- रामहरि रिमाल बाजे
जुन बेला तक्षशिला र नालन्दा विश्वविद्यालयलाई खरानी बनाइयो, त्यही बेलादेखि भारत वर्षको पतन सुरु भयो भन्न सकिन्छ । फलस्वरूप संस्कृत, वैदिक, नैतिक संस्कार सबै पतन हुन थालेपछि आज सम्पूर्ण मानव समाजलाई धनरूपी पासाले विवश बनाइसकेको देखिन्छ । अनपढ, अज्ञानी, गँवार मात्र होइन, प्राध्यापक, डाक्टरजस्तो गरिमामय पगरी गुथेका, साथै राष्ट्रको गरिमामय घुम्ने आसनसमेत ओगट्न सफल भएकाहरूसमेत त्यही जालमा परेका छन् ।
०२८ मा भित्रिएको राष्ट्रिय नयाँ शिक्षा योजनारूपी घाँटीको टाई, नेकटाई नै सबैको गलपासो भएजस्तो लाग्छ । गुरु शङ्करदेव पन्तले त्यस बेला एक्लै विरोधको विगुल बजाए पनि कसैले सुनेनन् । हामीजस्ता गाउँका दासले त बुझ्ने र प्रतिकार गर्ने कुरै भएन । मानवता, नैतिकता र राष्ट्रियता जोगाउने तर्कभन्दा दक्षिणा लिने र जीवन निर्वाहमा इँटा थप्नेतर्फ मात्र आकर्षण हुँदै गएका गुरुहरूले थाहै पाएनन् । यहाँनेरै व्यासरूपी गुरुको ज्यादै अभाव भएछ कि भन्ने शङ्का छ । यही भिरालो सुर्कामा चिप्लिएर होला, बल्ल बल्ल जोगिएर बचेको नेपाली शब्दकोशमा लुकेको ॐलाई समेत खोजेर लखेट्नैपर्ने र त्यस कुकार्यमा पनि नेपाली प्राडा नै अग्रपङ्क्तिमा उभिनुपर्ने बाध्यता के थियो त ? त्यही अन्तर्राष्ट्रिय पासामा अल्झेर त्यही ब्रह्माण्डस्वरूप ॐ का सिकारमा किन सामेल हुनुपरेको त ? सिङ्गै भारतवर्षमा पखेटा फिँजिएको ॐकारले उमाशङ्करको राज्य पाशुपत क्षेत्रमा समेत वास नपाउनाका कारण ॐकार परिवारले खोज्दा बिचरो त्यही गाउँले बलदेव अधिकारीका खुट्टा तान्नेलाई चिन्नु जरुरी छैन र ?
अफगानिस्तानदेखि लाओस, कम्बोडियासम्मै ढाकेको वैदिक साम्राज्यको प्रमाण छ । केही वर्षअघि अफगानिस्तानमा रहेको एउटा सिङ्गो चट्टानी पहाडलाई नै कुँदेर बनाइएको प्राचीन महादेवको मूर्तिलाई तालीबानीले ब्लास्टिङ गरी फुटाएर ढुङ्गा बेचेको खबर भाइरलै भयो । सिङ्गै पहाडलाई कुँदेर शिवको मूर्ति बनाउने कोही महापुरुष थियो होला ? संसारमै ठूलो शिवको मूर्ति कम्बोडियामा रहेको र ‘रामायण’देखि ‘महाभारत’ कालसम्मका विशाल मूर्ति र मन्दिरले आज म्यान्मार, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भियतनामसम्म घुम्ने पर्यटकको आकर्षण बनेको ॐको इतिहासलाई मेटाएर नेपालीले कसको जागिर खाँदै छन्, खोजीको विषय छैन र ?
गोरखा सैनिकले बेलायतमा सङ्घर्ष गरेर नेपालको हरेक परम्पराको प्रदर्शन गर्दै गोर्खाली नाम उच्च गरेको र संसारभरि भारतवर्षको सभ्यता पहिचानका नयाँ–नयाँ मठमन्दिर, स्तूप, गुरुद्वारा आदि बनाएर वैदिक साम्यवादको प्रचार भइरहँदा नेपालमा चाहिँ यति ठूलो हमला हुँदा पनि सबैको मस्त निद्राले कुम्भकर्णलाई समेत उछिनेजस्तो देखिन्छ । नालन्दा र तक्षशिलाको अवशेषलाई क्लोनिङ गरेर राजा वेनको खरानीबाट महामानव पृथु राजा जन्माइएजस्तै वैदिक साम्यवादी राज्य नेपालमै स्थापना गर्ने ज्योतिषी, पण्डित, विद्यावारिधिप्राप्त एवम् प्राध्यापक एक हुनु जरुरी देखिन्छ । ॐ, श्री, ऋ–यी तीन अक्षरै नभएको वैदिकशास्त्र मुर्कुटाजस्तै हुनेछ – चेतना भया !
विदुर–४, बागवानी, नुवाकोट