नुवाकोटको सांस्कृतिक प्रवद्र्धनको आशा

  • त्रिशूली प्रवाह
  • २१ बैशाख २०८१, शुक्रबार १६:३४
  • श्याम रिमाल

सक्यो नानी सक्यो नानी सक्यो नानी
नुवाकोटे नानी, गाजल लाउने तिम्रो बानी, सक्यो नानी’
(वासुदेव मुनाल र पाण्डव सुनुवार)

नेपाली साहित्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को ‘दिव्योपदेश’ नेपाली गद्यको नमुना मानिन्छ जसका वाक्य, पदावली, उपमा, दृष्टान्त र सरसता मौलिक । जीवनको अन्त्यकाल १८३१ मा नुवाकोट दरबारमा आफ्ना भाइभारदारलाई जीवनको अनुभवका रूपमा वैदेशिक सम्बन्ध–कूटनीति तथा आर्थिक –प्रशासनिक–सामाजिक–सांस्कृतिक विषयमा शाहले दिएको उपदेश सङ्ग्रह गरी यसलाई पुस्तकाकार रूप दिइएको छ । ‘बुढा मरै, भाषा सरै’ (बूढाहरु मरे पनि भाषा भने सन्तान दरसन्तानमा सर्दै जान्छन्) भन्ने वाक्यबाट सुरु भएको दिव्योपदेशमा अनेक उपमाहरू पनि छन् । यसरी नेपाल एकीकरणको प्रथम विन्दु नुवाकोटले आधुनिक भाषाको जन्म दिएको ठोकुवा गर्न सकिन्छ । । उनका ‘गोरखनाथ स्तुति’, ‘फिरंगानते फिरंगी’ र ‘बाबा नरभूपाल साहकि दुहाई’ कवितामा गोरखानाथको महिमा र विदेशीलाई मुलुकबाट धपाउनुपर्ने सन्देश दिइएको छ ।

तिनै शाहले चलाएको नेपाल एकीकरण अभियानलाई बल दिनका लागि शाहको वीरताको प्रशंसा र सैनिकको मनोबल बढाउन तत्कालीन कविहरूले वीरभावका कविता रचेका थिए । नुवाकोटमाथि आक्रमण गर्न जाँदा उनले आफ्नासाथमा रघुनाथ भाट भन्ने कवि लगेका थिए जो वीरधाराका प्रथम कवि मानिन्छन् । सोही धाराका सुवानन्द दासले ‘पृथ्वीनारायण शाह’ शीर्षकमै कविता लेखेका थिए जसमा उनको व्यक्तित्व र वीरताको चित्रण गरिएको छ ।

त्रिशूली नदीको तीरमा अवस्थित नुवाकोट प्राचीनकालदेखि नै तीर्थस्थलका रूपमा परिचित थियो । यो ऋषिपत्तन, मुक्तिपत्तन, ब्रह्मपुर नामले प्रसिद्ध थियो । पुराणअनुसार सत्ययुगमा समुद्रमन्थनका क्रममा शिवले कालकूट विष पिउँदा डाहले छटपटिएकाले चिसो खोज्न पार्वतीका माइती उत्तरापन्थ लागेको र हालको बेत्रावतीमा बेतको लौराले पहरा फोरी पानी निकाली पिएको र त्यसबाट पनि शान्त नभएपछि अझै उकालो लागे । उनले नीलाद्री पर्वतमा पुगी त्रिशूल गाडेर निक्लेको पानी निलखेतमा जमी पोखरी बन्यो, जुन अहिले गोसार्इँकुण्डका नामले प्रसिद्ध छ । गोसार्इँकुण्ड र बेत्रावतीमा दशहरा, जनैपूर्णिमा र पुसे औंसीमा ऋषितर्पण र श्राद्धका लागि मेला र भिड लाग्ने गरेको छ भने त्रिशूलीले रसुवा, नुवाकोट, धादिङ, चितवन र तनहुँसमेतलाई सिंचित गरेको छ । उही धर्मधारा अर्थात् त्रिशूली नदीले बनाएको गण्डक सभ्यता पहिलेको पश्चिम नं १ मा पर्ने नुवाकोटमा भाषा, धर्म, संस्कृति, इतिहास अध्ययन, साहित्य, कला, पुरातत्त्वको संरक्षणका क्षेत्रमा कस्तो विकास भइरहेको छ त, अध्ययन गर्नु जरुरी छ ।

यहाँका प्रमुख धार्मिक मठमन्दिरमा देवीघाटको जाल्पामाई, नुवाकोट दरबार क्षेत्रका भैरवी र नाट्येश्वरी, शिखरबेंसीको दुप्चेश्वर, त्रिशूली बजार क्षेत्रका राममन्दिर, सुगतपुर विहार र अन्य केही गुम्बा, गेर्खुटारका इन्द्रायणी, शुभघाट आदि छन् जहाँ वैशाखपूर्णिमा मेलादेखि सिन्दुरे, रोपाइँ, लाखे र टाकटुके जात्रा तथा सम्बन्धित पर्वमा गोरु जुधाइ जस्ता मेलापर्व पनि लाग्छन् । यिनमा लाग्ने मेला र भेलामा लोकगीत, लोकदोहोरी, नाचगान, भजनकीर्तन पनि त्यत्तिकै चल्छन् जसले यहाँको संस्कृतिलाई बचाइरहेको छ । यहाँ हिन्दू, बौद्ध र मुसलमान धर्मावलम्बीले आआफ्ना संस्कृतिको बचाउ गरिरहेका छन् । यिनै संस्कृतिबिच यहाँ लोकगीत, नृत्य, भाषा–साहित्य–कला–मनोरञ्जन–चलचित्र आदि क्षेत्रमा पनि केही विकास भएको मान्नुपर्छ । ऋतु वा चाडपर्वअनुसार काँठे, घाँसे, असारे, झ्याउरे, दोहोरी गीत, तामाङ सेलोका साथै आधुनिक गीत र साहित्य पनि फस्टाउँदै गएको छ जसलाई यहाँका त्रिशूली, सूर्यमती (तादी), लिखु, सामरी आदि नदी ऐतिहासिक–प्राकृतिक रमणीयस्थल ककनी, साततले र शेरा दरबार तथा वसन्ती वाग, विदुर–बट्टार, खरानीटार, तारुका आदिले पृष्ठपोषण दिएका छन् ।

उहिले ससाना बाबुनानीलाई भात खुवाउँदा बाआमाले फकाउँदा भन्ने गरेको ‘आइज चरी काटिदे कान, लैजा चरी गोसाइँथान’ भन्ने बालगीतको जन्म नै गोसाइँकुण्डलाई समेटेर कसले कसरी सुरु ग¥यो, खोजी गर्नु छ । अनि कमै मात्र हेलिकप्टर चल्ने त्रिशूलीमा त्यो पनि हवाइजहाज नभनी ‘हे ठुली, नाकैमा फुली, हेलिकप्टर चढेर त्रिशूली’ भन्ने गीत सुन्दा पनि छक्क पर्नु छ । (हेलिकप्टर राजाको सवारी र सैनिकहरूले मात्र प्रयोग गर्थे )
नुवाकोटको वाङ¬्मयको इतिहासमा कोही व्यक्तिगत रूपले उल्लिखित हुन्छन् भने संस्थागत विकासका उदाहरण त मनग्गे नै छ । पुरातत्व विभागले कार्यालयका कर्मचारीलाई लगाएर ‘नुवाकोटको रूपरेखा’ पुस्तक नै प्रकाशन ग¥यो भने इतिहासकार प्रा दिनेशराज पन्तलगायतले पनि जिल्लाको अध्ययनअनुसन्धान गरेका छन् । साहित्यकार–पत्रकार रत्ननिधि शुक्राचार्यले नुवाकोटमा रहेर काव्यसाधना गरे र बेलाबखत अहिले पनि जिल्लाबारे लेखिरहेका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मा रहेकोे ‘पहाडी जीवन’ मा उल्लिखित झिल्टुङको खेतीकिसानी दिनचर्याको वर्णनले नुवाकोटलाई राम्रैसँग चिनाएको छ भने उनैले त्रिशूली नदीलाई केन्द्र बनाएर लेखेको ‘कुञ्जिनी’ खण्डकाव्य त कुनै मुनामदनभन्दा पनि राम्रो भनिएको प्रतिक्रिया पनि पाइएको छ । नरेन्द्रनाथ रिमाल, गणेश पण्डित, शारदारमण नेपाल, जितेन्द्र महत अभिलाषी, शिवप्रसाद रिमाल, हरिप्रसाद रिमाल, प्रकाशचन्द्र लोहनी, रेशमबहादुर पाण्डे, श्रीहरि फुयाँल, अम्बिका घिमिरे, होमप्रसाद पुडासैनी, कपिल अधिकारी, मोदनाथ सादा, आरएम डङ्गोल, सहदेव ढुङ्गाना, दिनेश आचार्य, दीपक–मणि लोहनी, केपी पाठक, श्याम पाठक, श्रीराम श्रेष्ठ, नवदीप अजनबी, राजेन्द्रमान डङ्गोल, विक्रम तिमिल्सिना, क्षितिज थापा मगर, कृष्ण कुसुम, लक्ष्मी रुम्बा, गीता पुडासैनी, भैरवी भूगोल, सुमित्रा सुमी, राजेन्द्र सागर, रविना घिमिरे आदि साहित्यकार–लेखक–गीतकार, चलचित्रकर्मी नुवाकोटबाट नै उदाएका हुन् जसले व्यक्तिगत तथा संस्थागत (संस्था र पत्रपत्रिका प्रकाशनसमेत) योगदान गरे, गरेका छन् । सायद २० औँको दशकमा गण्डकी छात्र समिति, सिर्जनशील हातहरूमार्फत पनि यहाँका साहित्यकारले योगदान गरे ।

पछिल्लो समय त्रिशूली वाङ्मय प्रतिष्ठान, नुवाकोट साहित्य प्रतिष्ठान नेपाल, साहित्य सङ्गम नुवाकोट आदि संस्था तथा ‘रूपायन’, ‘महामण्डल’ लगायत साहित्यिक पत्रिकाले गायनमार्फत अरुणकुमार तिवारी, शिवनारायण जोशी, कृष्ण दर्जी आदिले पनि नुवाकोटलाई चिनाए । रेडियो नेपालकी प्रख्यात गायिका नुपूर भट्टाचार्यले ‘ठाडो बग्ने त्रिशूली त, तेस्रो बग्ने तादी…’ गाएकी थिइन् । तिवारीले ‘घर त ढिकुरे, दाइको मन काँछ, बहिनी निठुरे’ लगायत गीत गाए । जोशीको ‘त्रिशूली र तादी, बाढी आयो राति, शिर बर्सेर सामरी हिँड्दै जाँदै गर, म पनि आउँछु ढाका टोपी ढल्काई’, कृष्ण दर्जीको ‘नुवाकोट दरबार, नुवाकोट दरबार, क्याम्पस पढ्ने यो मैयाँ पाए त हुन्थ्यो घरबार’ लगायत ‘नुवाकोटमा त्रिशूली –ककनी, ससुराली बनाउँछु म पनि’ (ज्योति फिल्मस), ‘रमाइलो छ नुवाकोट हाम्रो गाउँ, दुप्चेश्वर र भैरवी घुम्न जाऔँ’ (रामहरि भण्डारी र साथीहरू), रानीपौवा ककनी त्रिशूली, सँगै मर्छु नि भन्थ्यौ नि ठुली, गयौ मलाई चटक्कै भुली, चिठीपत्र राख्या छु बटुली (रेशम थापा, पार्वती कार्की, मिलन फिल्मस) जस्ता गीत पनि गाइँदै छ । जिल्लाको प्रख्यात र ठुलो विद्यालय त्रिशूली हाइस्कुल (पछि त्रित्रिव्यामावि, त्रित्रिउमावि, त्रित्रि मावि, कलेज) ले विभिन्न अवसरमा आयोजना गर्ने लोकगीत प्रतियोगितामा जिल्लाभरका विद्यार्थी प्रतिनिधि त्रिशूली हाइस्कुलमा आउँथे र गाउँथे–

‘लहराको पहरामा पानी सलल त्रिशूलीमा मोटरसाइकल साहिँली सलल’ । जिल्लाको लोकसाहित्यको अध्ययनका लागि यी सन्दर्भ सामग्री मात्र हुन् । यसरी ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक रूपले वैभवशाली नुवाकोटले मुलुककै वाङ्मय विकासमा यथेष्ट योगदान दिएको छ । यसअघि सामान्य प्रशासन, अर्थ, आवास तथा भौतिक योजना, उद्योग, कृषि, ऊर्जा, स्थानीय विकास, सञ्चार परराष्ट्र मन्त्रालय मात्र पाएको जिल्लाका जनप्रतिनिधिले यस पालि नयाँ मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाएको छ । गोरखा भूकम्पबाट क्षतिग्रस्त २५० वर्ष पुरानो मल्ललकालीन कलाले पूर्ण साततले दरबारको पुनःनिर्माण अझसम्म नभएको सन्दर्भमा जिल्लाले नै चुनेको मन्त्री हितबहादुर तामाङले यहाँको सांस्कृतिक प्रवद्र्धनका लागि गुरुयोजनासहित कार्यान्वयन गर्न पहल लेलान् भन्ने आशा गर्नु स्वाभाविक नै हुनेछ ।