पूर्वाधार निर्माणले दुप्चेश्वर महादेव पुग्न सहज

  • त्रिशूली प्रवाह
  • ९ पुष २०७७, बिहीबार १२:३८

रामती, नुवाकोट जिल्लाको पूर्वाेत्तर खण्डको अनकन्टार ढुङ्गाको पहरोमा रहेको दुप्चेश्वर महादेवको दर्शन र पूजा गर्न जाने भक्तजनलाई पूर्वाधार निर्माणले अहिले सहज भएको छ । नुवाकोटको पशुपतिनाथ भनिने दुप्चेश्वर महादेवको मुख्य शिला क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले भक्तजनलाई दर्शन गर्न सहज भएको हो ।

     दुप्चेश्वर महादेव क्षेत्र सदरमुकाम विदुरबाट बिनाउकालो, ओराला ३४ किलोमिटरको दूरीमा रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ मा रहेको दुप्चेश्वर महादेवको शिला क्षेत्रको विकासमा सुरुको दिनदेखि स्थानीय जनताले आफ्नै लगानी र श्रममा यसको मुहार चम्काउने र व्यवस्थित एवम् प्रचारप्रसार गर्ने काम जारी राखेका छन् । विगतदेखि नै जिल्ला पञ्चायत, जिल्ला विकास समिति, गाउँ पञ्चायत, गाउँ विकास समितिले मन्दिरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आइरहेका महादेवको खोज अनुसन्धानमा क्रियाशील वासुदेव गुरागाईंले बताए ।

     गत आवमा सङ्घीय सरकार र दुप्चेश्वर गाउँपालिकाको समपूरक बजेटबाट मन्दिर प्रवेश गर्ने बाटोदेखि पक्की खुट्किला, रेलिङ पोस्ट, हिँड्ने बाटोमा फाइबर सिटको छाना राख्ने र ढुङ्गाको पेबमेन्टको काम गत असारमा सम्पन्न भएको छ । सङ्घीय सरकार र गाउँपालिकाको बराबर लगानी ४१ लाख ८२ हजार दुई सय १४ रुपैयाँ भ्याटबाहेक विनियोजन बजेटमा रोज कन्स्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि सहज भएको छ । दुप्चेश्वर महादेवको विविध पक्ष र यस क्षेत्रको विकास निर्माणलगायत समग्र चिनारी समेटेर दुप्चेश्वर क्षेत्र विकास कोषले दुप्चेश्वर महादेव सङ्क्षिप्त झलक पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकले दुप्चेश्वर महादेव क्षेत्रको महिमा र गरिमालाई अझ प्रचारित र विस्तारित गरिरहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । दुप्चेश्वर महादेव क्षेत्रको पर्यटन प्रवद्र्धनमा दुप्चेश्वर महादेव सङ्क्षिप्त झलक पुस्तकले सहयोग पुग्ने उनले बताए । सडक यातायातलगायतका पूर्वाधारले सहज बन्दै गएको दुप्चेश्वर महादेव मन्दिर क्षेत्र आन्तरिक पर्यटकको प्रमुख रोजाइको केन्द्र बनेको छ । धार्मिक तथा अन्य कतिपय मनोरम प्राकृतिक वातावरणले पर्यटकको मन जित्न सफल भएको कारण दुप्चेश्वर महादेव र यस क्षेत्रको लोकप्रियतामा दिनानु दिन उल्लेख्य बढोत्तरी भइरहेको दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले बताइन् ।

     विगतमा महादेवको दर्शन गर्न जान जोखिम उठाउनुपथ्र्यो । अहिले स्थानीयको पहल र समन्वयमा यस क्षेत्रमा सरोकारवालाको सहयोग निरन्तर जारी रहेको छ । विगतमा जस्तो महादेवको दर्शन गर्न अहिले असहज छैन । यतिखेर महादेव विराजमान पहरोमा सुविधा साथ उक्लिन तथा ओर्लिन मानवनिर्मित पक्की खुट्किला छन् भने कर्सिउँलो लहरो समाएर उक्लिनुपर्ने कठिनतम् ठाउँमा पनि फलामको पक्की रेलिङ ठडिएर आगन्तुकलाई सहज भएको छ । पहिलाको स्थिति र अहिलेको स्थिति दुवै दाँज्ने सौभाग्य पाएकाका लागि यो अनौठो र अपत्यारिलो यथार्थ बनेको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ का अध्यक्ष एवम् दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले बताए । नुवाकोटको पशुपति भनिने दुप्चेश्वर महादेव क्षेत्रको विकासमा अहिले गाउँपालिका, जिल्ला समन्वय समिति, राष्ट्रिय योजना आयोग पर्यटन मन्त्रालय, बागमती प्रदेश सरकार, सङ्घीय सरकारको सहयोग तथा दुप्चेश्वर क्षेत्र विकास कोषको आफ्नै स्रोतबाट सुधार र दर्शनका लागि पुग्ने यात्रुहरूलाई सहज, सुरक्षित बनाउने कार्यमा लागिरहेको छ । यस क्षेत्रको पर्यटकीय रमणीयताको मानसिक तथा भौतिक आनन्द प्राप्त गर्न आउने अध्यात्मभाव बोकेका भक्तजन भौतिकभाव बोकेका अन्य पर्यटकको भिडलाई घामपानीबाट बचाउन लामो समयसम्म पङ्क्तिबद्ध हुने स्थानमा समेत छहारीको व्यवस्था गरिएको छ ।

     दुप्चेश्वर महादेव पुग्न काठमाडौंको सामाखुसी चक्रपथबाट ६४ किलोमिटर दूरीमा रहेको छ । दुप्चेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पनि मानिंदै पुँजिँदै आएको छ । लामो वैवाहिक जीवनपछि पनि सन्तान नभएका मानवजोडी महादेवको दर्शनपछि छोराछोरी हुने गरेको बताउने प्रशस्त भेटिन्छन् । अहिले पनि छोराछोरीको चाहना पूरा हुने आस्था र विश्वासमा भक्तजन जाने गरेका छन् । मोटरबाटोको सहज सुविधापछि दुप्चेश्वर महादेवको दर्शन गर्न जाने भक्तजनको आगमन दिन प्रतिदिन बढिरहेको छ ।