हाम्रा कुरा : चीनबाट नेपालले सिक्ने कि ?

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १३:१९

एकदलीय राजनीतिक शासन प्रणाली अपनाएको उत्तरी छिमेकी मित्रराष्ट्रले गत हप्ता कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकोत्सव सिङ्गो विश्वलाई तरङ्गित हुने गरी मनाएको छ ।

      सुशासनको पद्धति अँगालेको कम्युनिस्ट देशले चकित बनाउने गरी विकासलाई चरमचुलीमा पु¥याउन सफल भएको छ । चीन यतिबेला भौतिक विकासमा मात्र सफल नभएर विश्वका कुनै पनि शक्तिराष्ट्रलाई चुनौती दिन सक्षम भएको छ । चीनको शासकीय पद्धतिलाई पश्चिमा राष्ट्रहरूले आलोचना गरेर थाकेका छैनन् । तर, चीनले विकासको गति रोकेको छैन । पुँजीवाद र पश्चिमेली लोकतन्त्रको विकल्प छैन भन्नेहरूलाई चीनले गतिलो जवाफ दिइरहेको छ । छिमेकी मित्रराष्ट्रले छोटो समयमा चमत्कार गरेर विश्वलाई आफ्नो मुठीमा राख्ने अवस्थामा पुग्दा हाम्रो देश नेपाल सधैँ राजनीतिक अस्थिरताले विश्वका गरिब देशको सूचीमा झन्–झन् तल पुगिरहेको छ । देशको वागडोर सम्हालेका हाम्रा देशका राजनेताको घैँटोमा घाम अझै लाग्न सकेको छैन । राजनेताहरूले देशको कुरूपताबाहेक केही गरेनन् । सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको शतवार्षिकको तामझामदेखि संसार छक्क परेको छ । कम्युनिस्ट सिद्धान्त अँगालेका अन्य राष्ट्रले र कम्युनिस्ट नेतृत्व सम्हालेको हाम्रा देश नेपालले चीनको सफलताबाट धेरै सिक्न सक्छन् । विकासको क्षेत्रमा चीनसँग हाम्रो तुलना हुन नसके पनि एउटा समानता के छ भने हाम्रा सत्तारुढ पार्टीले पनि कम्युनिस्ट सिद्धान्त र नीतिलाई धेर-थोर अँगालेको छ । कम्युनिस्ट सिद्धान्त र नीतिलाई चीनले पालना गरेर संसारकै शक्तिशाली देश बन्न पुग्यो । हाम्रा देशका नेताले भने कम्युनिस्ट सिद्धान्तलाई व्यक्तिगत स्वार्थ र राष्ट्रहित विरुद्ध प्रयोग गर्दा अहिलेको राजनीतिक प्रणाली नै तहसनहस हुने अवस्थामा पु¥याएका छन् ।

      ०४६ सालको परिवर्तनपछि नेपालले ६ जना कम्युनिस्ट प्रधानमन्त्री पायो । अरू दलले त केही गरेनन्, कम्युनिस्टले केही गर्छ भन्ने जनताको आशा र भरोसामा तुषारापात भयो । ६ जना प्रधानमन्त्री हुँदा नेपालमा कम्युनिस्ट सिद्धान्त राज्यको नीति तथा कार्यक्रम खासै प्रतिबिम्बित भएको महसुस जनताले गर्न पाएनन् । ६ वटा प्रधानमन्त्रीमध्ये मनमोहन अधिकारीलाई मात्र कम्युनिस्ट विचारक र अभियन्ताको रूपमा चिनिन्छ । त्यसपछिका प्रधानमन्त्री बनेका माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र केपी शर्मा ओलीले कम्युनिस्ट सिद्धान्तलाई विसर्जनतर्फ धकेले । कम्युनिस्ट शासनमा नातावाद, कृपावादको छायासम्म नहुने, अनुशासन र समानताको सिद्धान्तबाट मुलुक अघि बढ्ने अपेक्षा सबै नेपालीमा जागेको थियो । तर, देशले जुन दुर्गति भोगिरहेको छ त्यसबाट वर्तमान नेतृत्व एवम् दोस्रो, तेस्रो पुस्ताका कम्युनिस्ट नेताले पनि दूरगामी दृष्टिकोण राखी समृद्धि हासिल गर्न सक्लान् भन्ने आशा गर्न नसकिने अवस्थामा पुगेको छ । कम्युनिस्ट मात्र नभएर प्रजातन्त्रको रटान गर्न नथाक्ने नेपाली काङ्ग्रेसले दुई दशक देश सञ्चालनको वागडोर सम्हाले । उनीहरूले देशमा नयाँ-नयाँ काण्ड मच्चाएर भ्रष्टाचार र विकृतिको विजारोपण गरे । पञ्चायत र राजतन्त्रको कुरै नगरौँ । उनीहरूले पनि झुटो सपना बाँड्नेबाहेक देशलाई सही ढङ्गले सञ्चालन गर्न सकेनन् । नेपालका राजनेताको पगरी पाएकाले जनतालाई मृगतृष्णामा भुलाउनुबाहेक अरू काम गर्दै-गरेनन्, जान्दै-जानेनन् । देखेर, भोगेर, सिकेर अघि बढ्न कुनै राजनेता अग्रसर नहुँदा देशले भविष्यमा के–को आस गर्ने !

      गत ०७४ को निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमाले मिलेर विशाल नेकपाबन्दा अब देशले काँचुली फेर्छ कि भन्ने जनतामा आशा जगाएको थियो । तर, अहिले त्यो आशा टुक्रा-टुक्रा भएको छ । हाम्रा नेताले चीनको कम्युनिस्ट सिद्धान्त घोके मात्र त्यहाँ भएको विकासको अवधारणा र योजना कार्यान्वयनको व्यावहारिक पाटोलाई वास्तै गरेनन् । कम्युनिस्ट सिद्धान्त र नीति कागजमा उतारे, दर्जनौँपटक दर्जनौँ नेताले चीन जाने अवसर पाए । उनीहरूले देश पनि हेर्ने, मुख पनि फेर्नेबाहेक अरू केही सिकेनन् । आफू सत्तामा कसरी पुग्ने र त्यसपछि आजीवन पुग्ने पैसा कसरी बटुल्ने भन्ने नीतिलाई कम्युनिस्ट सिद्धान्त बनाउँदा छिमेकी राष्ट्र त्यही कम्युनिस्ट नीति र सिद्धान्तले संसार नै हल्लाइरहेको छ । हाम्रो भने सधैँ गरिबी, अभावमै दिन बितिरहेको छ । चीनलाई अप्ठ्यारो पर्दा मात्र सम्झने प्रवृत्तिले देशमा चिनियाँ विकास मोडल आउन सकेन । हाम्रा नेताहरूलाई देश र जनताका लागि सोच्ने फुर्सद नहुँदा संसारको गरिबी देशको सूचीमा ओर्लिने क्रम चलिरहेको छ ।