एसइई शिक्षा नीतिको प्रभावकारिता जाँच्ने कसी !

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार १२:२६

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहेको छ । चैत १७ गते शुक्रबारदेखि सुरु भएको एसइई परीक्षा २९ गते सकिनेछ ।कुनै बेला ‘फलामे ढोका’ मानिने एसएलसी हाल आएर एसइईमा परिणत भएको छ । देशभरि कक्षा १० सञ्चालित कुल १२ हजार चार सय ८३ विद्यालयमध्ये प्राविधिक धारतर्फका पाँच सय पाँच रहेका छन् । यो वर्ष देशभित्र र बाहिर गरी एसइईका लागि चार लाख ८५ हजार तीन सय ९६ परीक्षार्थीले परीक्षा दिइरहेका छन् । यसपटक जापानमा समेत परीक्षा केन्द्र रहेको छ । एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ । जापानमा तोकिएको परीक्षा केन्द्रबाट १४ जनाले एसइई दिइरहेका छन् ।

वर्तमान विद्यालयको संरचनाअनुसार कक्षा १ देखि ८ सक्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भनी परिभाषित गरिएको छ । विगत आठ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रूपमा कक्षा १० मा लिइँदै आएको एसइईको नतिजा उत्साहप्रद देखिँदैन । विद्यालयले लिने अन्य कक्षाको परीक्षाभन्दा भिन्न नरहेको एसइईलाई राज्यदेखि शिक्षक, अभिभावक र विद्यार्थी स्वयम्ले अनावश्यक महत्व दिइरहेका छन् । सबैले महत्व दिइरहेका र राज्यको ठूलो भौतिक स्रोत, साधन र समय खर्चिएर सञ्चालन गर्दा पनि एसइईको सन्तोषजनक नतिजा आउन सकेको छैन । वि.सं. १९९० सालदेखि सुरु भएको एसएलसीलाई एसइईमा रूपान्तरण गरिए पनि नतिजा ५० प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन । वि.सं. १९९८ सालमा सबैभन्दा बढी ७७.७८ प्रतिशत र वि.सं. ०३८ सालमा सबैभन्दा घटी १६.६८ प्रतिशत उत्तीर्ण भएको देखिन्छ । विगतका परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अङ्ग्रेजीमा सबैभन्दा घटी ३३.२४ र सबैभन्दा बढी सामाजिक विषयमा ४८.४ भएको पाइन्छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए तापनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास हुँदै गइरहेको छ । यो हुनु चिन्ताको विषय हो । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नुमा विद्यार्थी मात्रै दोषी छन् त ? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन सरोकारवाला निकायलाई अल्छी गर्ने छुट छैन । उपलब्धिस्तर शतप्रतिशत पु¥याउन राज्य ः अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाज, राजनीतिक दल र दलका नेतालगायतको जिम्मेवारीबोध हुन जरुरी छ ।

नेपालको जनसङ्ख्या क्रमशः घट्दै गएकाले विगतमा भन्दा यसपटक एसइईका परीक्षार्थी घटेका छन् । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारीअनुसार गत वर्ष अर्थात् ०७८ सालको एसइईमा चार लाख ९४ हजार ६ सय ८१ परिक्षार्थी सहभागी भएका थिए । त्यस्तै, ०७४ सालमा चार लाख ८५ हजार पाँच सय ८६ र ०७५ सालमा चार लाख ७५ हजार तनि सय परीक्षार्थी सहभागी थिए । ०७६/७७ सालमा कोभिडको कारण विद्यालयले नै एसइई सञ्चालन गरेका थिए । यस वर्ष गत वर्षको तुलनामा नौ हजार दुई सय ८५ परीक्षार्थी घटेका छन् । बालबालिकाको जनसङ्ख्या घट्दो क्रममा रहेको कारण विद्यालय उमेरका बालबालिका विद्यालयमा कम भर्ना भए । यसैको परिणाम एसइई परीक्षामा विद्यार्थी कम देखियो । यसपटक दुई लाख ४२ हजार सात सय १२ छात्रा र दुई लाख ४२ हजार ६ सय ७४ छात्रले परीक्षा दिइरहेका छन् । कुल परीक्षार्थीमध्ये तीन लाख ४३ हजार ७९ सरकारी विद्यालयका र एक लाख ४२ हजार तीन सय १७ निजी विद्यालयका छन् । विद्यालयले विद्यार्थीको रुचि र क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहज रूपमा सामना गर्न सक्ने योग्यताको विकास गराउनुपर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठन-पाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजो-पाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो । एसइईको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकाले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो ।

तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए-नपाएको यकिन गर्ने परीक्षा पनि हो एसइई । प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्दछ । अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्योल गर्दछ । यसप्रकार एसइई प्रत्यक्ष रूपमा विद्यार्थीका लागि मात्र भएजस्तो लागे तापनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति-नियम कार्यक्रम जाँच्ने कसी पनि हो ।