्रतिबद्धता दोहो¥याए ।
आयोजक समितिले सामुहिक वनभोज कार्यक्रमको आयोजना गरी यस्तो अवसर जुटाएको थियो । चारघरे, खड्गभज्याङ र कल्याणपुर सहित आसपासका वासिन्दाको ठूलो भिडबीचमा आयोजित कार्यक्रम पछि चुलीको फेदीमा आयोजित वनभोज झनै रोमाञ्चक बन्यो । बारीको डिलमा लस्करै बसेर वनभोज खाएको दृश्य सम्झन लायक थियो । कोहि पकाउन ब्यस्त थिए, कोही भाग दिन त कोहि लस्कर लागेर खान । कोहि रामरमितामा भुलेका थिए, कोहि भावी योजनाका तानाबाना बुन्दै थिए । गाउँलेको यो परिवर्तनको चाहना पुरा होस् भन्ने कामना गर्दै हामी बाटो लाग्यौँ ।
ग्लोवल सहकारीको उद्घाटन
बट्टार । स्थानीय उत्साही युवाहरुले अन्र्तराष्ट्रिय सहकारी वर्षको अवसरमा बट्टार वजारमा ग्लोवल उपभोक्ता सहकारी संस्थाको स्थापना गरि आईतवार देखी सेवा शुभारम्भ गरेको छ ।
सहकारी उद्घाटन पानसमा दीप प्रज्वलन गरि नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापकोटाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले बट्टार बजार नुवाकोट जिल्लाको व्यापारिक केन्द्र रहेकोले ग्लोवल सहकारीले व्यावसायिक गतिविधी विस्तार र विकासमा योगदान दिने बताए । सहकारी धेरै खुलेको भएपनि ग्लोवलको सञ्चालकहरु युवा भएका भएको र उनीहरु व्यावसायिक क्षेत्रमा सफल भएकोले यसको भविष्य उज्वल रहेको उनले बताए ।
संस्थाका अध्यक्ष सुदर्शन दुवालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वट्टार सहकारीका संस्थापक संचालक एवं समाजसेवी मोहनवहादुर खड्काले ग्लोवलले बट्टारबजारमा स्थानीय आवश्यकता पहिचान गरि सेवा विस्तार गर्न सुझाव दिएका थिए । उक्त कार्यक्रममा सहकारीका सञ्चालक उसनमान श्रेष्ठले स्वागत गर्दै सहकारीले कृषि र साना लघु, घरेलु उद्योगमा लगानी गर्ने बताए ।
५० जना सेयर सदस्यहरुवाट शुरु गरिएको यस संस्थाको अधिकृत पुँजी १ करोड रुपियाँ र चुक्ता पुँजी २१ लाख रहेको जनाईएको छ । संस्थाले साधारण वचत, विशेष वचत, गृहीणी वचत, वाल वचत लगायत वचत कार्यक्रमका साथै कृषि कर्जा, व्यवसायिक कर्जा प्रवाह गर्ने उद्घाटन कार्यक्रममा जानकारी गराईएको थियो ।
यसअघि, बट्टार वजारमा भएको सेयर सदस्यहरुको भेलाले स्थानीय युवा व्यवसायी सुदर्शन दुवालको अध्यक्षतामा संचालक समिति चयन गरेको थियो । समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा विष्णुप्रसाद रिमाल, पुरुषोत्तम सापकोटा र पवन नेपाल रहेका छन् । यस्तै सदस्यहरुमा देबनारायण चित्रकार, रिनेस श्रेष्ठ, विवेश बहादुर लवट, सर्जु कुमारी श्रेष्ठ रहेका छन् । भेलाले लेखा समिति संयोजकमा गजेन्द्र खड्का, ऋण कमिटी संयोजकमा उसनमान श्रेष्ठ र सल्लाहकार समिति संयोजकमा दामोदर नेपाललाई चयन गरेको छ ।
सामारिटन्स पर्स वितरण
विदुर । जोखिममा परेको बालबालिकाहरुको सञ्जाल नेपाल (कार्नेट नेपाल) ले नुवाकोट जिल्लामा सामारिटन्स पर्स अभिभावक विहिन तथा विपन्न वर्गका बालबालिकालाई वितरण गरेको छ ।
जिल्लाका प्रा.वि.स्तरमा वितरण गर्ने कार्यक्रम अन्र्तगत गतहप्ता चारघरे गाविसको महेन्द्र मा.वि. र संसारी प्रा.वि.का विद्यार्थीहरुलाई नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष्ँ शरण उत्सुक सापकोटाले एक समारोहका बीच सामारिटन्स पर्स वितरण गर्नुभयो । महेन्द्र माविको प्रधानाध्यापक चिरन्जीवी भट्टको सभापतित्वमा वितरण भएको सामारिटन्स पर्स कार्यक्रममा समाजसेवी एवं लाङटाङ फाउण्डेसन नेपालका अध्यक्ष्ँ शंकरदास डंगोल, कार्नेट नेपालका क्लोस्टर म्यानेजर पुरुषोत्तम डोटेल, कार्नेटका आर्थिक संयोजक एवं सामारिटन्स पर्स नुवाकोट वितरणका कार्यदल सदस्य दिपक भर्तालले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रमका प्रमुख अतिथी उत्सुकले पवित्र भावनाले प्राप्त सामारिटन्स पर्स उपहारले विद्यार्थीहरुको अध्ययनमा हौसला र टेवा पुग्ने धारणा राख्नुभयो । उक्त दिन संसारी प्राविका १ सय ९४ र महेन्द्र माविका १ सय ४८ बालबालिकालाई सामारिटन्स पर्स विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सिताराम अर्याल, निर्माण कमिटीका अध्यक्ष्ँ नवराज ढुगांना प्रअ चिरन्जीवी भट्ट, समाजसेवी माधव गजुरेलले वितरण गर्नुभएको थियो ।
ईसाइ समाज नुवाकोटले कार्नेट नेपालसंग समन्वय गरेर जिल्लामा यस वर्ष ३ हजार ३ सय ३ जना बालबालिकालाई वितरण गर्ने बताएको छ । संयुक्त राज्य अमेरिका लगायत केही विकसित मुलुकहरुका साना बालबालिकाहरुले घरबाट दिएको उक्तपकेट खर्चको केही अंश छुट्याएर विश्वका विकासोन्मुख देशका गरिव तथा आवश्यकतामा परेका बालबालिकाहरुको लागि सामारिटन्स पर्स उपहारको रुपमा उतैबाट प्याक गरेर आउने गरेको कार्नेट नेपालका आर्थिक संयोजक दिपक भर्तालले जानकारी दिनुभयो ।
गत वर्ष जिल्लाको ५ हजार ९ सय ७३ बालबालिकालाई पर्स वितरण गरेको म्यानेजर पुरुषोत्तम डोटेलले बताउनुभयो । यो उपहार कार्यक्रमले सरकारी विद्यालयको प्रावि तहमा भर्ना दर वृद्धि, विद्यालय छाड्ने दरमा कमी, विद्यालयको अध्ययन एवं सरसफाईमा सुधार आएको शिक्ष्ँकहरुले बताएका छन् ।
जातीय मोर्चाले गर्दा एनसिएल बन्द
रसुवा । एनसिएल मोवाईलको रसुवा गोल्जुङ गाविसको बाहुनडा“डा रहेको रिपिटर टावर बन्द भएको छ ।
टावरको मर्मत सम्भार गर्ने ईन्चार्ज रानैदत्तका अनुसार आºनो केन्द्रिय आदेशमा फागुन १८ गतेबाट उक्त स्थानको रिपिटर टावर बन्द गरिएको हो । जातीय मुक्ति मोर्चाको अन्मोल क्रान्ति भन्ने नाउ“बाट मोटो रकमको माग भई धम्की आएको र रकम उपलब्ध गर्न नसकिएका कारण रिपिटर टावर नै बन्द गर्न बाध्य भएको कम्पनीका प्रतिनिधीले बताएका छन् ।
अन्मोल क्रान्तिले माग गरेको रकम नदिए धादिङ गोगनपानीको जस्तै रसुवाको पनि रिपिटर टावर विस्फोट गराउने धम्की आएपछि चालु भईरहेको सञ्चार सेवा कम्पनीले नै बन्द गर्नु परेको कर्मचारीले बताएका छन् ।
सदरमुकामबाट ३४ किमी उत्तरमा रहेको सो रिपिटर टावरबाट थुमन, गोल्जुङ, गत्लाङ, चिलिमे, बृद्धिम लगायतका जनताले एनसिएलबाट सेवा पाईरहेको स्थानीय बासिन्दाले बताएका छन् । नेपाल टेलिकमको सेवा नपुगेको स्थानमा एनसिएल मोवाईलले सेवा दिईरहेको थियो ।
चीन अध्ययन केन्द्रको क्षेत्रिय समिती गठन
विदुर । नुवाकोट, रसुवा र धादिङको सरोकारवालाहरुको आईतवार विदुरमा भएको भेलाले क्ष्ँेत्रीय स्तरको चीन अध्ययन केन्द्र गठन गरेको छ ।
सो भेलाले नारायणप्रसाद खतिवडाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको छ । नव गठित समितीको उपाध्यक्षमा जगन्नाथ नेपाल, सचिवमा भरत पाठक, कोषाध्यक्षमा अशोक घिमिरे र सदस्यहरुमा छोवाङ तेन्जिङ तमाङ, शरण उत्सुक सापकोटा, शंकरदास डंगोल, सञ्जु पण्डित, देवराज सिम्खडा, नरेश खतिवडा र निर्मला खड्का रहेका छन् । समितीले नुवाकोट रसुवा धादिङ र चीनका जनता बीच मित्रता बढाउने र मैत्रीपूर्ण सम्बन्धलाई दुवै देशको जनताको आपसी हित तथा राष्ट्रिय विकासको निम्ती अझ सुदृढ बनाउन क्रियाशिल रहने अध्यक्ष खतिवडाले बताउनुभयो । केन्द्र मार्फत नुवाकोट, रसुवा र धादिङ जिल्लामा चीनिया लगानी भित्राउन पहल गर्ने र ३ जिल्लामा चिनीया लगानीमा सञ्चालित आयोजनालाई सहयोग गर्ने समेत उहा“ले बताउनुभयो ।
बन पैदावर समिती पुर्नगठन
विदुर । नुवाकोट जिल्लामा छरिएर रहेका वन पैदावर उद्योगी व्यवसायीहरु संगठित भएका छन् ।
आईतवार विदुरमा भएको भेलाले नुवाकोट वन पैदावर उद्योग व्यवसायी संघ र नुवाकोट काष्ठ फर्निचर उद्योग व्यवासायी फर्निचर संघ एकीकरण गरेको छ । एकीकरण पछि नुवाकोट वन पैदावर फर्निचर उद्योग व्यवसायी समिती नामाकरण गरि जिल्ला भरिका व्यवसायी आवद्ध भएका छन् । नवगठित कार्य समिती हरिप्रसाद गजुरेलको अध्यक्षतामा १३ सदस्यीय गठन भएको छ । समितीको प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष्ँ, सचिव, कोषाध्यक्ष, सहसचिव क्रमशः प्रकाश राई, रामकृष्ण बस्नेत, बद्रिप्रसाद रिमाल, मुक्तबहादुर बोगटी र भीमबहादुर तमाङ रहेका छन् । त्यसैगरि सदस्यहरुमा राजु नेपाल, सुदर्शन गुरुवाचार्य, रामचन्द्र थापा, यदुबहादुर बोगटी, जीवनमणि पौडेल, रामप्रसाद खतिवडा, मछिन्द्र थापा रहेका छन् ।
उक्त भेलाले सल्लाहकारमा जिल्ला बन अधिकृत, शिवलाल श्रेष्ठ, कुवेरलाल श्रेष्ठ, हिमालबहादुर श्रेष्ठ, वाङ्गु लामा लाई चयन गरेको छ ।

















