विदुरमा खानेपानीको लोडसेडिङ

  • त्रिशूली प्रवाह
  • १० श्रावण २०८१, बिहीबार १२:४७

नुवाकोट, बर्खा लागेपछि विदुर नगरपालिका क्षेत्रमा खानेपानीको अभाव हुने गरेको छ । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने पानी फलाखु खोला मुहान बर्खासँगै बगाउने गरेकाले विगत वर्षदेखि नै खानेपानीको समस्या वर्षका चार महिना हुने गरेको छ ।

यस वर्ष पनि असारदेखि नै विदुर–१, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको खानेपानीमा समस्या सुरु भइसकेको छ । विदुर नगर क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट निकालिएको पानी आलोपालोमा वितरण गरिएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए । फलाखु मुहानमा गत वर्ष बाढीले बगाएको पाइप मर्मत गरी पानी सञ्चालन गर्न खोजिए पनि खोला धमिलो र पानी पिउनयोग्य नभएकाले केही समय समस्या हुने जनाइएको छ । नगरपालिकाका १३ मध्ये आठवटा वडाले उपभोग गर्ने पानी वितरणमा नगरपालिकाले बेवास्ता गरेको तथा परिषद्बाट बजेट नछुट्याएपछि मुहान मर्मत र पाइपलाइन व्यवस्थित गरी वितरण गर्न समस्या भएको गुनासो संस्थाका पदाधिकारीले गरेका छन् ।