घाँसेगायकसँगको अन्तिम भेट

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार १३:२०
  • धर्तीचन्द्र यात्री

०८१ वैशाख ११ गते ‘नुवाकोट एफएम’ले विदुर–५ देवीघाटमा आयोजना गरेको ‘बृहत् सांस्कृतिक कार्यक्रमको निमन्त्रणामा साहित्यकार तथा पत्रकार श्याम रिमाल, पत्रकार तीर्थ भट्टराई, सुरेश सैँजू र प्रज्ञा दुवाल, कलाकार कोपिला वाइवासँगसँगै यात्रामा हामी दम्पती पनि सहभागी थियौँ । बिहान ७ बजे भनेको करिब ९ बजेतिर पो हामी सामाखुसीबाट निस्क्यौँ । आयोजक गीता न्यौपानेजीले फोन गर्नुभयो । अनि कवि रिमालले एकछिनमा भन्नुभयो, ‘केही कलाकार पनि आउँदै छन् रे लिएर जानुप¥यो ।’ त्यसपछि हामी रोकियौँ । बिहान ८ः५० तिर होला, अघिल्तिर अग्लो कदका लाहुरेजस्ता देखिने एक मानिस आइपुगे । आखिर उनी रहेछन् कलाकार दलबहादुर डङ्गोल । गाडीमा अगाडि सिटमा उनी बसे, अनि टोखाबाट गफिँदै गए । घाँसेगीतका खानी उनले अलि बेग्लै किसिमको गीत गाए, सँगसँगै आफ्ना कुरा राख्न थाले । उनले भने, ‘म त यस्तै हो पल्याकपुक्लुक मल्याकमुलुक पार्ने हो ।’ उनको बोलीमा जोस थियो, जाँगर थियो । असाध्यै रौसिला थिए दलबहादुर । कवि रिमालले कुरा झिक्नु भो, ‘तपाईंलाई त कृष्ण कँडेलको इन्द्रेणीमा देखेको हुँ ।’ उनी साह्रै ठट्टा गर्न पनि सिपालु । थानसिं, जनज्ञान निकेतन माविनेर आइपुगेपछि उनले आफ्नो घर पनि देखाए । हामीलाई के थाहा त्यो यात्रा नै हामी र उनको पहिलो र अन्तिम सँगसँगैको भन्ने कुरो । जापान हो कि कतार, कतातिर उनलाई लैजानका लागि एउटा समूह सक्रिय भएर लागेको, तर आफूलाई अलि मर्का पर्ने भएकाले आफूले ‘जान्नँ’ भनेको उनले सुनाए र दलाललाई अस्वीकार गरेको पनि बताउन भ्याए । कति खुसी थिए त्यो दिन डङ्गोल । देवीघाटमा अपराह्न ५ बजेको समयतिर हामी भएको नजिक आएर उनकी श्रीमतीले ‘आजै हामी पनि जाने’ भनेकी थिइन्, तर पछि आएनन् । कुरो बुझ्दा साँझ धामी आउने भएकाले त्यही बेलुका दोहोरी गाउन बसेका रहेछन् । दिनभर सँगसँगै बसेर पनि साँझ फर्कने बेलामा उनीसित भेट नहुँदा भने दुःख लाग्यो । तीन दिनपछि वैशाख १४ गते अकस्मात् बेलुका ८ः४५ बजेतिर त समाचार आउँछ– नेपालका ख्यातिप्राप्त घाँसे लोकदोहरी गायक नुवाकोटका दलबहादुर डङ्गोलको ८५ वर्ष (हुनुपर्ने ७३) का उमेरमा बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा निधन । एकछिन त मलाई यो कुरो पत्याउनै गाह्रो भयो । श्रीमती सवितालाई पनि भनेँ, उनी पनि आश्चर्यचकित बनिन् । त्यसपछि अबेला भए पनि राससका नायब महाप्रबन्धक रिमाललाई सुनाएँ । अनि उहाँले ‘हो’ भनेपछि हामी निकै दुःखी भयौँ । पहिलो यात्राका रौसिला गायक डङ्गोलको अप्रत्याशित निधनमा हामी भावविह्वल भयौँ ।
यात्रालाई निकै रमाइलो बनाएका उनीसँगको त्यो सम्झना चिरकालसम्म रहिरहनेछ । एउटै गाउँठाउँका उनी र म, तर उनले त्यसरी अचानक छाडेर जालान् भन्ने लागेको थिएन । उनले एक ठाउँमा भनेका थिए, ‘मेरो ज्यानमा यस्तो धमिरा लागिसकेको छ सर, सुगर, प्रेसर धेरै थरीको औषधि खानुपरेको छ ।’ घाँसे र लोकदोहोरीका मूर्धन्य स्रष्टा उनीप्रति हार्दिक श्रद्धाञ्जली ।

लिखु–६ नुवाकोट
हाल : बुढानीलकण्ठ-६
च्यासिन्डोल, काठमाडौं